महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत:प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरी/प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Women Police Gallery को उद्‌घाटन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताउनुभयो । समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलन तथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले महिला प्रहरीको नेतृत्व विकासमा उठेका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला प्रहरीको सहभागिताले शान्ति सुरक्षामा योगदान पुगेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका सहसचिवहरूका साथै विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिकाका विषयमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

प्रहरी निरीक्षक मनिषा बुढाथोकीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूबीच नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी खुल्ला छलफल तथा अन्तरक्रिया  समेत भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

Comments
Related News
Latest Post