-बाल गुरुजी

स्वर्गमा उड्नको लागि हृदयमा सफा धडकनका सकारात्मक लय भर

Hollywood Khabar November 15,2018 Comments

विनोद रोका, न्यूयोर्क

मैले बालगुरुजीलाई भेटेको छैन। मेनुकाले भरखरै भेटिन, उहाको निवाशस्थानमा गएर गुरुजीसंग फोटो पनि खिचाइन। अनि मलाई १५ पटक फोन गरिछन, मेसेन्जरबाट गुरुजीको दर्शन गराननका लागि। तर म ध्यानमा रहेको हुदा उठाउन सकिन। ध्यानबाट निस्किएपछि मैले कलव्याक गरे। भिडियोबाट उहाको दर्शन पाए। अनि आफना भावहरु व्यक्त गरे। उहाले आर्शिवाद दिनु भयो। मेरा हर्षका आशु बगे। मैले आफूमा उहाको औलाले स्पर्श गरेको अनुभव गरे।

चिन्नेहरु सोध्नुहुन्छ, तपाई उहालाई भेटेर मन्त्र वा आर्शिवाद लिन कहिले जानुहुन्छ भनेर। मेरो चिनारी उहालाई नभएकै अवस्थामा कलियुगको आदित्य ज्योतिपथ किताब राजुजीबाट मैले न्यूयोर्कमा पाएको छु। त्यो किताबमा उहाले आफनो हस्ताक्षरमा “विनोदजी प्रेम भाव सहित अर्पित” भनि सही गर्नु भएको छ। आध्यात्ममा विश्वास गर्ने व्यक्तिहरुले यस्ता घटनालाई सामान्य रुपबाट ग्रहण गर्छन मैले यस्लाई आस्चर्य पनि मानिन।

ब्रम्हज्ञानी गुरुहरुमा यो विशेसता हुन्छ नै। त्यस्मा पनि बालगुरु जस्ले ५ बर्षको उमेरदेखि ९ बर्षको उमेरका बिचमा दिएका महर्षिका जस्ता ज्ञानामृत र बुद्धत्वको गहिराइमा पुगेका ज्ञानीले दिने ध्यानका गहिराईका अनुभुती हेर्दा लाग्छ उहाको चेतनाले स्पर्स नगरेको के र को होला।

मेरो हालसम्मको बुझाइले के निष्कर्ष दिन्छ भने, म शरिर, मन र बुद्धि होईन, अनि के हुत ? भन्ने जिज्ञासा उठनु स्वभाविकै हो। अहिले सम्म पढेका अनि सुनेका पूर्विय दर्शनका शास्त्र र गुरुहरुको भनइ वा अनुभवले दिने परिभाषामा नै फरक छ। कसैले जिवको स्वरुप शुन्य हो भन्छन, कसैले चैत्यन्य हो भन्छन। जो न कहिले जन्मन्छ नत मर्दछ। जन्मने मर्ने त शरिर हो। जुन अतृप्त संस्कारको कारण वा प्रारब्धले गर्दा हुने गर्दछ। अनि यो चैतन्य वा शुन्यको अनुभव आफैले आफैमा गर्न सकिन्छ। चैत्यन्य वा शुन्यको अनुभव गर्ने गुरुहरुले आफू भित्र गरेको अनुभव वा सत्य मेरो लागि सत्य भएर पनि सत्य होइन। जबसम्म मैले त्यो आफूमा अनुभव गर्न सक्दिन। यो आफैमा घटित हुने प्रकृयाको साक्षी आफै नभैकन कसरी विश्वास गर्नु र ?

