बागमती पालिकाको बिद्यालयलाई राजदूत युताकाद्वारा छात्रावास हस्तान्तरण

जापानले ललितपुरको कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण गरेको छ। ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयलाई जापान सरकारको सहयोगमा छात्रावास हस्तान्तरण समारोह सम्पन्न भएको छ। समारोहमा नेपालका लागि जापानका राजदूत महामहिम किकुता युताकाको उपस्थिति थियो। 

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (GGP) को लागि अनुदान सहायता अन्तर्गत छात्रावास बनेको विद्यालयका प्रधानाध्यापक महेश घिमिरेले जानकारी दिनुभयो। परियोजनालाई पूरा गर्न लगभग नेपाली २०.५ मिलियन सहयोग गरिएको कार्यक्रममा सार्वजनिक गरियो। 

यस अवसरमा राजदूत किकुताले परियोजनामा ​​संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गर्नुभयो।  विद्यार्थीहरूलाई नेपालमा समाजको विकासका लागि काम गर्न सक्ने व्यक्तिको रूपमा हुर्कन र भविष्यमा जापान र नेपालबीचको पुलको रूपमा सक्रिय भूमिका खेल्न पनि आग्रह गर्दै राजदूतले खुसी व्यक्त गरे । 

पहिले विद्यार्थीहरू विशेष गरी छात्रा  विद्यार्थीहरू स्कूलबाट टाढा बस्नेहरू स्कूल पुग्न वा स्कूल नजिकैका समुदायहरूमा कोठा भाडामा लिन लामो दूरी र घन्टौंसम्म हिँड्न बाध्य थिए। यो अवस्थाले उनीहरूलाई आफ्नो विद्यालय जीवनमा ध्यान दिन गाह्रो बनायो। तर नवनिर्मित  छात्रावासले उनीहरूका लागि थप उपयुक्त र सुरक्षित वातावरण प्रदान गरेको राजदूतावासले जनाएको छ। 

कार्यक्रममा स्थानीय महत्त्वपूर्ण व्यक्तिको समेत सहभागिता रहेको थियो ।बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले जापान सरकारको महत्त्वपूर्ण सहयोगका लागि धन्यवाद दिँदै विद्यालयलाई  थप मेहनत गर्न आग्रह गर्नुभयो। आगामी दिनका लागि निरन्तरता दिन केही चुनौती रहेको र विभिन्न संघसंस्थाबाट सहयोगको अपेक्षा गरेको विद्यालयले जनाएको छ।

२०१५ को भूकम्पपछिको आकस्मिक विद्यालय पुनर्निर्माण परियोजनाअन्तर्गत जापानको सहयोगमा विद्यालयका कक्षाकोठाको भवन पुनर्निर्माण गरिएको र छात्रावास स्थापनासँगै विद्यार्थीको सिकाइ र जीवनयापनमा थप सुधार हुने सहायक प्रधानाध्यापक गोविन्द प्रसाद तिमल्सिना बताउनु भयो। 

छात्रावासको राम्रो मर्मत सम्भारलाई निरन्तरता दिन स्थानीय समुदाय, विद्यालय र परिवार सबैको साथ रहने र यो परियोजना बालबालिकाको राम्रो भविष्य र थप विकासको लागि अवसर बन्ने विश्वास  सहभागीले व्यक्त  गरे। 

विद्यालय ललितपुरको दक्षिणपश्चिमी भाग र नजिकैको मकवानपुर जिल्लामा लगभग ३५० विद्यार्थीहरूको लागि मुख्य शैक्षिक संस्था हो। यो परियोजना सन् १९९१ देखि शिक्षा, वातावरण, कृषि, महिला सशक्तिकरण, सामुदायिक विकासलगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था लभ ग्रीन नेपालले कार्यान्वयन गरेको हो। दूतावासले यो परियोजनाले सुधारमा योगदान पुर्याउने विश्वास लिएको छ। 

नेपालमा शैक्षिक वातावरण र जापान र नेपालका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउने उद्देश्यले तल्लो तहका जनतालाई प्रत्यक्ष रूपमा लाभान्वित हुने परियोजनाहरू कार्यान्वयन गर्न GGP स्थापना गरिएको हो। समुदायको सामाजिक-आर्थिक विकासमा सन् १९९१ देखि नेपालमा २०० भन्दा बढी GGP परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।