शैलजा आचार्यलाई संझदा

0
shares

by Krishna KC | Updated: 11 Jun 2019

235 views
-सुरेन सापकोटा

सुरेन सापकोटा/न्युयोर्क/जुन ११, २०१९

नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको जन्म बिसं २००१, बैशाख २६ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो। समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुनुहुन्थ्यो।

वहाँको पारिवारिक सम्बन्ध नै राजनैतिक प्रकृतिको थियो। कृष्णप्रसाद कोइरालाको पहिलो श्रीमती मोहन कुमारी कोइरालाबाट मातृका प्रसाद जन्मनु भएको थियो भने छोरी इन्दिराको कोखबाट शैलजा। कान्छी श्रीमती दिव्या कोइरालाबाट बीपी कोइराला, केशव कोइराला, तारिणी प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनु भएको हो।

पिता डा पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बीपी कोइरालाको सान्निध्यमा राजनीतिक यात्रा शुरु गर्नुभयो। अनि आफ्नो मृत्यु पर्यन्त बीपीको विचार र नेपाली काङ्ग्रेसप्रति निष्ठासाथ उभिनुभयो।

शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्र पङ्तिमा हुन्थ्यो। पुस १६, २०३३ मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै नेपाल फर्कने नेताहरुमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि वहाँले पहिलो समूह मै नेपाल आउन रुचि देखाउनुभयो। निरंकुश र बदलाको भावको अवस्थामा रहेको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो कोहीलाई कठिनाई थियो। त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो।

वि.सं. २०१७ सालमा राजा महेन्द्रलाई सार्बजनिक स्थलमै कालो झण्डा देखाएका कारण राजनैतिक कैदीका रुपमा ३ वर्ष जेल जिवन बिताउँनु भएकी आचार्य विसं २०४८ सालको आमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई करीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्रीको रुपमा काम गर्नुभयो। विसं २०५१ सालको मध्यावधि निर्वाचनमा वहाँ पुनः मोरङ क्षेत्र नं ७ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो।

निर्वाचित भएसँगै महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई आफ्नो मंत्रालयमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झिने गरिन्छ। आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितीका बिरुद्ध कुरामा खरो उत्रने आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजिनामा नेपाली राजनीतिमा उदाहरणिय घटना हो।

उहाँले देशका परियोजनामा सामुदायिक स्वामित्व स्थापित हुनुपर्छ भन्दै जलस्रोतमा सामुदायिक बिधुत नीति लागु गर्नुभएको थियो। नेपालका लागि भारतीय राजदुत समेत रहनु भएकी आचार्यलाई एक सफल कुटनितिज्ञका रुपमा समेत लिने गरिन्थ्यो। तत्कालीन भारतीय प्रधानमंत्री चन्द्रशेखर र शैलजालाई राजनैतिक र बैयक्तिक रुपमा समेत एक नजिकको मित्रको रुपमा समेत हेर्ने गरिन्थ्यो।

आम रुपमा शैलजा एक सामाजिक अभियन्ता समेत हुनुहुन्थ्यो। महिला हकहितको सवालमा पनि वहाँले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। महिलाका हकअधिकारका प्रावधान समेटिएको मुलूकी ऐनको एघारौं संशोधन ल्याउनमा आचार्यको योगदान रहेको छ। आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर वहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो। जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो। त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ।

प्रतिकुल परिस्थितिमा पनि धैर्य र साहशका साथ आफूलाई उभ्याउने शैलजा आम नेपाली र बिशेषगरि नेपाली महिलाका लागि प्रेरणाको स्रोत नै बन्नुभयो ।लामो समय अल्जाइमर र निमोनियाबाट पिडित नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला आचार्यको अन्तत: काठमाण्डौस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ६५ बर्षकै उमेरमा बिसं २०६६ जेष्ठ २९ गते आजकै दिन निधन भएको थियो ।

आज नेपाली कांग्रेस पार्टीभित्रै मौलाएको नेतृत्वको महत्वाकांक्षा र गुटगत राजनितीमा रमाउने नेताहरुको परिपाटी, बेथिती र हुर्कंदै गएको राजनैतिक बिसंगतीलाई चिर्दै उहाँले देखाएको शाहस, इमान्दारिता, त्याग र निष्ठाको मार्गमा अगाडि बढ्नसके मात्र शैलजाप्रति सच्चा अर्थमा श्रद्धाञ्जली हुनेछ ।