यो आध्यात्मीक बाटोमा हिडने क्रममा मेरा धरै गुरुहरु हुनु भएको छ। मेरो मष्तिस्कमा जस्को भनाइले छाप छोडयो उहा पनि मेरो गुरु हो। म सबैलाई विश्वास गर्छु। धोखा दिने वा ठग्नेले पनि केही शिक्षा नै दिएका छन। यधपि यसबाट केही आर्थिक नोक्सानी र मानसिक तनाव भयोहोला। तर जिवन गएको छैन।

यसै क्रममा एक जना गुरुजीले मलाई एक दिन भन्नु भयो तपाई त जुन गुरु आए पनि विश्वास गरेर सहयोग गर्नुहुन्छ। गुरुहरु कस्ता हुन उनीहरुको बारेमा बुझ्नुपर्छ। मैले उहालाई भने, मेरो यही बानी हो, गुरुजी जस्ले गर्दा तपाईलाई पनि विश्वास गर्छु। यद्यपि कतिजनाले तपाईलाई पनि विश्वास नगर्नु भन्छन।

मेरो के विश्वास छ भने गुरुहरुबाट गरिने र हामीद्धारा देखिने चमत्कारका कुराहरु भनेका केटाकेटीलाई पढाउने वा सही बाटो देखाउने क्रममा दिइने मिठाई हुन। त्यस्तै गुरुले गर्ने वा गुरुद्धारा गरिएका चमत्कारी कार्य भनेको धर्मको बाटोमा हिडन प्रेरणा दिने प्रलोभन वा विश्वास हो।

गितामा कर्म गर फलको आश नराख भनिएको नियममा म विश्वास गर्छृ। मैले बुझेको धर्म भनेको पनि धारणा गर्ने कुरा हो। जसरी नहिडी पुगिदैन त्यसरी नै धर्मका नियमलाई आचरणमा ल्याई हृदयलाई प्रेम्मयी नबनाए सम्म गुरुले पनि मद्दत गर्न कठिन हुन्छ भन्ने ठान्दछु।

साधकले धर्मको आचरण इमान्दारीका साथ गर्दै जाने हो भने गुरुले आफै आएर वा संयोग मिलाएर मार्ग दर्शन गर्नुहुन्छ। मेरो अनुभव त्यस्तै छ। रजनिशले भनेझै गुरु भनेको एउटा क्याटलिटिक एजेन्ट हो जस्ले शिष्यमा रहेको दियो जलाउने कला सिकाई दिन्छ। तर तेल हाली दिदैन। भएको तेल देखाइदिन्छ। बाटो देखाइदिन्छ। काधमा बोकेर हिडदैन। जस्तोकी कालो बादलमा रहेको पानी बर्षनलाई बिजुलीको चमक नभई बर्षदैन।

त्यसैले बालगुरुलाई सशरिर भेटेर दिक्षा नलिई छोडदिन भन्ने हतार म पनि छैन। उहाले कितावमा पनि भन्नु भएको छ “तिमी मसंग स्वर्गमा उडन चाहान्छौ भने आफनो हृदयलाई सफा गरी त्यस्मा धडकनका सकारात्मक लय भर।” जुन म गरी रहेकै छु, विश्वासका साथ। यदि मलाई यो कामको सिलसिलामा मार्ग निर्देशन वा सहयोगको जरुरत प-यो भने गुरुले आफै संयोग मिलाउनुहोला। वा आफनो औराबाट मलाई ध्यानको समयमा सम्प्रेषण गर्नु होला।

म प्राणिक हिलिंकको विद्यार्थी पनि भएकोले मलाई यो विज्ञानमा विश्वास छ। किनकि औरा मार्फत टाढा टाढाका व्यक्तिहरुमा सकारात्मक वा नकारात्मक भावहरु सम्प्रेषण गर्न सकिन्छ। हेईन भने मैले आफनो हृदय नै सफा नगरिकन उहासंग कसरी उडने ? म के माग्न जाने ? के सोध्न जाने ? पाठै नपढी गएको विद्यार्थीलाई गुरुजीले के सिकाउने अनि के दिने ?

