प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक पेस गरियो

Hollywood Khabar March 14,2024 Comments

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिनिधिसभामा पेश गर्नु अघि मन्त्री जोशीले बुधबार संघीय मन्त्रालयमा विधेयको सन्दर्भमा संघीय सचिव विनोद प्रकाश सिंहसहित सम्बन्धित महाशाखाका कर्मचारीसँग मन्त्रालयमै बैठक राखेर लामो छलफल गरेका थिए । कर्मचारीहरुले विधेयका सबै प्रावधानहरुका विषयमा मन्त्री जोशीलाई दफावार रुपमा ‘बिफ्रिङ’ गरेका थिए । मन्त्री भएर आएपछि जोशीले विधेयकका बारेमा छलफल गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । छलफलका क्रममा मन्त्री जोशीले विधेयकका कतिपय प्रावधानमा ‘रिजर्भेसन’ राखेका थिए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ माघमा प्रतिनिधिसभामा दर्ता गरेको निजामती विधेयक बिचैमा तुहिएपछि लामो समयको कसरतमा आज दोस्रो पटक दर्ता भएको हो । प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार अब यो विधेयक प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ।