सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

Hollywood Khabar January 17,2018 Comments

सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर ! आज मिति २०७४ माघ ४ तद् अनुसार १८ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।
सहमती पत्रमा कमलामाई नगरपालिकाकाको तर्फबाट प्रमुख खड्ग खत्री र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गर्नु भयो ।
सिन्धुली गढीको किल्लाले आधुनिक नेपाल निर्माणको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ । यसले नेपाली सेनाको गौरवमय इतिहासलाई प्रतिविम्वित गर्दछ । सिन्धुली गढीको लडाईमा त्यस बखतको गोरखा सेनाले अंग्रेज सेनालाई हराए पछि नै नेपालको एकीकरण सम्भव भएको कुरामा मतैक्यता रहँदैन । महत्वपूर्ण ऐतिहासिक धरोहरहरु बोकेको सिन्धुली गढीको धरोहरहरु जोगाई राख्नु आवश्यक भएको र यस स्थानको पर्यटकीय सम्भावनाहरु पनि प्रचुर भएकोले सिन्धुली गढीको ऐतिहासिक र आर्थिक संभावनाको महत्वलाई समेत मनन गरी गैरआवासीय नेपाली संघले सिन्धुली गढीको गुरु योजना तयार पार्न पहल गरेको हो । गुरु योजना तयार पार्नुको उद्देश्य आफैले संरचना निर्माण गर्नु भन्दा पनि पुराना संरचनाको पुरातात्विक महत्वलाई जगेर्ना गर्नु र अबको निर्माण कार्यमा ऐतिहासिक धरोहरलाई जोगाई राख्नु हो । गुरु योजना सबै सम्बन्धित पक्षको सहभागीतामा तयार पारिने छ र यसरी तयार गरिएको गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमती भएको छ ।
हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व पुनर्स्थापना गर्ने उद्देश्यले बनाईने बृहद् गुरु योजना निर्माण सम्बन्धी काम गैरआवासीय नेपाली संघले सम्बन्धीत पक्षहरुको सहयोगमा गर्ने छ । गैरआवासीय नेपाली संघले गुरुयोजना निर्माण गर्दा सिन्धुली गढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्नेछ  ।
गुरुयोजना निर्माण गर्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय गरिनेछ । आवश्यक पर्ने कानुनी तथा व्यावहारिक पक्षको समन्वय कमलामाई नगरपालिकाले गर्ने सहमति भएको छ । गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको समेत व्यवस्थापन गर्नेछ । उपरोक्त गुरुयोजना सम्झौता भएको मितिदेखि ६ महिनाभित्रमा गैरआवासीय नेपाली संघले कमलामाई नगरपालिकालाई हस्तान्त्तरण गर्ने लक्ष रहेको छ ।
यस कार्यक्रममा सिन्धुली जिल्लाका प्रत्यक्ष तर्फका प्रतिनिधि सभा निर्वाचित हरीबोल गजुरेल र नगर प्रमुख खड्ग खत्री लगायतले सिन्धुली गढीको इतिहास र हाल त्यहां रहेको एतिहासिक धरोहरको अवस्था बारे जानकारी गराउनुका साथै यस गुरुयोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष भवन भट्टले यस गुरुयोजना तयार पार्ने क्रममा सहयोग गर्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्नु भयो । उहाँले इतिहासबाट सिक्नु पर्ने र संस्कृतिको सम्बर्धन पनि आवश्यक भएको धारणा राख्नु भयो ।
यस कार्यक्रममा संघका अध्यक्ष लगायत प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री हरिबोल गजुरेल, तीन नम्वर प्रदेश सभाका  सदस्य विनोद खड्का र प्रदिप कटुवाल, कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्री, पूर्व सहायक रथी डा= प्रेमसिंह बस्न्यात र सिन्धुली जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सरोकारवालाहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संघका सचिव तथा सिन्धुलीगढी अभियानका संयोजक डिबि क्षेत्रीले यस कार्यक्रमको संयोजनका साथै संचालन गर्नु भएको थियो । यसका अलावा आजको कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता भ"षण घिमिरे, एशिया प्रशान्त क्षेत्रका संयोजक किरणविक्रम थापा र आइसिसि सदस्यहरु, गैरआवासीय नेपालीहरु र संघको सचिवालयमा कार्यरत व्यक्तिहरुको सहभागीता रहेको थियो ।
भूषण घिमिरे
प्रवक्ता,
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद
सन् १८ जनवरी २०१८