चन्दाबाटै नवजात शिशुको उपचार

0
shares

by Krishna KC | Updated: 23 Jun 2019

239 views
-नावालक शिशुलाई निको भएपछि घर लैजना लाग्दै गरेको अवस्थामा खिचिएको तस्विर

प्रेम लामा/ठोरी/८ असार

गरिवी र विपन्न परिवारमा जन्मिएका नवजात शिशुको चन्दा संकलन गरेरै जीवन रक्षा गरिएको छ । स्थानीय वासिन्दा तथा मनकारी विभिन्न व्यक्तित्वले सहयोगको हात अघि बढाएपछि १३ दिने नवजात शिशुको जीवन बचाउन सफल भएको हो ।

आर्थिक अभावमा नवजात छोरालाई काखमा च्यापेर आँशु झारेको दृश्यले स्थानीयलाई भावविहल बनाएपछि चन्दा संकलन गरेर शिशुलाई वीरगंज स्थित नेशनल मेडिकल कलेजको एनआइसीयु कक्षमा जेठ ३० गते भर्ना गरिएको थियो ।

अस्पतालसम्म नवजात शिशुलाई पुर्याउन सफल भए पनि उपचारमा आर्थिक संकट आएपछि बिभिन्न संचार माध्यममा नवजात शिशुको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको थियो। शिशु र आमा शोभा चाैधरीको अवस्थाबारे सञ्चार माध्यमबाट बाहिरिए पछि मनकारी व्यक्तिहरु अस्पतालको बेडसम्म पुगेर नगद सहयोग गरेकाले शिशुको जीवन बचाउन सफल भएको उपचारमा सहयोग पुर्याएकी शिक्षिका उषा सापकोटाले जानकारी दिइन् ।

उपचार गराउन सहयागी हातहरू अग्रसर भएकाले नवजात शिशुको उपचार सम्भव भएको उनले बताइन् । नवजात शिशुको स्वास्थ्यमा सुधार आएपछि आइतवार अपरान्ह नवजात शिशुलाई अस्पतालले डिस्चार्ज गरेको सापकोटाले जानकारी दिइन् । नवजात शिशुको स्वास्थ्यमा कुनै समस्या नरहेकोले उनलाई घर लैजान सल्लाह दिएको उनले बताइन् । ठोरी गाउँपालिका–२ सुन्दरबस्ती माइती भएकी शोभा चाैधरीले आर्थिक अभावका कारण नवजात शिशुको उपचार गराउन सकेकी थिइनन्।

नेशनल मेडिकल कलेज वीरगंजकी डा. रुबी ठाकुरको पहलमा अस्पतालले पनि बेडचार्ज निशुल्क गरेको सापकोटाले बताइन् । डा ठाकुरको निगरानीमा शिशुको उपचार गरिएको भन्दै सापकोटाले भनिन्, उनकै सक्रियतामा नवजात शिशु र आमा शोभाका लागि कलेजका छात्रछात्राले आइतवार ८ हजार रुपियाँ आर्थिक सहयोग मिलेको छ। यस्तै अष्ट्रेलियाबाट पनि उत्पला ढुँगेलले ५ हजार र नेपाल राष्ट्रिय प्राविधिक मावि ठोरीका प्रधानाध्यापक निरञ्जन श्रीवास्तवले ४ हजार आर्थिक सहयोग गरेका छन् ।

सामाजिक कायकर्ता, अस्पताल, विभिन्न व्यक्तित्व, स्थानीयवासिन्दा, मिडिया आदिले प्रत्यक्ष रुपमा सहयोग गरेकाले नवजात शिशुलाई नयाँ जीवन दिन सफल भएको सापकोटाले बताइन् ।

जेठ २८ गते जन्मिएका नवजात शिशुलाई उच्च ज्वरो (१०५ डिग्री) ले थलाउँदा समेत आर्थिक अभावमा उपचार गराउन अस्पताल लैजान सकेकी थिइनन् । जेठ ३० गते स्थानीयले चन्दा संकलन गरेर नवजात शिशुलाई अस्पतालको एनआइसियु कक्षमा भर्ना गरिएको थियो । शनिवार नवजात शिशुलाई साधारण वाडमा सारिएको थियो । भारतमा विवाह भएकी शाभाको एउटा २ वर्षको छोरा समेत छ । हाल उनी ठोरीमा ज्याला मजदूरी गरेर

जीवनयापन गर्दै आइरहेकी छिन्। माइतीमा आमा-बुवा पनि वृद्धवृद्धा छन्। शोभाको श्रीमान कमाउन हिँडे पनि अहिलेसम्म परिवारको सम्पर्कमा नआउँदा वृद्धवृद्धा आमा-वुवा र छोरोलाई ज्याला मजदुरी गरी जीवन गुजारा चलाउँदै आइरहेकी छिन्।