यसपालिको दशैं

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, अक्टुवर ७, २०२४

कुन मन फुकाई शुभकामना दिऊं
कुन फूल टिपी दुर्गाको चरणमा चढ़ाऊँ
देवीसंग  दुई कर जोडी आज म के मागुं
देश रोएको बेला यसपालीको दशैं कसरी मनाऊं

सपना संगालेका , उत्साहले भरिएका
खेलको पराक्रमले  देशको नाम राख्न तम्सिएका
हे कलिला युवाहरु पैरोमा हा! कसरी पुरियौ
भन अम्बिके यसपाली दशैं कसरी मनाऊं

आमाको काख रित्तियो , बाबुको आधार
सिंगो गाऊं डुब्यो , जताततै छ हाहाकार
यो विषम परिस्थितिलाई कसरी सुल्झाऊं
भन चण्डिका  यसपाली दशैं कसरी मनाऊं

आरी खन्याई आकाश गर्ज्यो
धर्तीको काखमा घनघोर वर्ष्यो
घर , खेत पाखा सारा डुबायो
मनुष्य जनलाई बेहाल बनायो

यो आक्रोस , प्रलयको संकेत हो कि
या मानवताको नयां सहर बस्दै छ कि
पृथ्वीको रहस्य  कसले बुझ्ने कसरी
यो प्रकोप रोक्न के गरुं ?हे दैत्यमर्दिनी !

Comments
Related News
Latest Post