-Nepal America Journalist Association, Official LOGO

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष पन्तद्वारा राजिनामा, काबा अध्यक्ष न्यौपाने

Hollywood Khabar July 14,2019 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आइतबार बसेको बैठकले कार्यवाहक अध्यक्षमा विकास राज न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

नेजाका अध्यक्ष सुदीप पन्तले घरायसी तथा पारिवारिक कारण दर्शाउँदै शुक्रबार दिनुभएको राजिनामालाई स्विकृत गर्दै बैठकले वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेजाको विधानको धारा ५.१.३ बमोजिम वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

बैठकले एक वर्षको अवधिमा पु¥याएको योगदानको लागि पन्तलाई धन्यवाद ज्ञापन पनि गरेको छ । सन् २०१८ को जुलाईमा वासिङटन राज्यको सियाटलमा भएको नेजाको १२ औं साधारण सभाले पन्तको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो ।

नेजाको बैठकले संस्थाको गतिविधिमा कुनै पनि प्रकारको अवरोध नआउने र अझै तीब्र रुपमा गतिविधि अघि बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल लगायत सल्लाहकारहरु तारा बराल, आङछिरिङ शेर्पा, गौतम दाहाल र भोला आचार्यको समेत उपस्थिती थियो ।

अमेरिका र क्यानडामा रहेका नेपालीमुलका पत्रकारहरुको साझा संस्था नेजा सन् २००७ मा स्थापना भएको हो । यसले अमेरिका र क्यानडामा रहेका नेपाली समुदायको आवाजलाई संसारभरिका नेपाली माझ पुर्याउनुका साथै सामुदायिक गतिविधिमा समेत सकृय सहयोग गर्दै आएको छ । बैठकले न्यौपानेको नेतृत्वमा संस्थालाई अझै उचाईमा लैजाने प्रतिवद्धता जनाएको छ ।

(किरण महरहठ्ठा)

महासचिव

July 14, 2019