तस्बिर वेब

वकिल ले नै ठगे वकिल र न्यायाधिशलाई

Hollywood Khabar February 12,2019 Comments

२ फागुन काठमाडौँ ।सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन्।आफूलाई मानव अधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुन सम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन्।

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानव अधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन्।कम्पनीका शेयरधनी रहेका सर्वोच्च कै पूर्वन्यायाधीश भरतबहादुर कार्की,वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी,हरिहर दाहाल,विश्वकान्त मैनाली,श्रीहरि अर्याललगायत पीडित बनेका छन्।

कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए।‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने।

अधिवक्ता सिवाकोटीले भने आफूले लिएको मध्ये धेरै रकम साथी बद्रीकुमार थापालाई दिएको बताएका छन्।थापा विरुद्ध यसअघि नै कम्पनीले उच्च अदालत पाटनमा चेक अनादार मुद्दा दायर गरिसकेको छ।उनले कम्पनीलाई एक करोड ६ लाखको चेक दिएकोमा बाउन्स भएपछि मुद्दा दायर भएको थियो।पटक–पटक छलफलमा बोलाउँदा पनि पैसा फिर्ता नदिएपछि ठगी मुद्दामा जाहेरी दिइएको कोइरालाले बताए।