Dikshya Basnet Khaptadi

तिर्खाएको रानीपोखरीले बिर्साएको इतिहास

Hollywood Khabar January 16,2019 Comments

दीक्षा बस्नेत-खप्तडी

अन्तिमका वर्षहरुमा रानी पोखरीलाइ मज्जाले अनुसन्धान गरिगरी सुकाउँदै मारिएको छ। प्रताप मल्लले ६०० वर्ष भन्दा अगाडी १६७० एडीमा निर्माण गरेको बिर्सनै नहुने इतिहास बोकेको रानीपोखरीको ठूलो महत्व थियो, छ र रहने छ। यसमा खबरदारी बाहेक आजकल के नै पो गर्न सकिएला र।

मलाइ अझै स्मरण छ, रानीपोखरी एउटा अस्तित्व बोकेर कोलाहल शहर काठमाण्डौको मुटुमा एउटी सुन्दर नारी झैं देखिन्थी। कालन्तरमा आइपुग्दा रानीपोखरी त बलात्कार पछि हत्या हुँदा पनि न्याय नपाएर न्यायिक रुपमा बलात्कृत भएकी निर्मलाकी आमा जस्तै भएकी छ।

इतिहासको प्रतिक बनि ६०० वर्ष देखि लाखौ नेपालीले हेर्दै पौराणिक शितलता पाइरहेका एउटा आस्थाको धरोहर हो रानीपोखरी। अनि भाइटीकाका दिनमा दिदीबहिनी र दाजुभाई नहुनेहरुको समेत आस्थाको घरको संबन्ध बोकेर रहेको देशको सम्पदा हो रानीपोखरी।

तर यसलाई पलपल घिटि-घिटी पारेर मार्नेहरुले हेक्का राखून आफ्नो पनि कुनै दिन अस्तिव त्यसरी नै मेटिने छ। मान्छेको आयु पोखरीको जस्तो सयौं बर्षको छैन। रानीपोखरी अबसानको कारण विभिन्न बादमा फरक होला। जे भएता पनि नतिजामा देखिएको कुरा भनेको पोखरीलाई भित्र-भित्रै सुकाएर मारिएको छ।

तर एकदिन खुलेआम रुपमा नेपाली जनतासमक्ष टुडीखेलामा चल्ने भाषण जस्तै दिउसै आउने छ तथ्य कुरा। अनि त्यो समय लाखौँले दर्शक बनेर हेरिरहेका हुनेछन्। अहिले बस्त्रहिन रुपमा नंगिएको त्यो रानीपोखरीलाई तड्पाई तड्पाई मारिएको नग्न लाश जस्तो बनाइएको छ। फेरि पनि त्यो शान्त पोखरी कुनै दिन फेरि जम्ने छ भन्ने झिनो आशा मेरको छैन।

दुइ-चार दर्जन किलो सुनको ट्रक नै निल्ने देशमा त्यो रानीपोखरीको बेदनालाई कसले बुझ्ला र कसले पो उठाउला। अनि कसैले उठाए पनि सुन्नेवाला कोहि छैनन्। करोडौ करोड भेटीका पट्टीले ध्रितराष्ट्र बनाइएका राजनेताहरुको आँखाले त्यो देख्दैन। मुलुकको संपदा र इतिहासलाइ नियाल्ने आँखामा फुलो परेका छन्। होइन भने एउटा रानीपोखरी जोगाउन र संरक्षण गर्न मुतको पहिरो किन भयो आज राष्ट्रलाइ ?

थोरै-थोरै रेटेर बलिदान दिएको भन्दा छप्प मार हानेकै जाति। त्यसैले पिडित रानीपोखरीलाइ शहरको बीचमा आँखा नै बिझाउने गरी नराख बरु भत्काएर उडाइदेउ। अनि केही बर्षमा नै पंचायतलाइ झैं सबैले रानीपोखरीलाइ बिर्षने छन। त्यसपछि रानीपोखरीलाई राजनैतिक मैदान बनाएर आफ्ना दलबल ल्याएर लडीबडी गर। त्यसलाई नयाँ नाम रानीजात्रा राख। रानीजात्रा हेर्न नजिकैको जीर्ण भएको दरवार हाइस्कूकका चर्केको भित्ता अनि जमलका कर्नरका गगन चुम्वी कौसीबाट दुनियाँले बियरको चुस्की, हुक्काबारको र गाँजाको फ्वाँकसँगै मनोरंजन लिनेछन।

