अमरता भएर पनि थिएन  

सूचना तिमल्सिना, अगष्ट १२, २०२४

ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा गरेर पनि अलमल गर्दै थिई ।

ऊ कहिले चित्रकार बनेर अमरता खोज्थी । कहिले साहित्यकार बनेर अमरता खोज्थी । कहिले गायक बनेर अमरता हुन्छु भन्ठान्थी । कहिले नायक बनेर अमरता प्राप्त गर्छु भन्ठान्थी । कहिले बहादुर बनेर अमरता खोज्थी । ऊ अमरताका लागी सालिक बनाउथी । ऊ अमरताका लागी आफ्नो नाम बारबार रटाउन लगाउथी । उसले के गरिन । उसले के गरेकी छैन । तर शंका बारबार प्रश्न लिएर उठ्छ र भन्छ के नामले अमरता प्राप्त हुन्छ र ? ऊ निस्रिक्क पर्छे र भन्छे। थाहा छैन केले अमरता प्राप्त हुन्छ ? मलाई त यो पनि थाहा छैन कि अमरता हुन्छ कि हुँदैन ?

ऊ हेर्दै जान्छे कि प्रकृति आफेैमा सात रङ्गमा प्रदर्शित छ । ऊ आफैँमा चित्र छ । ऊ आफैँमा रङ्ग छ । फेरी रङ्ग कोरेर मन कसरी चित्रमा अमरता भेट्न सक्छे ? प्रकृति आफैँसँग शब्द छ । भाव छ । त्यही शब्द र भावलाई सँकलन गरेर आफू कसरी अमर बन्न सक्छे ? प्रकृति आफैसँग स्वर छ । स्वरमा भाका थपेर कसरी अमर बन्न सक्छे ? जे बने पनि जे गरे पनि ऊ प्रकृतिको भाग थिई । प्रकृतिको एक भाग उठाएर ऊ कसरी अमर बनेँ भनेर कबुल गर्न सक्थी ?

ऊ जति बुझ्दै थिइ । त्यति ऊ अमरतालाई गुमाउदै थिइ । तर ऊ भित्रको अमरता बनाउने चाहना अनेक अमरताको कहानी पेश गर्दै थियो । जो उसले पुस्तौपुस्ता यही कर्म गरेको थियो । जसलाई सुनेर ऊ कैयौँपटक बहकेर उठेकी थिई । कैयौपटक बहकेर म केही बनेँ ठानेकी थिई । बनेकी छु भनेर सुनाएकी थिई । बनेकी छे पत्याएका थिए, पत्याएका थिएनन् । यसको लम्बेतम्बे कहानी शब्द भरेर घुमिरहेको थियो ।

अकास्मत एकदिन उसले बुझी । चित्रले, शब्दले, स्वरले, भावले उसलाई अमरता दिलाउन सक्दैनन । उसको अमरताको कहानी सकिन्छ । त्यसैले ऊ आफैलाइ प्रदर्शित गर्न चित्र कोर्न सक्छे । शब्द भर्न सक्छे । गीत गाउन सक्छे । नाच नाच्न सक्छे । अब उसको लागी केही अनुबन्धित छैन । उ खुलेर बग्न सक्छे ।

ऊ नाच्दा नाच्दै नाच्ने देख्दिन। गाउदा गाउदै गाउने देख्दिन । लेख्दा लेख्दै लेख्ने देख्दिन । चित्र कोर्दा कोर्दै चित्र कोर्ने देख्दिन । हरकोही घटना आफै घट्छ। आफैँ हुन्छ । त्यसोभए ऊ कहाँकी हो ? कहाँ छे ? दर्शक भन्छ – ऊ अमरताकी हो। अमरतामा छे ।

Comments
Related News
Latest Post