साउने सङ्क्रान्ती,साउनको सोमबार र साउन महात्म्य

Hollywood Khabar July 16,2018 Comments

१ साउन काठमाण्डौं।साउने संक्रान्ति।सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ।साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ।साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण,पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ।लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ।निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ।यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ।  

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।मेहेन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ।कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्। पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ।साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ। यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछ।साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ। आर्थिक कारोवार गर्नेहरूका लागि पनि यो दिनलाई विशेष दिनका रुपमा मानिन्छ।

त्यसैगरि साउनको सोमबार पनि धार्मिक एवं ज्योतिष शास्त्रअनुसार पनि त्यतिकै महत्वपूर्ण दिनका रुपमा मानिने गरेको छ।सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ।साउन महिनाको सोमबारका दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।पुराणअनुसार हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पाइन्छ।

हिन्दू धर्म अनुसार यो महिनाको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ। पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ।ती हुन्- साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष।सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ।यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ।दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ।व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ।यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

यसपटक साउनको पहिलो सोमवार साउन ७ गते परेको छ।यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार परेको छ।यो सौर गणनाको हिसाबले हो।तर व्रत गर्दा धार्मिक कार्यका लागि चान् तिथिबारको प्रयोग गर्नु भन्ने निर्देश छ।चान् र सौर दुवै मिलेको भए अझै राम्रो।यस हिसाबले हेर्दा अर्थात् चान् गणनाको हिसाबले पहिलो साउने सोमबार त १४ गते मात्र पर्ने देखिन्छ किनभने साउन ११ गतेसम्म त आषाढ नै बाँकी छ।तर नेपालीहरूले सौरमान अनुसार ७ गतेदेखि व्रत सुरु गर्ने देखिएको छ।चान्ऽमान हेर्न थालियो भने भदौ १० गतेसम्म नै साउन छ।

शिव वैदिक देवता हुन्।शिवको अर्थ कल्याण हो।विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ।वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ।शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ।पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ।शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ।शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ।शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ।
साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ।यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ।शिव पुराणअनुसार शिव स्वयं जल हुन्।भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्-मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्।

साउने सोमवारका दिन काठमाडौं वरपरका शिवालयक्षेत्रहरु श्रद्धालुको प्रमुख गन्तव्य बन्ने गरेको छ।साउनको सोमबार पशुतिनाथ क्षेत्र,ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर,धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर,सिन्धुपाल्चोकको पाँचपोखरी,रसुवाको गोसाइँकुण्ड,नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुने गरेको पाईन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।

तस्बिर श्रोत  वेब