त्यसले पनि नपुगे रानीपोखरीमा नै हेलिप्याड बनाउ। शितल निवासबाट हेलिदृश्याबलोकन गर्न काम लाग्छ राष्ट्र मातालाइ। पौराणिक रानीपोखरीको शितलता नै किन चाहियो र तिमीहरुलाई ? अझै पनि नपुगे एउटा शपिंग मललाइ बेचिदेउ अनि २५% शेयर माग। यसबाट फाइदा नै फाइदा छ, तिम्रा सन्तानले समेत बोनस पाउने छन। आधुनिकताको मोहमा झुम्न पाएपछि किन चहियो देशको सम्प्रदा, किन चाहियो इतिहाँस, तालपरे धर्मै बेच्ने र जहाज नै सिङ्गै डुबाउनेलाई किन चाहियो सामाजिक र धार्मिक स्थल ?

कठैबरा हाम्रो इतिहाँस ! अझै पनि म भन्छु रानीपोखरी मरेको दिन ! बिस्तारै-बिस्तारै मुलुकले इतिहाँस मेट्दै गइरहेको हुनेछ। फोहोरको डंगुर र भत्किएका अस्त ब्यस्त बाटोको धुवा र धुलोले कुइरिमंडल बनेको छ राजधानी। बिश्व भरिबाट नेपाल भित्रिने पर्यटक मध्ये धेरै त गोरागोरी हुन्थे। तर आजकल त धुलोले गर्दा काठमाण्डौ भरिका बासिन्दा सबै खैरो कपाल बन्नाले गोरा भएका छन्। सायद समृद्ध नेपालका लागि आफ्नै देशकालाइ गोरा बनाएर आन्तरिक पर्यटक बढाउने काइदाको तरिका होला।

सुन्छु सरकारमा आसिनहरु विदेशबाट आयातित पानी पिउछन रे। पुराना सम्पदाहरु नासिदै र भासिदै छन्। तर देश चलाउनेहरु कुहिरोमा हराएको काग जस्तै दिशा निर्देश र गन्तब्य बिहिन भएको अबस्थामा छन। नबोलौ केहि नलेखौ भन्दा पनि पट्टक्कै मनले मान्दैन। गाँस बास र कपासको लागि पचासौ लाख युबा बिदेशिनु परेको यो शताब्दीमा सरकारको गुणगान गाउने दिनको रहरै हुनेभयो।

सत्य लेख्दा बिरोध गरेको सम्झिन्छन, त्यसलाई रोक्न साइबर क्राइमको नाममा कानुन बनाइयो रे। कसैले फेसबुकमा मात्र आलोचना गर्दा पनि जेल जानुपर्छ रे। मन्त्री र सांसदको त केहि बोल्ने हुन्न रे, जेल पठाइ हाल्छन रे। अनि जेलबाट खोजी-रोजी ज्यानमार्ने केशका अपराधीहरुलाई सभासदको बिल्ला बेचिन्छ। तर खराब गर्नेहरुको पूजा गरेर शक्तिको आडमा पल्केकाहरुसंग न हिजो डराइयो न आज नै दराइन्छ।

बरु लुटेराहरुको भजनमा रमाउने शक्तिपीठहरुसंगको लडाइ लड्न एउटा सचेत व्यक्तिको हैसितले लेख्ने-बोल्ने वाकस्वन्त्रता पक्कै पनि मरेको छैन भन्ठान्छु। त्यसैले आज आगो निलेर पानी ओकल्ने प्रयास गर्दैछु। अनि रानीपोखरीमा सानो सुन्दर तलाउ बनाउनुछ। रानीपोखरीलाइ भर्नको लागि होलि सिरिपसँगै जहाजकोबडी नै निल्नेहरुलाई तितो करेली र नीमको एक बोतल झोल र गहुमुत्र गंगाजल पिलाउनु परेको छ। तामा-तुलेसीको महत्व देखाउनु परेको छ। अनि मात्र रानीपोखरीले फेरि पनि सुन्दर रुपमा रानी भएर सबैलाई शितलता दिनेछिन।
जय मात्रीभूमी !