दिपक कुमार बिष्ट

सेल्फी:उचित नितीको खाँचो

Hollywood Khabar January 26,2018 Comments

हिजो आज युवा पुस्ता हरुमा सेल्फि मोह बढ्दो छ।सेल्फी खिच्ने लहर पनि उत्तिकै बढ्दो छ। युवापुस्ता सेल्फीमा निकै रमाउने गरेको छ।सेल्फीको लतमा नेतादेखि अभिनेतासम्म रमाउँदैछन्।सेल्फी खिच्ने जोडीको हाउभाव पनि हेर्न लायक हुन्छ।युवा मात्रै हैन हरेक उमेर समूहमा सेल्फीमोह बढ्दो छ। मोवाइलको प्रयोगसँगै मोवाईलले भित्र्याएको ‘सेल्फी कल्चर’ ले राजधानिसहित देशका सबैजसो सहरलाई गाँज्दै लगेको छ। सहरीया युवा पुस्ता सेल्फीको लतमा चुर्लुम्मै डुबेको छ।

काठमाण्डौं शहरका ठूला सपिङ सेन्टर, मल, रेस्टुरेन्ट तथा पर्यटकीय क्षेत्रमा होस् वा घर, अफिसको प्राङ्गण वा कार्यालयका कार्यकक्षसम्म,सेल्फी कहाँ छैन? भान्छा कोठा, कार्यालय, अस्पताल, स्कुल–कलेज, संसद भवन, सिंहदरबारदेखि गाउँका कुनाकाप्चासम्म सेल्फी संस्कृति मौलाएको पाईन्छ।त्यतिमात्र होईन विध्यालय क्षेत्रलाई मोबाईल निषेधित क्षेत्र भनेर आम संचारमाध्यमबाट सुन्नमा आए पनि विध्यार्थी तथा शिक्षकहरुका फेसबुक वालमा देखिने गरेका सेल्फि तस्बिरहरुले विध्यालय होस वा कलेज क्षेत्र सेल्फि संस्कृतीको अम्मलबाट उम्कन सकेको पाईन्न।एक सरकारी उच्च ओहोदाकी महिलालाई मङ्गलबजार स्थित कृष्णमन्दिर प्राङ्गणमाआफ्नी छोरीसंग सेल्फि खिच्दै गरेको देखेर मैले सोधेको थिएँ सेल्फिमा खिच्न मजा कि हेर्नॽमेरो प्रश्नको जवाफमा उहँले भन्नु भएको थियो-‘ सेल्फी खिच्न मलाई असाध्यै मजा लाग्छ, सेल्फि खिचेपछि हेर्न झनै मजा लाग्छ अझ आफ्ना सेल्फी फोटोहरु सामाजीक संजालमा राखेर त्यसमा आउने लाईक र कमेन्ट हेर्न झनै मजा लाग्छ ।

रमाईला पर्व तथा खुशीयाली उत्सवहरुमा त सेल्फी फोटो लिन उपयुक्त हुन्छ र सुहाउँछ पनि तर शोकका घडिमा जस्तो कि दुर्घटनामा मरेका लाश छेउमा उभिएर या पशुपति आर्यघाटमा लाशको दाहासंस्कारको तयारी गरिरहदा होस वा लाश ब्रह्मनालमा राखीरहदा होस वा लाश चितामा राखीरहदा चिता छेउ बसेर सेल्फी खिच्ने प्रवृत्ति र सामाजिक सञ्जालमा राखिएका तस्बिरका कारण आलोचित भएका र भाइरल भएका घटनाहरु सायद धेरैलाई याद हुनुपर्छ।

सेल्फी खिचेर सामाजिक संजाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा पोष्ट गर्ने क्रम बढ्दो छ।यसरी युवाहरुमा बढेको सेल्फि मोहले विभिन्न दुर्घटनाहरु निम्त्याई रहेको कुरा अनलाईन न्युजहरु तथा पत्र पत्रिकाहरुमा आउने समाचारहरुले देखाउने गरेको छ।यसको ताजा उदाहरण केहि दिन अघि मात्रै भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको ‘सेल्फी’ भिडियो चर्चित रह्यो।जुन सेल्फि भिडीयो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन्। व्यायाम प्रशिक्षक टि सिभाले छेउ मै रहेका व्यक्ति तथा रेलका चालकले दिएको चेतावनी समेतलाई बेवास्ता गरि सोको उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा जनावरी २१ मा उक्त भिडियो खिचेका थिए।त्यसरी‘सेल्फी’ भिडियो खिच्दा उनी बाल बाल बाँचे।उक्त दुर्घटनामा सिभा बाँच्न त सफल भए तर उनको टाउकोमा भने चोटपटक लागेको थियो।२१ सेकेण्ड लामो उनको भिडियो समाजिक सञ्जाल फेसबुकमा हजारौँ जनाले हेरेका छन्।त्यसमा उनको नजिक एमएमटिएस रेल आउँदै गरेको देखिन्छ ।सो भिडियोमा नजिकैको व्यक्तिले चेतावनी दिइरहेको र रेलले हर्न बजाएको पनि सुन्न सकिन्छ। सिभा उभिरहन्छन् र एक मिनेट भन्दै भिडियो खिचिरहन्छन्।त्यसपछि उनको टाउकोको दायाँ छेउमा रेलले ठक्कर दिन्छ र उनी भुँइमा लड्छन् र उनको फोन खस्छ। २१ सेकेण्डको सेल्फि भिडियो देखिएको यो दृश्यका कारण उनी अदालत सामु उपस्थित हुनु पर्यो त्यति मात्र होईन उनको यो हरकतलाई अदालतले आम जनमानसमा नकारात्मक असर पुर्याउने कार्य भन्दै उनलाई भारू पाँच सय जरिवानासमेत गरेको थियो।

नेपालमा सेल्फी खिच्ने क्रममा के कति दुर्घटना भए र दुर्घटनामा के कति जनाको मृत्यु भयो भन्ने यकिन तथ्य हाल सम्म राखिएको प्रहरीको तथ्याङ्कमा पनि देखिदैन।नेपालमा कुनै पनि स्थानमा सेल्फी खिच्न प्रतिबन्ध लगाइएको छैन।गत फाल्गुनमा सेल्फी खिच्ने क्रममा दुई युवती नारायणी नदिमा  खसेको र सो घटनामा एक युवती बेपत्ता भएको बाहेक अन्य त्यस्ता घटना चर्चामा आएको पाईदैन। सो घटना बाहेक  नेपालमा सेल्फीकै क्रममा खासै दुर्घटना भएका घटना बाहिर वा चर्चामा वा आम आएका छैनन्।

झट्ट हेर्दा साधारण लाग्ने सेल्फी संस्कृति,यसले समाजमा पार्ने सका।त्मक वा नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान हुनु जरुरी छ।सेल्फी प्रति युवापुस्ताको बढ्दो मोहका कारण थोरै र गन्न सकिने नै भए पनि घटनाहरु घटन थालेपछि यस तर्फ राज्यले ध्यान पुर्याउनुपर्ने देखिन्छ। सेल्फी संस्कृतीले निम्त्याउने घटनाहरु बढ्न नदिन कस्ता ठाउँमा सेल्फीखिच्न दिने वा कस्ता ठाउँमा सेल्फी खिच्न नदिने भन्ने एकिन गरि त्यस बिषयमा निती नियम हुनु जरुरी देखिईसकेको छ।यस तर्फ राज्यको ध्यान जाओस।