तस्बिर वेब

उदयपुरमा भीषण हावाहुरी र चट्याङ:१ को मृत्यु

Hollywood Khabar April 16,2019 Comments

४ वैशाख ,गाईघाट उदयपुर।गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ।रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।    

मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङका कारण मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख(एसपी)चन्द्रदेव राईले बताउनु भयो।घटनास्थल तर्फ अहिले प्रहरी जाँदै छन्।मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिने पनि प्रहरी प्रमुख राईले बताउनु भयो।हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका,कटारी,चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको स्थानीयवासीले बताएका छन्।हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–३ हँडियाका सुरेश चौधरीले बताएका छन् ।    

यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताउनुभयो।हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताउनुभयो।कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मान बहादुर दनुवारले बताउनुभयो।हावाहुरीले गएराति उदयपुरको त्रियुगा नगरपालिका गाईघाटको बसपार्क मोतिगडा क्षेत्र खैजनपुर क्षेत्रमा खरका छाना भएका घरको छानो समेत उडाइदिएको छ भने कतिपय स्थानीयवासीको टिनको छानोसमेत उडाएर क्षति पु¥याएको प्रहरी तथा स्थानीयवासीले बताएका छन्।