चलचित्र “शिरफूल” को निर्धारित समयमै छायांकन सकिएको छ

Hollywood Khabar January 09,2017 Comments

चलचित्र ‘शिरफूल’ को निर्धारित समयमै छायांकन सकिएको छ । चलचित्रको ३५ दिनमा छायांकन सक्ने निर्माणपक्षले लक्ष्य लिए अनुरुप चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले जानकारी दिनुभयो। पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण  भईरहेको ‘शिरफूल’को छायांकन सकिएको एक कार्यक्रमबीच जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै निर्माता आर्शीवाद पुनले भन्नुभयो अब एउटा गीतको मात्र छायांकन बाँकी छ , अरु दृश्यको छायाँकन सकिएर सम्पादनमा पुगेका छौं ।’ चलचित्र ‘शिरफूल’मार्फत निर्देशकदेखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको डेब्यु निर्देशन चलचित्र हो भने यसै चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले पनि अभिनयमा डेब्यु गर्दैछन् । थुप्रै म्युजिक भिडियोको निर्देशन गरेर चलचित्र निर्देशनमा डेब्यु गरेका कमलले भने, ‘चलचित्र शिरफूल सोचेभन्दा राम्रो बनेको छ । अरु कुरा सिनमा हलमा आएपछि दर्शकले मूल्यांकन गर्ने हो ।’

चलचित्रमा आधुनिकताको बढ्दो प्रभावसँगै मुख्य विषयवस्तु बनाइएको छ । निर्देशक कमलका अनुसार ‘शिरफूल’ नारीप्रधान चलचित्र हो । उनले भने, ‘यो चलचित्रले युवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्छ जबकि प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको छ ।’ चलचित्रमा अभिनेत्री रुपा राना बाहेक अधिकांश थिएटरका कलाकार छन् । ‘शिरफूल’मा विनिता मगर, राज थापा, रुपा राना, देव आले मगर, पुजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ । सिद्धान्त एस।पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन् । यो चलचित्रको छायांकन काठमाडौंका आलावा तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ ।