-गुनासो रहित जीवन दीर्घ जीवनको मुख्य आधार-वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी

गुनासो रहित जीवन दीर्घ जीवनको मुख्य आधार-वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी

Hollywood Khabar May 12,2019 Comments

ललितपुर/३०/वैशाख

पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालय परिसर अपरान्ह खचाखच थियो पञ्चे बाजे, धिमे बाजा, धाँ बाजा लगायतले वातावरण मन्त्रमुग्ध भएको थियो। बग्गी महानगरको मुख्य गेटमा रोकियो। महानगरका मेयर चिरीबाबु महर्जनले एक सय वर्षमा प्रवेश गरेका सत्यमोहन जोशीलाई बग्गीबाट कार्यक्रमस्थल तर्फ जान अनुरोध गरे। मेयर र नगरवासीसँगै मंचमा पुगेका सत्यमोहनले झण्डै बीस मिनेट बोले।

बोलेर कहिल्यै नथाक्ने जोशीले केही मिनेट व्यक्तिगत कुरा गरे। धेरै समय कलासंस्कृति ,सम्पदा र दीर्घ जीवनको रहस्य सुनाए। गुनासो रहित जीवन नै दीर्घ जीवनको मुख्य आधार रहेछ। आफूलाई त्यस्तै अनुभव भएको स्पष्ट पारे । उनले भने, मैले कहिल्यै यो भएन, त्यो भएन भनिन्, भत्ता पुगेन पनि भनिन्, छोराहरुले ध्यान दिएनन् पनि भनिन। जनताले गर्ने सम्मान आफ्नो दीर्घ जीवनको उर्जा भएको बताए। हिजोआज उनलाई आफूलाई ईश्वरीय वरदान प्राप्त भएको अनुभव भइरहेको स्पष्ट पारे । उनले भने, वृद्ध हुनु भनेको ईश्वरीय वरदान हो।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले नयाँ पुस्ताका लागि सत्यमोहन जोशी आदर्श ब्यक्तित्व भएको वताए। मन्त्री पोखरेलले भने, उहाँ हामी सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । सत्यमोहन जोशी नेपाली समाजको जीवन्त सम्पदा भएको वताउँदै उहाँको सफलता, मेहनत, परिश्रम र कर्मशीलताको अनुपम उदाहरण भएको स्पष्ट पारे । भाषा, साहित्य राष्ट्र निर्माणको लागि आधार स्तम्भ भएको वताउँदै यसले मुलुकको गरिमा उँचो बनाउन सहयोग गर्ने वताए।

ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले जीवित छँदा नै महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वको सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको वताए। नगरभित्रका अन्य जेष्ठ नागरिकहरुको सहज जीवन यापनका लागि जेष्ठ नागरिक भत्तामा समेत बृद्धि गरिएको मेयर महर्जनले वताए।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण निधि भएको वताउँदै उहाँको सम्मानमा ललितपुरले यो कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरे।

प्रतिनिधिसभा सदस्य पम्फा भुषालले सत्यमोहन जोशीको क्रियाशीलता यो उमेरमा पनि अपूर्व रहेको वताइन्। प्रदेशसभा सदस्य जीवन खड्काले उहाँको कृतिले उहाँलाई हजारौं वर्षसम्म पनि अजरअम्बर बनाउने वताउँदै ती कृतिहरुको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको वताए।

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले ललितपुर महानगरपालिका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी जस्तो व्यक्तित्वको जन्म शताव्दी महोत्सव मनाउन पाउँदा गौरवान्वित भएको वताइन् । उनले जेष्ठनागरिकको सम्मानमा महानगर सदैव संवेदनशील भएको स्पष्ट पारिन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सत्यमोहन जोशी नेपालकै गहना भएको वताउँदै उहाँ सबैका लागि प्रेरणाका स्रोत भएको स्पष्ट पारे ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिं पूरीले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन सत्यमोहन जोशीको योगदान महत्वपूर्ण रहेको वताए। कार्यक्रममा जोशीलाई नेपाल सरकार, ललितपुर महानगरपालिका र उपत्यका नगरपालिका फोरमका तर्फबाट सम्मानका साथै कदरपत्र प्रदान गरिएको थियो ।

जोशीको जन्मशताव्दी महोत्सवको अवसरमा १०० वर्ष पूरा गरेका ललितपुर महानगरपालिका भित्रका ४ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा भाइचा महर्जन, सिता भण्डारी, पञ्चमायाँ बज्राचार्य र रत्नमान श्रेष्ठ रहेका छन्। उनीहरुलाई महागरपालिकाले पन्ध्र हजार रुपैयाँ नगद, दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो ।

औपाचारिक कार्यक्रमसुरु हुनुभन्दा एक घण्टा अगावै वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई रथमा राखेर नगरपरिक्रमा गराइएको थियो। -याली मंगलबजारबाट लगनखेल, कुमारीपाटी, जावलाखेलहुँदै पुल्चोकसम्म पुगेको थियो ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्म शताव्दि महोत्सव कार्यसम्पादन समितिका संयोजक तथा ललितपुर महानगरापालिका वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले जोशीको सम्मानमा एक वर्षभरि विभिन्न कार्यक्रमह आयोजना गर्ने जानकारी दिए।