डिसेम्बर २२ मा यलम्बर साँझ मनाइदै

अमेरिकामा डिसेम्बर २२ मा यलम्बर साँझ मनाइदै

Hollywood Khabar December 12,2018 Comments

सुरेश चाम्लिङ्ग, न्युहेम्पशायर

युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा यहि डिसेम्बर २२,२०१८ का दिन न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझको कार्यक्रम हुने भएको छ।

प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा वार्षिक रुपमा दुइ पटक गरिने र मंसिरे पूर्णे अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गरिने भएको छ। वैशाखे पूर्णिमा अन्तर्गतको उभौली साकेला भूमी पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस्, खेतीपाती राम्ररी सप्रियोस् भनी प्राकृतिक शक्तिको लागी भूमी पूजागरी पितृहरूको आशिर्वाद माग्दै, साकेला नाचीने गरिन्छ।

यस उधौली साकेला भूमिपुजामा उक्त वर्षको समयमा लगाईएको अन्नबाली सकुसल भित्र्याउन सफल भईएको, प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली सप्रेको भनी पूनः उनै प्रकृती (भूमी) र सिप्तुलुङ्गमा बिराजमान पितृहरूप्रति कृतज्ञ हुदै उधौली साकेला भूमीपूजा श्रध्दा पूर्वक मनाउने गरिएको छ।

यो उधौली साकेला भूमिपूजा र किरात बंशका प्रथम राजा तथा किरात येलेदोङ्ग संम्बतका प्रबर्तक यलम्बरको स्मृतिमा स्थापित यलेदोङ्ग सम्बत वर्ष-५०७८ को शुभअवसरमा यलम्वर साँस्कृतिक साँझ मनाइने भएको छ। न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार यलम्बर जन्मजयन्ती र उधौलीलाई एकिकृत रूपमा आयोजना गरी, एक आपसमा शुभकामना आदान-प्रदान गर्दै भब्यरूपमा साँस्कृतिक कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको छ।

आयोजकहरुले सम्पूर्ण न्यू ईङ्लैण्डबासी नेपालीहरू तथा बिभिन्न संघ-संस्थाहरूहरुको अतिरिक्त न्यु हेम्प्शायर राज्यको गभर्नर क्रिस सुनुनु, सिनेटर लो डी अल्सनड्रो, स्थानीय कांग्रेसम्यानहरु समेतलाई हार्दिक निमन्त्रणा गरिएको बताइएको छ। सदा झैं यस पटक पनि सबै महानुभावहरुको सहयोग, सदभाव र न्यानो मायाको अपेक्षा गरिएको कुरा बताइएको छ।