मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ

Hollywood Khabar February 12,2024 Comments

नेपाल प्रहरी, काठमाडौं/चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन् । ती मध्ये ६७ जना पुरूष र २२ जना महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै आएको छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन ब्यूरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । सो अवधिमा १ सय ४९ जनालाई अभियोग लागेको छ । सो अवधिमा देशभरबाट २ सय ३६ जनालाई उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये १ सय ५० महिला, २६ पुरूष र ६० बालिका रहेका छन् ।

नेपाल आन्तरिक र सीमा वारिपारी समेतमा हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ । त्यसमा पनि वैदेशिक रोजगारको लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू लगायतका अन्य विभिन्न मुलुकहरूमा समेत नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका छन् । यस्ता अपराधलाई सम्बोधन गर्न ब्यूरोको स्थापना भएसँगै यसले आफ्नो कार्य गतिशिलतामा मूर्त रूप लिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “मानव बेचबिखन मानवता विरुद्दको एउटा अत्यन्त संवेदनशील अपराध हो । प्रत्येक वर्ष  बालबालिका तथा युवायुवती समेत संसारका विभिन्न देशहरूमा बेचबिखन भइरहने घटनाहरुबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ । अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समय सापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनको लागि पहल भैरहेको पनि छ ।

वि.सं २०७५ सालमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको स्थापन भएको हो । ब्यूरो स्थापनापछि हाल सम्म जम्मा १ हजार ११८ जना पक्राउ परेका छन् । ती मध्ये ७ सय ८३ जना पुरूष र ३ सय ३५ जना महिला छन् । सो अवधिमा १ हजार ९ सय १९ जनालाई अभियोग लागेको छ।  सोही अवधिमा जम्मा ८ सय ९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले मुख्यत मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्दार गर्दछ । समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम संचालन, दक्ष जनशक्ति तथा प्रविधिको विकास लगायतका काम गर्छ । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, प्रचलित नेपालको कानुनको अधिनमा रही ब्यूरोले सक्रिय रूपमा काम गर्दै आइरहेको छ । देशभित्र आन्तरिक रुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीय रूपमा हुने त्यस्ता घटनाहरुको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारवाहीको दायरामा ल्याइएको छ । तर हाल प्रचलित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा मानव तस्करी र वाध्यकारी श्रम (श्रम शोषण) समेटिन नसकेकोले त्यस्ता घटनाहरुलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न कानुन परिमार्जन वा सो सम्बन्धी छुट्टै कानुन निर्माणको आवश्यकता छ ।

आधुनिक वैज्ञानिक प्रविधि तथा विशेषज्ञहरू समेतद्वारा गरिने अनुसन्धान पद्दतिलाई थप प्रभावकारी बनाई विकास गर्दै लैजाने ब्यूरोको उद्देश्य रहेको छ । वैदेशिक रोजगारीका नाममा हुने मानव वेचबिखन र ठगी सम्बोधन गर्ने, संगठित रूपमा हुने मानव बेचबिखन अपराधको अनुसन्धान गरी त्यसको सञ्जाललाई निष्कृय बनाउन ब्यूरो सक्रिय छ। प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, मानव बेचबिखन जस्तो गम्भीर अपराधलाई बहुपक्षीय अध्ययन, अनुसन्धान बिश्लेषण गरी नीति, कार्यक्रम तथा योजना तय गरी विभिन्न देशहरूमा रहेका पीडित तथा प्रभावितहरूको तीव्र उद्धार गर्न थप सक्रियता बढाइएको छ । यसलाई सहजीकरण गर्ने उदेश्यले विभिन्न सरकारी, गैह्रसरकारी तथा विदेशी संयन्त्रहरूसँग समन्वय गर्ने गरिएको छ । नेपाल प्रहरीले गर्ने यस्ता कारवाहीबाट मानव बेचविखन तथा अवैधानिक तरिकाले तेस्रो मुलुक पुर्‍याउने प्रवृत्तिलाई निरूत्साहित गर्न सकिएको छ ।

ब्युरोको मुख्य कार्य मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान तथा कानूनी कारवाही प्रभावकारी ढंगबाट अगाडि बढाउनु हो । मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत रहेर अनुसन्धान हुने गर्छ । यसबाट यस्ता अपराधको नियन्त्रण, अनुसन्धान तथा अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितको उद्दार गर्न मदत पुगेको छ ।