दिपक अभिमन्यू

कथा : शान्ति

Hollywood Khabar October 27,2017 Comments

राम प्रसादकी श्रीमती बिहानै च्याँट्ठीएर तल्ला गाउँका भट्टराई बाजेलाई धारे हात लगाउँदै भन्नु नभन्नु भनेर सराप्दै थिईन्।वल्लाघरे पल्लाघरे झ्याल झ्यालबाट चियाएर हेर्थे अनि रमाईलो मानेर राम प्रसादकै बिरुद्धमा काखी बजाउँथे।भजन र धार्मिक प्रवचन सुनेर आनन्द लिनुपर्ने समयमा उनीहरु भट्टराई बाजेलाई सरापेका शब्दहरुलाई श्रवण गरेर छिमेकीहरु आफ्नो दैनिकी शुरु गर्थे।एक प्रकारले भन्ने हो भने राम प्रसादकी श्रीमतीका कारण गाउँको शान्ती नै हराएको थियो।

उज्यालो भए देखिको उनको प्रवचन शुरु हुन्थ्यो।हुनत भट्टराई बाजेलाई टोल छिमेकका मान्छेहरु कसैले राम्रो मान्दैनथे।भट्टराई बाजेले त्यो गाउँ मात्र होईन पल्ला गाउँमा समेत नसताएको वा शोषण नगरेका कमै मात्र मान्छे थिए।उनी ब्याज आउँछ भनेपछि निन्द्रामानि उठेर कर्जा उपलब्ध गराउथे गाउँलेहरुलाई।उनले सयकडा पाँचपाथी मकै या तीनपाथी भटमास ब्याज लिन्थे।तैपनि गाउँमा भनेका बखत भनेजति पैसा दिन सक्ने उनी नै भएकाले उनका हजार शोषणका बाबजुद पनि उनलाई बाजे भनेर मान्छेहरु जदौ टक्रयाउँथे।

राम प्रसादले छोरीका बिहेका लागि तीनै भट्टराई बाजेसङ्ग कर्जा लिदा बेंसीखेत बन्धकी राखेका थिए।तीन बर्षसम्म पनि राम प्रसादले कर्जा चुक्ता गर्न नसकेपछि उनले रामप्रसादलाई कर्जा तिर हैन भने बेंसीखेत फिर्ता नगर्ने धम्की दिएका थिए।रामप्रसादले रकम जुटाउन गरेको सयौं प्रयास असफल भएपछि खेतको मोलमलाई गरि कर्जा चुक्ता गरि बाँकी केहिरकम हातमा त परेको थियो तैपनि उसको धान खाने खेत भनेकै त्यति मात्रै थियो।त्यो खेत भट्टराई बाजेलाई बुझाएदेखि उसको मनबाट शान्ती अमनचयन हराएको थियो।उसकी श्रीमतिलाई हरेक बिहान कुनै न कुनै बहानामा भट्टराई बाजेलाई नसरापी खाएको पच्दैनथ्यो। भट्टराई बाजेलाई सराप्नु या धारे हात लगाउनु उनको दैनिकी झैं बनेको थियो।आखिर जति सरापेपनि वा जति धारे हात लाएनि राम प्रसादकि श्रीमती गर्न सक्ने त केहि थिइनन्।

अर्कोदिन बिहानै राम प्रसादकी श्रीमती च्याँट्ठीदै भट्टराई बाजेलाई धारे हात लगाउँदै भन्नु नभन्नु भनेर सराप्दै गर्दा भट्टराई बाजे आँगनमा टुप्लुक्क आईपुगे।आँगनमा पाईलो पर्न नपाउँदै बोले तेरी स्वास्नी मैले तेरो खेत सित्तै खाइदिया भनेर हिड्छेरे‚मैले झन दया माया गरेर खेत मेरै नाममा गर्द्या भएनि गरि खा भनेर छाड्द्याथें।अब तेरी जहानले अति गिर सहिनसक्नु भयो हेर अब त्यो खेत बाँझै भए नि होस मेरा खेतमा खेती नगरेस यति भन्न आको म।भनेर बोली टुङ्ग्याउन नपाउँदै भित्रबाट राम प्रसादकी श्रीमती बाजे जदौ भन्दै छाँद हाले रुदै क्षमादिनुस बाजे त्यो खेत जोत्न हामीलाई बञ्चित नगर्नुस भन्दै हात जोर्दै निहुरेर राम प्रसाद र उसकी श्रीमती अगाडि नतमस्तक भइरहे।हजार बिन्ती पछि भट्टराई बाजेले ल ल गरिब हौ गरेर खाओ तिमेरको गाँस खोस्ने मलाई रहर छैन तिमीहरु जस्तो म होईन।अब तिमेरका बकबक मैले सुन्न नपरोस भन्दै उनी त्यहाबाट ओझेल भए।

भोलीपल्टदेखि राम प्रसादकी श्रीमतीले भट्टराई बाजेलाई धारे हात लाउँदै च्याँट्ठीदै कराएको छिमेकीले सुन्नु परेन।छिमेकमा शान्ती छाएको थियो। राम प्रसादकी श्रीमतीको चयाँट्ठीएको स्वर सुनिदैनथ्यो अचेल।