साङ्केतिक तस्बिर:साभार वेब

श्रीमान हत्या लुकाउन हत्यारासँग पैसा लिएको आरोपमा श्रीमती पक्राउ

Hollywood Khabar August 18,2019 Comments

३ भाद्र भोजपुर।श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको आरोप मा महिलालाई प्रहरीले पक्राउ गरेको छ।हत्यारासँग पैसा लिएर आफ्नै श्रीमानका हत्याको घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वरकी मिना मिजारलाई पक्राउ गरेको हो। 

गएको २०७४ माघ २७ गते पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले घर नजिकै रहेको चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनु भयो।घटनापछि हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । 

हत्या गरेको केही महिनापछि मृतककी श्रीमती मिनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको प्रहरी निरीक्षक राजवंशीले बताउनु भयो।घटनामा अन्य आरोपीहरु मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको खुल्न आएको प्रहरी कार्यालयले जनाएको छ । 

मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको प्रहरीले जानकारी दिएको छ।आफ्नै पतिको हत्याराबाट लिएको रकम भोजपुर सदरमुकामको एक सहकारी संस्थामा मिनाले जम्मा गरेको खुलेको छ।सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजार सासूलाई भैँसी किन्न दिएको मिनाले बयान दिएकी छिन्। 

जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो।बेनामे पत्रमा भिरबाट लडेर ज्यान गुमाएका भनिएका पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले भिरबाट धकेलेर हत्या गरेको उल्लेख गरिएको छ ।