शारदा श्रेष्ठ/लस एन्जलस

खोई दशैं: ढिकीच्याऊ गर्दै धान र चिउरा कुट्दा पो दशैं आए जस्तो लाग्थो

Hollywood Khabar October 17,2018 Comments

शारदा श्रेष्ठ/लस एन्जलस

दशैं आयो भन्दै औंलामा गन्दै
३ महिना २ महिना १ महिना भन्दै
दिनहरू गन्दा पो दशैं आएजस्तो लाग्थो ।

रातो माटो कमेरो डोकोमा नाम्लो राखी बोकेर ल्याउँदा
घर टालोले पोत्दा पो दशैं आए जस्तो लाग्थो ।
दशैं आयो भन्दै …..
औंलामा गन्दै.......

ढिडो र च्याख्ला छोडेर मसिनो चामलको भात थुप्रै परिकार
एक बर्ष पालेको खसिको मासु
राम्रो नाना लाउन पाउँदा
पो दशैं अए जस्तो लाग्थो ।
दशैं आयो भन्दै ....
औंलामा गन्दै .....

दशैं आयो भन्दै ढिकीच्याऊ गर्दै धान र चिउरा कुट्दा पो
दशैं आए जस्तो लाग्थो
परदेशबाट परदेशी भरियालाई
भारी बोकाई रेडियो घन्काउँदै आउँदा
लींगे पिंगमा मच्चिन पाउँदा
रोटे पिंगमा फन्को मार्न पाउँदा पो दशैं आएजस्तो लाग्थो।
दशैं आयो भन्दै...
औंलामा गन्दै

बुबा आमाको हातबाट टिका लगाएर पैसा पाउँदा
मामा घर गएर आशिर्वाद र पैसा पाएर
छ्यांम छ्यांमती गन्न पाउँदा पो दशैं आएजस्तो लाग्थो ।
खै त्यो बालापनको दशैं कता गयो । किन्न पाउने भए सर्वस्व नै दिएर पनि किन्ने थिए
तर बिपनिमा नपाए पनी सपनीमा आउँदो रहेछ ।
धन्य दशैं ...!!!