-तामाङ समाज अमेरिका

नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति तामाङ समाज अमेरिकाको आपत्ति

Hollywood Khabar June 25,2019 Comments

मिति: जून २६, २०१९

प्रेस विज्ञप्ति ।

नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अर्थात प्रचण्डले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभको उद्घाटनको क्रममा नेपालका आदिवासी समुदाय तामाङ जाति प्रति अपमान हुनेगरी नश्लीय प्रोफाइलिंग (Racial Profiling) को भावना सहितको दृष्टान्त अभिव्यक्ति गरेकोमा तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ। प्रचण्डको उक्त नश्लीय अभिव्यक्तिको हामी घोर भ्रत्सना गर्दछौ।

देशको पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो नश्लीय भावना सहितको अभिव्यक्ति दिनु हामी तामाङहरुको लागि मात्र नभएर देश र समग्र नेपाली जनताकै निम्ति अपहेलना भएको हाम्रो संस्थाको धारणा छ। प्रचण्ड जस्ता राष्ट्रिय व्यक्तित्वले के बोल्दा अथवा कस्तो शब्दावली प्रयोग गर्दा नश्लीय प्रोफाइलिंग ठहर्छ भन्ने किन्चित चेतना नराख्नु उसको निम्ति ठुलो दुर्भाग्य हो।

यदि प्रचण्डले नश्लीय प्रोफाइलिंगको ज्ञानको अभाबमा त्यस्तो अभिव्यक्ति राखेका हुन् भने नश्लीय प्रोफाइलिंग के हो ? राजनीति तथा समाजमा यसका प्रभाब र परिणामहरु के हुन्छन् ? तत् सम्बन्धि प्रचण्ड र उसका कार्यकर्तालाई प्रशिक्षण दिन तामाङ समाज अमेरिका तयारी रहेको समेत जानकारी गराउन चाहन्छौ।

तसर्थ, प्रचण्डले तुरन्तै सार्बजनिक रुपमा माफी माग्न र अब उप्रान्त कुनै पनि संस्था वा व्यक्तिले नश्लीय प्रोफाइलिंग हुने भावार्थको अभिव्यक्ति नदिन हुन तामाङ समाज अमेरिका अनुरोध गर्दछौ। साथै, सामाजिक सदभाब र भातृत्वको सम्बन्ध सबै जातजातिबीच रहनुपर्छ भन्ने हाम्रो संस्थाको मान्यता छ ।

सानुमाया तामाङ

अध्यक्ष

तामाङ समाज अमेरिका