सिन्धुलीको मान्छेले ललतिपुरको समाचार लेखेको भन्दै प्रदेश सांसदले संपादक पिटे

0
shares

by Krishna KC | Updated: 20 Jul 2019

252 views
-प्रदेश ३ क का प्रदेश सांसद राजकाजी महर्जन

ललितपुर/७/२०/१९

ललितपुरका सत्तारुढ दल नेकपाका प्रदेश सांसद महर्जनले दैनिकीन्युज डटकमका सम्पादकलाई कार्यक्रम स्थलको कोप्चामा लगेर पिटेका छन्।

जुलाई २०, २०१९ शनिबार आयोजित पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएका दैनिकीन्युज डटकमका सम्पादक सम्पादक रामहरि कार्कीलाई प्रदेश ३ क का प्रदेश सांसद राजकाजी महर्जनले कोप्चामा बोलाएर पिटेका छन्।

सांसद महर्जनले एकान्तमा बोलाएर तँ सिन्धुलीको मान्छेले ललितपुरको समाचार लेख्ने अधिकार छैन भन्दै पिटेका हुन्। नेपाल पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रहेका संपादक कार्कीलाइ कार्यक्रम स्थलमै यस्तो हातपात गर्दा उपस्थित रहेका नेकपाको पत्रकार संस्था प्रेस संगठनका सहसंयोजक गणेश बस्नेत भने नदेखेको जस्तो गर्दै भागेका थिए।

प्रदेश सांसद महर्जनले विभिन्न अश्लील शब्द प्रयोग गर्दै संपादक कार्कीलाई बेपत्ता पार्ने मात्र होइन ज्यानमाथि कै खतरा रहेको धम्कि दिएका छन्। सांसद जस्तो गरिमामय पद भएको व्यक्तिले समाचारकै बिषयलाई लिएर पत्रकार कुट्नु भनेको दुइ तिहाइको सत्ताको दादागिरी हो भन्ने प्रष्ट भएको छ।

सो बिषयमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सत्तारुढ दलकै जिम्मेवार जनप्रतिनिधिले गरेको यस्तो हर्कतले स्वतन्त्र प्रेसकै खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन्। स्मरण रहोस राजकाजी महर्जन संविधान सभा २०६४ का प्रतिनिधि सभा सदस्य र नेकपाको ललितपुर जिल्ला सचिव समेत हुन्।

यसबारेमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले बुझ्न खोज्दा सांसद महर्जनले फोन रिसिभ नगरेको पनि बताइएको छ।