८ मार्चको शुभकामना सहित- रबिना थापा

Hollywood Khabar March 07,2018 Comments

आज, मार्च २ मा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरि मनाइदैछ। जव अन्याय हुन्छ तव मानिसले बिद्रोह शुरु गर्छ अनि त्यसको प्रतिकार गर्दछ। जोसंग नाइँ भन्न सक्ने क्षमता हुन्छ त्यसले आफुलाई न्याय गर्दछ।
अधिकारका लागि संगठित बन्न सुरुवात भने सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भएपछि मात्र शुरु भयो। १९०८ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर पहिलो पटक हड्ताल र विशाल जुलुश प्रदर्शन गरेका थिए। महिला हक अधिकारको माग गर्दै मार्च ८ मा भएको आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनका रुपमा मान्दै विश्वभर मनाउन थालिएको हो।
महिला हरु संगठित बन्दै गैरहेको बेला सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा भयो। सोहि सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई आधाकारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेका हुन् ।
नेपालको सन्दर्भमा पनि लामो समय देखि महिलाहरु आफ्नो हक अधिकार को लागि लड्दै आएका छन्।नेपालमा ठूला राजनीतिक परिवर्तनहरु भएपनि आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ।महिला र पुरुष बराबरी भनिए पनि आरक्षण बाहेक अन्य भेदभाव र असमानताहरु कायमै छन् ।महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको १०८वर्ष पुगिसक्दा सम्म आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ।पछिल्लो समय देश संघियतामा गएपछि राजनैतिक क्षेत्रमा महिला सहभागिता बढेपनि जनसंख्याको हिसावमा अधिकार र नेतृत्व प्राप्त गर्नु फलामकै च्युरा चपाउनु समान भएको छ।पछिल्लो समय हत्या,बलत्कार यातनाजन्य कार्यले महिला पिडित हुदै गएका छन्।अधिकारका लागि आवाज उठाउने महिला अधिकारकर्मी हरुनै असुरक्षित बन्दै गएका छन्। हिंसा पिडित महिला तथा बालबालिका लाइ राख्ने सुरक्षा गृह,राज्यबाट सुरक्षाको प्रत्याभूत नहुँदा पिडित झन् पिडामा पर्ने गरेका छन्।पिडितलाई शिप क्षमता अनुसारको काम गर्ने अवसर नहुँदा पिडा सहेर बस्न बाध्य छन्।
महिला तथा किशोरी हरुमाथिअसमानता,सामाजिक असुरक्षा बोक्सीको आरोपजस्ता अमानविय कार्य महिला माथि हुने गरेको छ। महिला दिवसमा मात्र होइन अन्य दिनमा पनि महिलाको हक,अधिकार र समनाताका बारेमा सबैले आ आफ्ना तह र तप्का बाट सोच्ने बेला आएको छ।संयुक्त राष्ट्र संघले सन् 2000 मा घोषणा गरेको सहश्राब्दी विकासका लक्ष्य, UNO महासभाबाट पारित दिगो विकासका धेरैजसो लक्ष्यहरुमा महिला सशक्तीकरण, समानतासँग सम्बन्धित छन् त्यसैले नेपालमा पनि समता र समानता लाइ संगै अघि बढाउंदै लैजान जरुरि छ। नेपालको संविधानमानै महिला हकहितको सुनिश्चितता गरिएको छ। अव त्यसलाई कार्यन्वयनमा लैजान जरुरि छ।महिला शसक्तीकरण एवम् लैंगिक समानताका लागि आवधिक योजना तथा कार्यक्रमहरुलाइ नीतिगत तथा संस्थागत व्यवस्था गरी कार्यक्रमहरुको थालनीबाट समग्र महिलाहरुको अवस्थामा केही सुधार गर्न जरुरि भएको छ।
महिला शसक्तीकरण एवम् लैंगिक समानताको लागि अन्तर्राष्ट्रिय स्तरमा भएका घोषणाहरु एवम् प्रतिवद्धताहरु हाम्रा संवैधानिक एवम् कानूनी व्यवस्था, नीति र कार्यक्रमहरुको कार्यान्वयनबाट महिला शसक्तीकरणका माध्यमबाट लैंगिक समानता एवम् महिलाहरुको हक अधिकारका लागि जुट्ने बेला आएको छ।यस १०८औं अन्तर्राष्ट्रिय महिला दिवसले महिलाहरुको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्न प्रेरणा मिलोस् भन्दै दिवसका अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्दछु।

रबिना थापा