उज्यालो सपना- जमुना आरसी

Hollywood Khabar August 02,2017 Comments

-जमुना आरसी, पोखरा, अगष्ट ३, २०१७

उज्यालो सपना
बिहान सबेरै
मनको दैलो उघारेर हेर्दा
उसको धुमिल छाया
गजबार लगाएर ढोकामा
मस्त निदाइरहेको देखिन्छ

मनको मखमली बिछ्यौनामा
सेतै फुलेको बुढो हिमाल अँगालेर
फूलका कलिला सपनाहरूसँगै
फूलकै  रङ चोरेर  निन्द्रामा
रङ्गीन सपनाहरू देखिरहन्छन्
लोलाएका निर्दोष आँखाहरु

जब म दैलो घच्घच्याइरहन्छु
तब विस्तारै ब्युझिन्छन्
र फिस्स हाँसिदिन्छन्
उसका धूमील चित्रहरू
त्यसपछी एकाएक उनीहरु
खुसीको हिमाल उठाउदै
मनको आकाशमा उड्छन्
क्षितिजतिर हराउदै जान्छन्

घरक्क उघारेर मनको दैलो
फेरि हेर्छु उनको मझेरीतिर
ऊ त मस्त निदाइरहेकै हुन्छ
फूलका बिछ्यौनाहरूमा
भारी मन लिएर फर्किन्छु म
सम्भावनाको उज्यालो खोज्न
एक्लै एक्लै भौतारिदै
समय हराएको बस्तीतिर
हराएको समय खोज्न
नाङ्गा पहाडहरुमा नाङ्गै पैतला टेकेर
खेलीरहन्छु बताससँग सुसेली
आँखाहरूमा कैद गर्दै उसैलाई
काटीरहेछु जिन्दगीको झ्यालखाना
कयौँ रहरहरूमा बाँधिएर

मनको पछ्यौरीमा अल्झिरहने
उसका ती धूमील चित्रहरू
उत्साह ,उत्सव उज्यालो
सम्भावना र सपनासँग
साउती मार्दामार्दै
म भने हावामा संगीत भर्दै
पुनः घच्घच्याउछु मनको दैलो
देखिन्छ कि भनेर
उसको मायालु छाया

तर खै ! बिहान अबेरसम्म पनि
कहिल्यै ब्युझिदैनन् तिनीहरु
उज्याला सपनाहरु देख्दै
मस्त निदाइरहेकै हुन्छन
मनको मझेरीमा गजबार लगाएर सँधै ।