-भगवान् बुद्ध

आज २५६३ औँ बुद्ध जयन्ती मनाइँदै

Hollywood Khabar May 16,2019 Comments

 ४ जेठ,काठमाण्डाै।वैशाख शुक्ल पूर्णिमा २५६३ औँ बुद्ध जयन्तीकाअवसरमा  शनिबार देशभर भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएकाे थियाे ।भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ ।यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।