यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

तिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। 

सबैजसो नेपालीहरुको घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका अर्थात ठुलो एकादशीका दिन तुलसीको बिबाह गरेर समापन गर्ने चलन छ। 

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ। वर्षका २४ एकादशी मध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ।

तुलसीबाट धेरै अक्सिजन र पिएच पाइने भएकाले पनि स्वास्थ्यका लागि लाभदायक छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ।

यस दिन काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिर लगायत मुलुकभर रहेका नारायण (विष्णु) मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ।

Comments
Related News
Latest Post