ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४

बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ
आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ

छैन कि खै नारी दिलमा अन्य कुनै पीर
भए भरको पीर ब्यथा सर्यो त्यतै तिर

सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो
घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो

कस्तो खालको विस्तारा हो पोल्ने नारी हरमा
एकै‌ बाल्टि पानी पनि रहेन्छ कि घरमा

रहेन्छन् कि कठै कोहि दिने मलम पानी
दिएर‌ नि नहुने‌ पो हो कि कतै‌ बानी

बेदनाका पोका हुन्थे तिजका गीतमा पहिले
अर्कै खालका पोका आए तिनै  गीतमा अहिले

तिजका गीत सुन्न खोज्दा आउछन् कस्ता-कस्ता
हेर्न पनि नसकिने सबै सँगै बस्दा

दुईअर्थि ति शब्द राख्छन् तिनै मात्र बिक्छन्
शब्दकोष नै खोतलेर त्यस्तै शब्द झिक्छन्

उमेर हदको सिमा तोक तिजका गीतमा पनि
बयस्कले मात्र हेर्नु तिजको यो गीत भनि

महिलाा मात्रै जम्मा भइ नाचगान गर्थे पहिले
लुठो न भा तिजका गीत आउनै छाडे अहिले

हेर्न सुन्न नसकिने गीतका  शब्द नृत्य
नृत्य कला भन्दा बढी अर्कै खालको कृत्य

गरे पछि हुँदो रै छ नमिल्ने पो छ र
तिजका गीतमा नाच्ने लुठा पञ्चमी नि गर

हेर्दा हेर्दै जे मा पनि यस्तै सँस्कार छायो
स्वतन्त्रता हावि हुँदा सँस्कृतिलाई खायो

नाँच्न पाउन्नौ  गाउन पाउन्नौ भन्ने दिन त गए
नभर्देउ न छाडा गीतमा त्यो तिजको लय