हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

Hollywood Khabar September 20,2017 Comments

सुकदेव चापागाईं/काठमाडौं
२५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए। उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् ।
लामा यति लामो समयपछि सांगीतिक क्षेत्रमा कम ब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो। आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए। उनी भन्छन्, “म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ। म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर अब म गायन क्षेत्रमै फर्किएको छु।”   
‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो। जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले संगीत दिएका थिए। यही गीतलाई पुन एरेन्ज गरेर लामाले नयाँ तरिकाले बजारमा ल्याउने तयारी गरेका छन् । यो गीतको म्युजिक भिडियो समेत बन्ने तयारीमा छ । निर्देशक सञ्जय पाण्डेले यो गीतको भिडियो तयार गर्दैछन् ।
लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए। त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात फिल्म क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो फिल्म सीमारेखा थियो। जुन फिल्म २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा फिल्मको अफर आएको उनले बताए।
‛एउटी सुन्दरी म माथि मर्छे’ र ‛पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत उनका त्यतिबेलाका चर्चित गीत थियो। उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन्। आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा छन् । गएको वर्ष रेडियो नेपालबाट लामाले विशिष्ठ गायकको सम्मान पाएका थिए । उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको उनको भनाई छ।
ट्राभल एजेन्सीमा जागिरे जीवन बिताईरहेका गायक लामाले ‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीतपछि लगत्तै अर्को गीत रेकर्डिङ गरेर बजारमा ल्याउने तयारी गरेका छन्।