अब हामी आँफै बदलिऔं महिला दिवस मनाएर समाज परिवर्तन हुँदैन

0
shares

by Krishna KC | Updated: 09 Mar 2020

1179 views
-Sabu Sapkota

सवु सापकोटा/न्यूर्योर्क/३/९/२०

भर्खरै मात्र एकसय ११० औं अन्तराष्ट्रिय महिला दिवस विश्वभर भब्यताका साथ मनाईयो। महिलाहरु माथि हुने हिंसा अन्त्य गर्न सहयोग पुगोस र विकासका हरेक क्षेत्रमा महिलाको पुर्ण र बराबरी सहभागिता रहोस् भन्ने मुल मन्त्रका साथ बर्षै पिच्छे मनाईंने गरिन्छ।

पछिल्ला दिनमा नेपाली समाजमा पनि यो दिनलाई महत्वका साथ हेरिंदै आएको छ। तर पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि धेरै फरक छ। कानुन र सिद्धान्तमा जे जे उल्लेखित भए पनि ब्यबहारमा समानता भने कहिं कतै देखिंदैन। कानुन र सिद्धान्तले मात्रै समाज परिवक्तन कहिल्यै हुँदैन। अघि अघि प्रहरी छाउगोठ भत्काउँदै जाने पछि पछि पुननिर्माण गरेर बस्ने गरिएको उदाहरणले के कुरा प्रमाणित हुन्छ भने गाउँका गोठ भत्काएर होईन ती महिलाको अन्तरकुन्तरको छाउगोठ भत्काउँन जरुरी छ। जबसम्म हामी महिला र पुरुष दुबै मानसिक रुपमै तयार हुँदैनौं भने समाज बदल्न असंभवप्राय छ।

परिवर्तन अरु कसैले गरिदिने होईन। हामी आँफैले त्यसलाई आत्मसाथ गर्दै अघि बढने हो। पक्कै पनि हाम्रो समाज पितृसत्ताको सोचमा हुर्कदै आएको हो। समाजको संरचना नै त्यस्तै छ। तर समाज आँफैमा एक्टर होईन। समाज तपाईं हामी जस्ता बिभिन्न अभयबहरु मिलेर बनेको एब्स्ट्रयाक्ट कम्पोनेन्ट मात्र हो। समाजका एक्टर त तपाईं हामी हौं जो बदलिए सँगै समाज स्वत बदलिन्छ।

त्यसकारण को महिला को पुरुष हामी सबै बदलिन आवस्यक छ। हाम्रो समाजमा तुलनात्मक रुपमा महिला धेरै पिडित हुनेगरेका कारण पनि महिला स्वयम् नै पहिला बदलिने बाटोमा अघि बढनुपर्ने हुन्छ । त्यसपछि तपाईंका पुरुष मित्रहरु, घरपरिवार र सिंगो समाज बिस्तारै तपाईंको साथमा आउँदै जान्छ। यसका लागि हामीमा बर्षौंदेखि राज गरेर बसेको सोच परिवर्तन गर्नु आवस्यक छ।

आजको उत्तराधुनिक युगमा समेत खरिदार केटीले अधिकृत केटो खोज्ने, अनमीले एमडी रोज्ने, हाईस्कुल वालालाई डिग्री पढेको श्रीमान चाहिने, बाँकीले हुने खाने धनिमानी खोज्दै हिड्ने अनि जिन्दगीभर ख्वामित हजुरको म त दास पो हुँ’ भन्दै संपुर्ण रुपमा श्रीमानको शरण पर्ने दासत्व बनोबृत्ति शिक्षित नारीहरुले पनि उखेलेर फाल्नु जरुरत देखिन्छ ।

किनकी जानी जानी पुरुषभन्दा तलै बस्न खोज्ने, आफ्नै जन्म घरबाट पाउने अंश नलिएर हुनेवाला श्रीमानको अंशियार हुने, सधैँ श्रीमानकै कमाइलाई प्राथमिक कमाई मानेर जिन्दगीभर हातै पसारिरहनु पर्ने जस्ता बाध्यताबाट मुक्त नहुने हो भने प्राचिनकालदेखि भेदभाव रहिआएको हाम्रो समाजबाट समानताको आशा गर्नु भनेको ‘रिट्ठाको बिउ रोपेर कहाँ फल्छ र कागती’ भने सरह हो ।

सभा, गोष्ठी, आन्दोलनबाट कानूनमा छोराछोरी दुवै अंशियार भनि अक्षर कोर्न सफल हाम्रो समाज ब्यवहारिकतामा एकातर्फ बिभिन्न बहाना र माया देखाई छोरीलाई अंश दिनबाट पछाडि हट्छ भने अर्कोतिर तिनै छोरीलाई बिवाह पछि श्रीमानले अंश दिएनन् भन्दै आन्दोलनको मोर्चाबन्दी गर्छ। यो आँफैमा एउटा बिरोधाभास बाहेक केहि होईन। त्यसैले अबको आन्दोलन जन्मघरको अंशियारलाई अनिवार्यतामा लैजाने तर्फ हुनुपर्दछ, चाहे छोरा होस् या छोरी । त्यसो भए मात्र महिला जन्मघरदेखि नै आर्थिक लगायतका क्षेत्रमा आँफै निर्णय लिनसक्ने बाटोमा अघि बढदछन ।

