नेवाः नखः न्यूयोर्कको संस्कृति र आध्यात्मिकता जीवन व्यवस्थापन कार्यक्रम

नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो। कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो थियो ।

गुरु रुपेश्वर गौर दास, माता सुरुची, डा. राहुल र विमल तामाङलाई हलमा दर्शकहरू छेउमा उभिएर उहाँहरुलाई स्वागत गरेका थिए । मञ्चलाई फूल र ब्यानरले सजाइएको थियो । कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव श्री तुलसी नारायण चित्रकारले गरेका थिए ।

नेवाः नखः न्युयोर्ककी कार्यकारिणी सदस्य श्रीमती राधिका श्रेष्ठले गुरु र अन्य टोलीका सदस्यहरूलाई माल्यार्पण गरि स्वागत गर्नु भएको थियो । नेवाः नखः न्युयोर्कका कार्यकारिणी सदस्य एवम् उक्त कार्यक्रमका सम्योजक सुश्री नम्रता प्रधानले अतिथीहरु लगायत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने नेवाः नखः न्युयोर्कका निवर्तमान अध्यक्ष तथा सल्लाहकार श्री महेन्द्र वीर बज्राचार्यले संस्थाको संक्षिप्त परिचय दिनु भयो । त्यस्तै नेवाः नखः न्युयोर्ककी कार्यकारिणी सदस्य श्रीमती शोभना शाक्यले गुरु रुपेश्वर गौर दासको जीवनीबारे प्रकाश पार्नु भएको थियो ।

आध्यात्मिक गुरुजीले आफ्नो जीवनकथाबाट प्रवचन सुरु गर्नु भयो । आफ्नो संस्कार, बालक मनोविज्ञानदेखि आफ्नो देशमा पढाइको बारेमा जानकारी दिनु भएको थियो । त्यसपछि विदेशमा अध्ययन गर्न गएको र त्यहाँको संस्कारले बस्न मन नलागेको उल्लेख गर्दै धर्म र भगवानमा विश्वास नभएको मानिस कसरी आध्यात्मिक बन्न पुग्यो भन्ने बारेमा प्रकास पार्नु भयो। हरेक मानिसका जीवनमा सुखी र आनन्द सँगसँगै दुःख र पीडा आएको हुन्छ भन्दै बाँच्नु र आनन्दपुर्वक बाँच्नुको भिन्नता आकास जमिनको जति भएको बताउनु भयो । जसरी हामी बाहिरी संसार देख्छौँ त्यो भन्दा अझ बृहत संसार हरेकको मनभित्र हुन्छ । मनले नै बुद्धिलाई नियन्त्रणमा राखेको हुन्छ भन्दै आध्यात्मिकतालाई वैज्ञानिक तर्कबाट प्रमाणित गर्नु भयो । मान्छेको प्रकृति फरकफरक हुन्छ र यसलाई सबैले बुझ्न जरुरी छ भन्दै मानिसले आफूलाई कसरी चिन्न सकिन्छ र आफ्नो कर्म कसरी निर्धारण गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गर्नु भयो ।

आध्यात्मिक प्रवचनको निर्धारित समयभन्दा अगाडि नै आगन्तुकहरु उपस्थित भएका थिए । दुई सय भन्दा धेरैजनाको प्रत्यक्ष उपस्थित रहेको उक्त कार्यक्रम नेवाः नखः न्युयोर्कको फेसबुक मार्फत लाइभ प्रसारण गरिएको थियो । शान्त वातावरणमा अति नै रमाइलो पारामा गुरुले प्रवचन दिनु भएको थियो । एक घण्टाभन्दा बढी समयको प्रवचनमा उपस्थित सबैजना यस्तो मग्न थिए की समय बितेको पत्तै पाएन ।

कार्यक्रमको दोश्रो सत्र, प्रश्न उत्तरको थियो। धेरै जनाले आफ्ना प्रश्न र जिज्ञासा गुरुसामु राखेका थिए । करिव एक घण्टाको प्रश्नउत्तर पछि गुरुसँग सामुहिक फोटो खिच्ने कार्यक्रम सुसम्पन्न भयो । कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले गुरुजी लगायत नेपालबाट आउनु भएका तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो।

Comments
Related News
Latest Post