ठुटेखोलामा बनेको पुलमा एकजना पर्यटक सेल्फी खिच्दै

सात करोडको पुल सडक भन्दा बाहिर, मज्जाको सेल्फी खिच्ने ठाउँ

Hollywood Khabar January 25,2019 Comments

प्रेम लामा/ठोरी

सुन्दा अचम्म लाग्न सक्छ । पुलको प्रयोग सेल्फी खिच्ने स्पटको रूपमा मात्रै भइरहेको छ । तर यो यथार्थ हो । ठोरी गाउँपालिका २ र ३ लाई जोड्ने वीरगंज–ठोरी हुलाकी सडक खण्डको ठुटेखोलामा बनेको पुल सेल्फी खिच्नका लागि मात्रै प्रयोग भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएको झन्डै एक वर्ष पुग्यो । नवनिर्मित पुलको पूर्वतर्पएप्रोच रोड बन्न नसक्दा सवारी साधनका लागि तत्काल पुल प्रयोगमा नआएको हो। पुलसँग सडक नजोडिए पछि जोखिम मोलेर सवारी साधन खोलैखोला चलाउन बाध्य भएको चालकहरू बताउँछन् ।

खोलामा दैनिक सवारी साधन फस्ने, इन्जिनमा खोलाको पानी पस्ने र सवारी साधन खोलाले बगाउने जस्ता समस्या यात्रुहरूले झेलिरहेका छन्।

अगाडि महँगो पक्की पुल छ । त्यहीं छेउको खोलामा सवारी साधन फसेर घचेट्नुपर्दा पुलले गिज्याइरहेको भान हुन्छ, स्थानीयहरूले बताए । पुल बने पनि प्रयोग हुन नसकेको कारण ठोरीको दुःख वर्षाैंदेखि उस्तै छ ।

करीब रु ७ करोडको लागतमा निर्मित पुलबाट सवारी साधन हुँइक्याउन नपाए पनि सेल्फी लिनेहरूले भने पुलमा बसेर राम्रै आनन्द लिइरहेका छन् । ठोरीको पर्यटकीयस्थल प्रवेश गर्ने मुख्य द्वारमा नै पुल भएकोले यस क्षेत्रमा पर्यटकको भीडभाड दैनिक हुन्छ । ठुटेखोलामा निर्मित पुल पर्यटकका लागि सेल्फी लिने उपयुक्त स्थल भएको छ । पुलको उत्तर–पूर्वतर्फ देखिने ह्वाइटहिलको दृश्यलाई पुलसँगै कैद गर्दै सेल्फी लिनेको सङ्ख्या अत्यधिक देख्न सकिन्छ ।

त्यसैगरी, पुलको पश्चिमतर्फ धार्मिकस्थल सीता गुफा तथा सुमेश्वर पर्वतमाला देखिन्छ भने उत्तरतर्फ तालखोला, रानीवन, राईधारा लगायतका रमणीय स्थलहरू र दक्षिणतर्फ ऐतिहासिक भारतीय हाटबजार भिखना ठोरीलाई क्यामेरामा कैद गर्न सकिन्छ। यस कारण पनि यहाँ पर्यटकहरू सेल्फीमा रमाउने गरेका हुन्।

पूर्वतर्फ भारतीय पक्षले प्रयोग गरेका दुईवटा कुलोका कारण पुलसम्म सडक पुग्न नसकेको हो। नेपाली भूमिबाट लगेको कुलो पुरेर सडक बनाउन पाउनु पर्ने नेपाली पक्षको अडान छ भने कुनै पनि हालतमा कुलो पुर्न नदिने भारतीयहरूको अडान छ ।

शुक्रवार दिउँसो भारतको बेतियाबाट आएका रिजवान र साहिलको टोली पुलको विभिन्न स्थानबाट ह्वाइटहिललाई पृष्ठभूमिमा कैद गर्दै सेल्फी लिन व्यस्त थिए। ठोरीका विभिन्न पर्यटकीय स्थलमा घुम्न तथा वनभोज खाना आउनेहरूका लागि ठुटेखोलाको पुल अहिले सेल्फी स्पट बनेको होटल व्यवसायी दिनेश नेपालले बताए ।

नेपालले भने, “भारतीय पर्यटकहरू अधिकांश ह्वाइटहिलको रमणीय दृश्य सेल्फीमा कैद गर्छन् । भित्री नेपालबाट आउनेहरू भारतीय बजारलाई सेल्फीमा कैद गर्न रमाउँछन् । सबैभन्दा पुरानो नाकाको रूपमा रहेको ठोरी भारतीय पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको निर्मल–ठोरी उपभोक्ता समितिका कोषाध्यक्ष शम्भु गुरुङले बताए ।

पुल सञ्चालनमा आउन नसक्दा सानादेखि ठूला सवारी साधन ठोरी प्रवेश गर्नै ठूलो समस्या छ । सानादेखि ठूला सवारी साधन लिएर आउने भारतीय पर्यटकहरू निर्धक्क भएर ठोरी भित्रिने सडक भए भारतीय पर्यटकहरू बढ्ने गुरुङले बताए ।

पुल प्रयोगबारे अनिश्चितता

वीरगंज–ठोरी हुलाकी सडकखण्डको ठुटेखोलामा नवनिर्मित पुल प्रयोगमा आउनेबारे अनिश्चितता कायमै छ। पुल सञ्चालनमा ल्याउन राज्यपक्ष गम्भीर नबन्दा पुलको प्रयोगमा अनिश्चितता कायम रहेको स्थानीय शम्भु गुरुङले बताए । पुल तत्काल सञ्चालनमा ल्याउन स्थानीय तहले बारम्बार सरकारको ध्यानाकर्षण गराए पनि सरकारले समस्या समाधानमा चासो नदेखाएको स्थानीयको आरोप छ ।

पुलको पूर्वतर्पको किनारामा भारतीय पक्षले वर्षौंदेखि २ वटा कुलो सिंचाइको लागि प्रयोग गर्दै आइरहेको छ । भारतीय पक्षले कुलो पुरेर एप्रोच सडक बनाउन नदिएर विवाद सृजना गरेपछि ठेकेदार कम्पनीले काम गर्न नसकेको हो । भारतीय पक्षले नेपाली भूमिमा बग्ने खोलाको मुहानबाट वर्षौंदेखि २ वटा कुलो सिंचाइको लागि प्रयोग गर्दै आइरहेको छ।

पुलको आडमा नै दुईवटा कुलो सञ्चालन गर्न दिंदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेर एप्रोच रोड बनाउनुपर्ने नेपाल पक्षको अडान छ। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम पटकपटक भएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । अमर एन्ड मृत सञ्जीवनी कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयामा ४ वटा स्पान रहेको १ सय २ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण गरेको हो ।