केहि वर्ष यता महिला अधिकारका क्षेत्रमा सत्यताको आधारमा वास्तविक पीडितलाई पहिचान गरि न्यायको किनारामा पुर्याउँने र उनीहरूलाई आत्मनिर्भर बनाउँने तर्फ नभएर देखावटी र नामका लागी मात्र होडबाजीमा दौडने प्रवृतिले वास्तविक पीडित पीडामा नै र देखावटी पीडितले सम्पत्ति कुम्ल्याउँने गरेका धेरै उदाहरणहरू सबैका आँखा अगाडि नै देखिन्छन् ।

पछिल्ला वर्षहरूमा बैदेशिक रोजगार, ब्यापार-व्यवसाय, अध्ययन अनुसन्धानमा विदेश गएका दाजुभाइहरू सबैथोक ठानेर विश्वास गरेका श्रीमतीहरूको श्रीमानप्रति विश्वास र मायाभन्दा पनि सम्पत्तिप्रतिको मोह, बाह्य आकर्षण र मनोरन्ञनमा भुलि निहित स्वार्थका बाटोमा हिंडने परिपाटी ह्वात्तै बिकास भएको देखिन्छ।

जसका कारण परिवारका सदस्यमा डिप्रेसनमा जाने, थला पर्ने र मृत्युलाई अङ्गाल्ले सम्मका घटनाहरू एकपछि अर्को गर्दै बढदै गएको पाईन्छ। यस्ता घटनाले महिलाहरू स्वयनमाथि पनि प्रश्न उठेका छन्। यसकारणले पनि दिनहुँ पीडामा पील्सिएका महिला दिदि बहिनीहरू ओझेलमा परेका छन्।

पुरूष बिना आफ्नो संरक्षण संभव छैन भन्ने कुरामा स्वयम महिलाहरू नै विश्वस्त हुनुले पनि महिलाहरू आफैमा पछि परेको देखिन्छ। नारी आफैमा एक सौन्दर्य पक्कै पनि हो तर विश्व बजारले आफ्नो बस्तु बिक्री गर्ने एक साधनको रूपमा मात्र प्रयोग गरेको देखिन्छ एकातिर भने अर्कोतिर महिला आफै पनि सुन्दर छु भन्ने पक्षमा उभ्याउनकै लागी आफ्नो गक्षभन्दा माथिका मागहरू पुरा गर्न अरूसंग हात पसार्नुले पनि महिला आफैमा कमजोर बन्दै गइरहेको पाइन्छ ।

महिलामा निहित बिशेष शारिरीक बिशेषताहरू जस्तै - महिनावारी हुनु, गर्भवती हुनु, बच्चा जन्माउँनु र स्तनपान गराउँनु जस्ता महत्वपूर्ण कुराहरूलाई धेरै जसो श्रीमान लगायत घरपरिवारले बिशेष संवेदनशिल अवस्थाका रूपमा नभइ महिलाको कमजोरीको रूपमा लिइनुले पनि महिलाहरू शारिरीक र मानसिकसरूपमा अझ थप कमजोर बन्दछन् । यस बिशेष र संवेदनशिल अवस्थालाई पुरूष स्वयमले शारीरिक रूपमा पीडा बोध गर्न नमिले पनि अवस्था मनन् गरि महिलाप्रति गरिने व्यवहार परिवर्तन गर्न जरूरी देखिन्छ।

बिशेषगरि ग्रामिण भेगहरूमा सासूले बुहारीलाई एउटा कामदारको रूपमा मात्र लिने र पछिल्ला दिनहरूमा सहरी क्षेत्रमा बुहारीले सासूलाई गन्दै नगन्ने प्रवृतिले महिला-महिला बीचमा द्वन्द र बिभाजनको खाडल बढ्दै गएको छ ।

समाजमा पीडित महिलाहरूमा पनि सामाजिक हिसाबमा बहिष्करणमा पारिएका महिला नै अझ धेरै पीडित रहेको पाइन्छ। जातिय हिसावमा भन्नुपर्दा ब्राम्हण क्षेत्री र मंगोल घरपरिवारका महिलाहरुको तुलनामा दलित र मधेशी समुदायका महिला दिदिबैनी आफ्नो आवाज बोल्न नसक्ने र उत्पिडनमै जिवन यापन गर्नुपर्ने बाध्यतामा देखिन्छन। एकातर्फ समाजबाटै अपहेलित हुनुपर्ने र अर्कोतिर लैंगिक असमानताको ब्यबहारले दोहोरो मारमा जिवन जिउँन बाध्य छन् ।

अब समाज बदल्न ठुला ठुला कुरा र भाषण मात्र होईन वास्तविक रुपमा नेतृत्वमा रहेका महिला, शिक्षित महिलाहरु र आम छोरीहरु बदलिनु आवस्यक छ। जसले समाजलाई तपाईंको बदलिएको ब्यबहारका पछि पछि लाग्न बाध्य गरोस् र वास्तविक पिडामा परेकालाई न्याय दिलाउँदै समतामुलक समाज निर्माण होस् । एकसय १० औं अन्तराष्ट्रिय महिला दिवसको स्वदेस तथा बिदेसमा रहनुहुने सबै नहिला दिदिबैनीहरुलाई हार्दिक मंगलमय शुभकामना छ।