एमालेको ललितपुरको जिल्ला अधिवेशनमा ३ जनाको प्रतिस्पर्धा, संजेलको माहोल दरिलो

Hollywood Khabar April 03,2024 Comments

ललितपुर/नेकपा एमाले ललितपुरको जिल्लाको ९ औं अधिवेशन २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका–१ इमाडोलको आँगन पाटी प्यालेसमा हुने भएको छ। अधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको प्रचार उपसमिति सहसंयोजक श्याम शर्मा बजगाईंले बताए। 

अधिवेशनमा भाग लिन जिल्ला अधिवेशन निर्देशिका २०८० अनुसार जिल्लाका ७१ वटै वडाबाट करिब ५०० प्रतिनिधि छनोट भइसकेको आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो। कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको प्रचार उपसमितिका संयोजक ब्रह्मानन्द श्रेष्ठले जानकारी दिए।

ललितपुर एमालेका हालका अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सांसद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्व सदस्य दिनेश कार्की अध्यक्षका लागि दौडधूप गरिरहेका छन्। आठौँ जिल्ला अधिवेशन सर्वसम्मत रूपमा गरेको एमाले ललितपुरमा यसपटक भने चुनाव हुने पक्कापक्की देखिएको छ। केन्द्र तथा जिल्लाका प्रभावशाली नेताहरु नै अध्यक्ष दावेदार रहेकाहरूको खेमामा देखिएपछि यसपटक भोटिङ हुने सम्भावना बढेर गएको हो।

स्रोतका अनुसार केन्द्रीय नेताहरू मध्ये पोलिब्युरो सदस्य सुशीला नेपाल र बाबुराम थापा पुरुषोत्तम आचार्यको पक्षमा खुलेर लागेका छन्। अर्का केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले पूर्व सांसद सञ्जेललाई साथ दिएका छन्। बागमती प्रदेश कमिटीका सचिव रहेका पूर्व सांसद नवराज सिलवालले सुरुमा दिनेश कार्कीलाई साथ दिएको भए पनि अहिले मौन रहेको स्रोत बताउँछ। त्यस्तै ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रेमबहादुर महर्जन, बागमती प्रदेश सांसद मधुसुदन पौडेल, प्रेमभक्त महर्जन र रघुनाथ महर्जन आचार्यकै पक्षमा उभिएका छन्। जिल्लामा अहिले तीनजना बीच प्रतिस्पर्धा देखिए पनि अन्तिममा आएर आचार्य र सञ्जेल बीच चुनावी प्रतिस्पर्धा हुने एमालेका एक नेताले बताए। पार्टी स्थायी कमिटी सदस्य एवं ललितपुर इन्चार्ज शेरबहादुर तामाङले भने सकेसम्म सर्वसमतिमा नेतृत्व चयन गर्न लागि परेका छन्। तर यसपटक सहमति हुने कुनै छाटखाट देखिँदैन।

अधिवेशनका लागि महाङ्काल गाउँपालिकाबाट ३१ जना कोन्ज्योसोम गाउँपालिकाबाट १६ जना, बागमती गाउँपालिकाबाट ३२ जना प्रतिनिधि चयन भएर आएका छन्। त्यस्तै महालक्ष्मी नगरपालिकाबाट ६१ जना गोदावरी नगरपालिकाबाट ७९ जना र महानगर कमिटीबाट १४२ जना प्रतिनिधि आएका छन्। एमालेको जनवर्गीय संगठनबाट ५४ जना,दलित कोटाबाट १९ जना र जिल्ला सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि चयन भएका छन्। जिल्ला अधिवेशन निर्देशिका अनुसार ५ प्रतिशत प्रतिनिधि जिल्ला कार्यसमितिबाट छनोट गर्ने व्यवस्था छ।

२०७९ सालको स्थानीय तहको निर्वाचन तथा संघ र प्रदेशको निर्वाचनमा टिकट बाँडफाँडको जिम्मेवारी समेत पाएका अध्यक्ष आचार्यलाई केही नेताले टिकट वितरणमा मनोमानी गरेको आरोप छ। प्रदेश सांसद हुँदा धेरै काम गरेकाले संजेलको पक्ष राम्रो भएको अर्को पक्षको दावी छ। 

नेता सन्जेल पंचायतकालमा प्यूटार देखिका पुराना नेता मानिन्छन। पूर्व प्रदेश सांसद सञ्जेल गाउँ कमिटी सचिव, क्षेत्रिय कमिटी उपाध्यक्ष, क्षेत्रीय अध्यक्ष, ४ कार्यकाल जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य समेत भईसकेका छन्। २०७४ सालमा भएको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सञ्जेल २०७८ मा भएको ८ औं जिल्ला सम्मेलनमा समेत अध्यक्षको दावेदार थिए।त्यसैको क्रेडिट यो पटक पाउनेमा उनको दावी रहेको छ।

तर आचार्य भने विद्यार्थी राजनीतिबाट आएका हुन्। जनप्रतिनिधि पराजित भएकाले नागरिकको काम गरेको अनुभव उनमा छैन। त्यसैले जनाधार नभएर स्थानिय तहमा हारेकाहरु आचार्यको पक्षमा छन्।

अर्का प्रतिस्पर्धी नेता कार्कीको खासै राजनीतिक प्रभाव देखिँदैन। उनी पूर्व सांसद सञ्जेलसँग रिसाएको स्रोत बताउँछ। आठौँ अधिवेशनमा सञ्जेलको पक्षमा खुलेका कार्कीलाई ९ औं अधिवेशनमा जिल्ला अध्यक्षमा वचन दिएका सञ्जेल आफै अध्यक्षको प्रतिस्पर्धामा आएपछि कार्की पछिल्लो समय सञ्जेलसँग चिडिएको एक नेताले बताए। एमालेका अर्का एक नेताको भनाइ अनुसार अध्यक्षको दाबी गरेका कार्कीलाई मिलाएर पूर्व सांसद सञ्जेलको टिमबाट सचिवमा उठाउन सक्ने बताए।

नेता कार्की २०५४ सालमा तत्कालीन धापाखेल गाविसको गाविस अध्यक्ष, त्यसपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगर वडा नम्बर २४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै बागमती प्रदेश कमिटी सदस्य समेत भइसकेका नेता हुन्।