फेसबुकमा सूचना राखेकै कारण वडाध्यक्षले इन्जिनियर पिटे 

0
shares

by Soni Sharma | Updated: 25 Jun 2019

148 views
-वडाध्यक्षद्वारा कुटिएका इन्जिनियर

१०असार,रामेछाप।फेसबुकमा सूचना राखेकै कारण वडाध्यक्षले इन्जिनियर पिटेका छन्।रामेछापको  सुनापति गाउँपालिका २ डिमिपोखरीका वडाध्यक्ष कमल केसीले भुकम्प प्रभावितले पुनःनिर्माणका लागि पाएको दोस्रो किस्ता र तेस्रो किस्ताको निकासा सम्बन्धी सूचना फेसबुकमा राखेको भन्दै वडामा कार्यरत सवईन्जिनियर हिमाल खड्कालाइ कुटेका हुन्।वडाध्यक्ष  केसीले इन्जिनियर खड्कालाई अपशब्द प्रयोग गर्दै  निलडाम हुनेगरी कुटपिट गरे पछि वडाध्यक्षलाइ कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा वडाध्यक्षले यसअघि पनि मापदण्ड पूरा नभएको घर पास गराउन दबाव दिने, थर्काउने गरेको भन्दै केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले आफ्नो कामकाज ठप्प पार्ने उल्लेख गरिएको छ ।संजालले सुनापतिमा सोमबारदेखि नै काम ठप्प पारिएकोभन्दै अबको एकसाता भित्र कानुनी कारबाही नभए जिल्ला भरिनै कामकाज ठप्प पार्ने जनाएको छ ।

त्यसैगरी  जनप्रतिनिधिले  कर्मचारीमाथि हातपात गरी कानुन हातमा लिन खोजेको र अरुको अस्तित्व जनप्रतिनिधिले स्विकार्न नसकेको देख्दा देशमा छाडातन्त्र मौलाएको  महसुस गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापका संयोजक अरविन्द कुमार महतोले नागरिकको जानकारीका लागि प्रकाशन गरिनु पर्ने सूचनालाई फेसबुकमा राखेको कारण इन्जिनियर कुटिएकोमा घोर भत्सना गर्दै कानुनी कारबाहीको माग गरेका छन्।