कृष्ण के सी, अमेरिका, नोवेम्बर ११, २०१८
करिब अढाई बर्ष पहिला नेपाली कांग्रेसको बिधान बन्ने र बिधानबारे बहस भएको बेला थियो। त्यो समय नेपाली जनसम्पर्क समितिबारे पार्टीले गरेको बैधानिक ब्यबस्थाबारे लेखेको थिएँ। आज त्यसैलाई अलिकति परिमार्जन गरेर प्रस्तुत गरेको छु।
- नेपाली जनसम्पर्क समिति भन्ने राजनैतिक नेटवर्क स्व विशेश्वर प्रसाद कोइरालाले तत्कालको राजनैतिक आवश्यक्ता अनुसार भारतमा नेपालीहरुबीच सम्पर्क बढाउनको लागि स्थापना गरेको थियो। त्यसैले बिपीले यसलाई जनसम्पर्कको नाम दिएका हुन् अन्यथा पार्टीको शाखा या अरु कुनै नाम दिन्थे होलान।
- एउटा राजनैतिक दार्शनिक भएकाले होला बिपीका कतिपय कुरा सर्व साधारणले सजिलै बुझ्दैनन्। अनि कांग्रेस र कांगेसीहरु मध्ये पनि धेरै जनाले बिपी बिचार, चिन्तन जे जे भने पनि राम्रोसँग जान्दैनन भन्ने कुरा आरोप होइन प्रमाणित भएको कुरा हो। उसो त एकजना कांग्रेसी नेतालाई बिपीको अर्थशास्त्र/अर्थनीति भनेको के हो भनेर सोधेको। उनले भने, हेर म बच्चा देखि काँग्रेस भएको ६ दशक भयो, मलाइ कांग्रेसबारे सिकाउन नआउ, बिपीको यस्तो कुरा कतै पनि छैन।
- कानुन त कुनै पनि देशको एउटा राजनैतिक पार्टीले अर्को स्वयत्तता भएको देशमा आफ्नो पार्टीको शाखा खोल्न असजिलो मात्र होइन मिल्दैन पनि। त्यसैले अरु देशले यसलाई मित्री सँस्था अर्थात फ्रेन्ड्स अफ फलाना पार्टी जस्ता नाम दिन्छन। त्यहि कुरा बुझेका बिशेश्वर प्रसाद कोइराला (बिपी) ले पनि यसलाई नेपाली कांग्रेस पार्टीको शाखा या अन्य नभनेर नेपाली जनसम्पर्क समिति भारत भनेका होलान।
- हुन त राजनीतिमा आफ्नो फाइदा अनुसार हाइपोथेसिस प्रयोग गर्ने गरिन्छ। बिपीबारे नेपाली कांग्रेस मात्र होइन देब्रेपंथीहरुले पनि आफ्नो फाइदा अनुसार हाइपोथेसिस गर्ने गर्छन। जति गफ गरे पनि त्यो बेलाको नेपालको राजनीतिमा अप्ठेरो स्थितिले गर्दा जनसम्पर्क समिति भनेको केवल भारतमा रहेका नेपाली र नेपाली काग्रेसको सम्पर्क र आपसी रुपमा राजनैतिक सूचना प्रसार गर्नको लागि मात्र थियो। अहिले जस्तो महाधिवेशन प्रतिनिधि र कार्यकर्ता बनाउनको लागि होइन र थिएन। यो कुरा स्वयं कांग्रेस नेताहरुले भन्ने गरेका छन् र इतिहासले पनि यस्तै देखाएको छ।
- जब नेपालमा राजनैतिक परिवर्तन भयो अनि त्यो खालको समितिलाई चलाई रहनु आवश्यक देखिएन। त्यसैले तत्कालका लागि नेपाली कांग्रेसले जनसम्पर्क समिति भारतलाइ बन्द गरिदियो। तर धेरै बर्षपछि सन् २००० को सुरुवाततिर पुग्दा जापानबाट यसलाई बिउँताइयो। लिंक ************
- संस्था, पार्टी जन्मनु, निरन्तर हुनु, अनावश्यक भएमा बन्द गर्नु सबै सामान्य कुरा हुन्। तर बिधान, आवश्यकता र उपादेयता एकातिर छन् अनि संचालन चाहिँ अर्को ढंगले गर्नु भनेको बेमौसमी राजनैतिक गुटगत रत्यौली बाहेक अर्को उपमा नहोला।
- हुन त नेपाली काँग्रेसले यस बिधान भन्दा पहिलाको बिधानमा महाधिवेशन प्रतिनिधि सहितको विदेशस्थित रहेको भात्री सँस्था भनेको थियो। तर नेपाली कांग्रेसको बिधान २०१७ संसोधन सहित को ८२ पृष्ठ लामो वर्तमान बिधानमा नेपाली जनसम्पर्क समितिलाइ भात्री संस्था भनेको छैन, यसलाई पार्टीको अङ्ग भनेको छ।
- पार्टीको बिधानको परिच्छेद २ को दफा ४ का १ देखि १३ सम्म विभिन्न उपदफा र सहायक बुँदाहरुमा सदस्यता, योग्यता र समाप्तिक कुराहरु उल्लेख गरिएका छन्। नेपाली कांग्रेसको बिधानले नेपाली नागरिकलाइ पार्टीको सदस्यता दिने कुरा गरेको छ। त्यसैगरी उपदफा १२ को क देखि छ सम्म विदेशस्थित नेपाली जनसम्पर्क समितिले सदस्यता दिने, योग्यता र ब्यबस्थाका कुरा गरको छ।
- त्यसैगरी बिधानको परिच्छेद ५ को दफा १४ मा विभिन्न उपदफाहरुमा विदेशस्थिति नेपाली जनसम्पर्क समितिको ब्यबस्था गरको छ। यहाँ जनसम्पर्क समितिलाई छुट्टै बिधान अनुरुप काम गर्ने भनिएता पनि त्यो बिधान हरेक देशमा दर्ता नहुने स्थितिमा किन आवश्यक पर्ने हो त्यो भने उल्लेख गरिएको छ।
- कुनै पनि देशमा राजनैतिक पार्टी त्यो देशको राजनैतिक व्यवस्थामा भाग लिनको लागि स्थापना र गठन हुन सक्छ। तर अर्को देशको पार्टी र त्यो देशको लागि राजनैतिक कारणको लागि पार्टी दर्ता हुँदैन। त्यसलाई अनाथिकृत रुपमा गरिएको राजनैतिक हस्तक्षेप भन्ने गरिन्छ।
- तर पनि नेपाली जनसम्पर्क समितिलाइ नेपाली कांग्रस मात्र होइन नेपाल र नेपाली राष्ट्रियता र आपसी नेटवर्कको लागि पनि जीवित राख्नु जरुरी छ। तर फरक रुपमा।