बालगुरुजीले अहिलेसम्म केबल २७ जनालाई मात्र दिक्षा दिनु भएको र दिक्षा पाउनका लागि नाम लेखाउनेहरुको लामो लिष्ट छ। उहाँद्धारा लिखित पुस्तक पढदा दिक्षा दिइएका शिष्यहरुलाई पनि १ प्रतिशत पनि दिक्षाको पालना गर्न नसकेको गुनासो गर्नुहुन्छ रे । अब म यो लाइनमा संख्या बढाउन मात्रै हतार गरेर किन जानु हृदय सफा नगरिकन।

यो हृदय सफा गर्ने बाटोमा म बिस्तारै हिडदैछु। मेरो मान्यता के छ भने ढिलो हिडे पुगिन्छ कुदेमा भन्न सकिन्न। यो बाटोको लम्वाई कति छ र गन्तव्यमा कहिले पुगिन्छ सायद कसैले भन्न सक्दैन। त्यसैले इमान्दारीका साथ धर्मले बताएको नियममा हिडने कार्य साधकको हो। मलाई लाग्छ यो यात्राको गन्तव्यमा त्यही दिन पुगिन्छ जुन दिन पुगिन्छ। न यो गन्तव्य टाढा छ न त यो नजिक छ। जुन दिन मनको चाहा र बिचार सकिन्छ मलाई लाग्छ त्यसैदिन गन्तव्य पनि हराउछ। अनि पुग्ने ठाउँ पनि बिलाउछ, जसरी बरफ पानीमा हराउछ।

मैले काठमाण्डौमा रहदा जिवनको पिडादायीक अवस्थामा संर्घष गरिरहेको थिए। १९९३ मा एकजना मित्रबाट विपश्यनाको १० दिवसिय शिविरमा भाग लिने सल्लाह पाए। त्यहि बेला पुज्युगुरु सत्यनारायण गोयन्काज्यु काठमाण्डौमा आउनु भएको रहेछ। मैले उहाको उपस्थिती रहेको शिविरमा दिक्षा ग्रहण गर्ने अवशर पाए। त्यसपछि तिनवटा शिविर लिए। सत्तिपठन लिन्छु भन्ने समयमा १९९८ मा म न्युर्योक आए। अनि निरन्तर यो साधना गरि रहे र यहा पनि एउटा शिविर लिए।

मलाई सत्तिपठन लिन नपाएकोमा केही पुगेन जस्तो लागेको थियो। किनकि मन्त्र, चक्र र कुण्डलीनी जस्ता प्रकृयाहरुलाई विपश्यना भित्र प्रयोग गर्दा के होला ? भन्ने जिज्ञासा जाग्दथ्यो। यहि बिच न्युर्योकमा स्वामी बालकृष्ण काठमाण्डौबाट आउनु भयो। उहाको लागि कार्यक्रम गरियो। उहाका कुरा सुन्दा मलाई लाग्यो मैले खोजेको जस्तै गुरु पाए। सायद धेरैले त्यसबेला उहासंग दिक्षा लिएनन। मैले पनि त्यो बर्ष लिइन। किनकि केही साधक साथीहरुले उहाको उचाई र औरामा संका उठाए। अर्को बर्ष पनि उहा न्युयोर्क आउनु भोयो। उहाँले मलाई भन्नुभयो साधना गर्ने शिष्यहरु हुदैनन। किनकि मान्छेलाई केही नगरि चमत्कारी परिणाम दिने गुरु चाहिन्छ।

उहाको भनाईलाई निरन्तरता दिदै भन्नुभयो-मलाई लागेको थियो तपाई एकजनाले यो साधनाको दिक्षा लिनुहोला भनेर न्युर्योक पसेको हु। उहाले विपश्यना साधानाको चर्चा गर्दै आफनो जिवनका घटेका चमत्कारीक घटनाहरु सुनाउनु भयो।

बुद्धको देहावसान पछि त्यही धर्मका अनुयाहीहरुले महायान, हिनयान र बज्रयान आदि शाखाहरु बनाएको अनि ती शाखामा ध्यानसंगै मन्त्र-तन्त्रको प्रयोग हुने गरेको दृष्ठान्त पनि दिनुभयो। त्यो सम्प्रदायमा प्रचलित अतियोगको अध्ययन गर्ने सुझाब दिदै आफुद्धारा गरिएको साधना वैदीक धर्ममा आधारित रहेको जानकारी दिनु भयो।

