सूचना तिमल्सिना, नोवेम्बर २४, २०२४
हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न थाल्छे । त्यही अलमल गरेर विवाद गरेर बिताउछे । तर यथार्थ ऊ रुपमा जहिल्यै सुन्दर छे र रहन्छे ।
मन कसरी यो यथार्थबाट भट्कन्छे ? जब मनमा भएको असन्तोष प्रकट हुन्छ । असन्तोषको कर्म असन्तुष्टि अभिव्यक्ति गर्नु हो । ऊ त्यही गर्छे । तर मन यो उसको असन्तुष्टि भाग भनेर बुझ्दिन र विश्वास गरिदिन्छे कि ऊ राम्री छैन । तब खेल सुरु हुन्छ । जुन खेल मनले पुस्तौ पुस्ता खेलेकी छ ।
मानिसले मानिसलाई कहिले राम्रो देख्छ ? कहिले नराम्रो देख्छ ? यो जानेपछि मनको खेलको ज्ञात हुन्छ । जब मानिस प्रेममा हुन्छ तब ऊ अरुलाई राम्रो देख्छ । त्यही भएर एक आमाको लागी सबै सन्तान राम्रा हुन्छन् किनकी उनी सन्तानको मायामा हुन्छिन् । जब मानिस डाह, रिस, क्रोध, दुख असन्तुष्टि कर्मसँग गुज्रन्छ, त्यतिबेला ऊ अरुलाई नराम्रो देख्छ । क्रोधको भाव प्रकट लागी ऊ क्रोध जगाउने बोली बोल्छे – त राम्री छैनस् । डाहलाई डाह अभिव्यक्त गर्न शब्द राख्छे – त राम्री छैनस् । दुख भाव अरुलाई दुखी बनाउन बोल्छे – त राम्री छैनस् । गहिराइमा हेर्ने हो भने यो भावको अभिव्यक्ति हो । राम्री छैनस यथार्थता होइन । तर मन यो भ्रमलाई यथार्थ मान्छे । किनकी यी भावको बीज उसमा पनि रहको हुन्छ । तत्क्षण ऊ यी भावमा जोडिएकी हुन्छे ।
अब कहानी चल्न थाल्छ। जब मन आफूलाई नराम्री मान्न थाल्छे । उसलाई कुन शब्द राखेर नराम्रो भनिएको हुन्छ, त्यही शब्द देखानासाथ ऊ व्याकुल भएर उठ्छे । फेरी राम्री भन्नासाथ दङ्गदास रहन थाल्छे । अनि मन नराम्रोपनको समाधानका लागी भौतारिन्छे । राम्रो भन्नेसँग सँगत गर्न खोज्छे । तारिफको भोको बन्छे । मेकअपका अनेक तौरतरिका सिक्छे । तरपनि देख्छे मन सन्तुष्ट छैन ।
जब गौर गरेर आफूलाई मन हेर्न थाल्छे तब देख्दै जान्छे कि ऊ भ्रम समातेर विवाद गरेर बसेकी छे । तर वास्तवमा न कि ऊ राम्री हो न नराम्री हो । सूर्यलाई प्रकाश छर्नलाइ न कि तारिफले न कि बदख्याइँले असर पर्छ । मन आफैलाई हेर्दै जाँदा विगत देखापर्दै जान्छ । विगतमा कोही साथी वा परिवारका सदस्य वा आफन्तले नराम्रोपनको खुलासा गरेको हुन सक्छन् । उनीहरुप्रति वितृष्णा पेैदा हुन दिन हुदैन किनकी अरुलाई नराम्रो देख्ने डाह, रिस, क्रोध, दुख असन्तुष्टि हो । मानिस त यी भावको माध्यम मात्र हो । जब मनले यो यथार्थलाई समात्दै जान्छे सौन्दर्यको पुरै पाठ एक तानबान लाग्न थाल्छ ।
त्यसैले जब मन बाहिरी संसारलाई छाडेर आफूतिर हेर्न लाग्छे । तब ऊ कसैले नराम्रो भन्दा उठ्ने विचार र भावलाई देख्न थाल्छे, पक्रन थाल्छे । त्यसपछि चाल पाउछे यो भावसँग जोडिने अरु कोही नभई ऊ आफैँ हो । ऊ जति सजग हुँदै जान्छे । त्यति नै उसले यो भावबाट छुटकारा पाउदै जान्छे ।
यदि मन अझ गहिराइ जान सकी भने यो पनि देख्छे कि रुप रङ्गबाट पैदा हुन्छ । र रङ्ग प्रकाशबाट निस्कन्छ । रङ्गको जो आफैँ प्रकाशको भाग हो त्यसलाई समातेर राम्रो नरम्रो बनाउन कुनै आवश्कत्ता छैन ।