मैले उहाले भनेका बिषयमा अध्ययन गरे। अनि मलाई लाग्यो गुरु मेरै लागि आउनु भएको रहेछ अनि मैले दिक्षा लिए। यसपछि पनि गुरु डा रमानन्द गिरी, आत्मानन्द गिरी, नेपाली बाबा, साईबहिनी र अन्य धेरै गुरुजी घरमै आएर मेरा कतिपय धार्मिक जिज्ञासाहरु मेटाई दिनु भएको छ। शीरीडी र पुटृवर्ती जाने शौभाग्य मिलेको छैन। तर साईभक्तहरुको संगत र भजन मण्डलीमा पुगेर साईकृपा पाएको छु।

केही साईभक्तहरु त बाबाले सपपनामा तपाइकहा जाउ भनेर आएको पनि भन्ने गर्नुहुन्छ। मैले जिस्कदै भन्ने पनि गरेको छु, ख्वै मलाई त त्यसो भन्नु भएन। उनीहरुको विश्वासले चिताएको काम पुगेको पनि देखेको छु। किनकि श्रद्धा र सवुरीले मान्छेलाई परिणाम दिने हो।

त्यस्तै रजनिश, सदगुरु, बेनप्रभु र अन्य गुरुहरु पनि धेरै हुनुहुन्छ। गुरु जिवित वा मृत जो पनि हुन सक्छ। किनकि उन्का औराहरु चारैतिर छरिएका छन। उनीहरुले बोलेका अनि लेखेका आधारबाट महसुस गर्न सकिन्छ। पण्डित श्रीराम शर्माज्युले यही कुरालाई आफना कृतीहरुमा भन्नु भएको छ। योगीको आत्माकथा आदिमा पनि यस्ता धारणाहरु छन। मैले राजुजी र पन्थीदाईको संगतबाट यही बसेर गायत्री परिवार सम्म पुग्ने अवसर पाएको छु। मेरो दिनचर्यामा गायत्रीमन्त्र अनि योग जोडिएको छ। ललितशंकर योगीजीले सिकाई दिएको आशन संगै। यसरी मलाई आवस्यक परेको बेला व्यक्तिगत वा अन्य माध्यमबाट धेरै गुरुहरुले मार्ग दर्शन गराउनु भएको छ। उहाहरु प्रति म आभारी छु।

मैले कुनै गुरुहरुले भनेका कुरामा विरोधाभाष देखेको छैन। उहाहरुले आ-आफनो भाषामा पानीको परिचय दिनुहुन्छ तिर्खा मेटाउनका लागि। शव्द फरक छन पानी एउटै। पाउने भनेको शुख, शान्ति र आनन्द केवल साधानहरु फरक। हिडने हो भने जुन बाटोबाट गए पनि पुगिन्छ। हेउन भने गुरुले देखाएका बाटाहरुको जानकारी केबल पाण्डीत्यताको लागि मात्र हुन्छन।

मलाई लाग्छ सबै गुरुले भन्न खोजेको बिषय एउटै हो जस्लाई शव्दले बाध्न सक्दैन। स्वस्थानीको कथामा भनिएझैँ ह्जार जिब्रा भएको शेषनागले पनि बर्णन गर्न नसक्ने त्यो निराकार र आकारमा रहेको। दिनपक्ष देखिदा रात पक्ष नदेखिने समस्त चैत्यन्य स्वरुपको व्याख्या कुन गुरुले शव्दमा भन्न सक्लान र ?

कतिपय गुरुजीहरुले धर्ममा विवाद छ भन्नुहुन्छ। तर म शिव, कृष्ण, अष्टाबक्र, बुद्ध, कविर, महाबीर, मोहम्मद, ईशु, साई, रजनिश र सदगुरु आदिले धर्मका एसेन्सका बारेमा भनेका कुरामा कुनै विवाद देख्दिन। सायद यो मेरो अल्पज्ञानको कारणले पनि होला। विवाद देखिने हदसम्मको ज्ञान पनि म मा नआओस कहिले पनि।