-वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् जोशीको तश्वीर अंकित सिक्का सार्वजनिक

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् जोशीको तश्वीर अंकित सिक्का सार्वजनिक

Hollywood Khabar September 09,2019 Comments

ललितपुर २४ भदौ

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित सिक्का सार्वजनिक गर्ने कार्यक्रम थियो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए अर्थमन्त्री डा. युवराज खतिवडा । साथमा थिए १०० बर्ष पूरा भएका वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जन, प्रतिनिधिसभा, प्रदेशसभाका सांसदहरु, अनि विशिष्ठ व्यक्तित्वहरु ।

कार्यक्रम समयतालिका अनुसार नै चलिरहेको थियो । अर्थमन्त्री डा. खतिवडा वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का सार्वजनिक गरिसकेका थिए । कार्यक्रमलाई सुक्ष्मसँग नियालिरहेका अर्थमन्त्री डा. खतिवडाको मन्तव्य दिने पालो आयो । खतिवडाले मन्तव्य राख्ने क्रममा वाडमय शताब्दी पुरुष सत्यमोहन जोशीले गभर्नर फटाएको कुरा निकाले । खतिवडाले भने, ‘वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीज्यूले १० जना गर्भनर फटाइसक्नु भएको छ , त्यो मध्ये म पनि एक हुँ । ’अर्थशास्त्रीसमेत रहेका खतिवडाले आफ्नो यो प्रसंगलाई यसरी बिट मारे । उनले भने, सत्यमोहन जोशीज्यूले आकर्षक, विवादरहित सिक्का र मुद्रा बनाउन गर्नु भएको सहयोग स्मरण गर्न चाहन्छु । राष्ट्र बैंकको नोट तथा सिक्का समितिमा रहेर जोशीले ४० वर्षदेखि सुझाव र सल्लाह दिंदै आएका छन् । डा. खतिवडाले भने, ‘जोशीज्यूले देशमा गणतन्त्र आएपछि पनि जोशीले विवादरहित तरिकाबाट मुद्रा निष्काशनका लागि योगदान पु¥याउनु भएको छ।

वाडमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक गर्ने कार्यक्रममा सटिक र ठिक्क बोलेका खतिवडाले एक हजारको नोटमा रहेको हात्तीको कुरा स्मरण गरे । केही वर्ष अघि सत्यमोहन जोशीले हजारको नोटमा भएको हात्ती नेपालको हात्ती नभएको औंल्याए । श्रीलंका वा भारतको हात्ती भएको जतोशीले बाएका थिए जोशीकै सुझाव अनुसार त्यो हात्ती परिवर्तन गरेर नेपाली हात्ती राखेको बताए ।

अर्थमन्त्री डा खतिवडाले संस्कृतिविद् जोशीको योगदान अमूल्य रहेको बताउँदै उहाँको योगदानको सम्मान गर्नुपर्ने बताए । उनले भने, उहाँको योगदानको ऋण तिर्न त सक्दैनौ, तर सम्मान गर्न सक्छौं ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष चिरीबाबु महर्जनले जीवन छँदा नै व्यक्तिको सम्मान गर्ने परम्पराको थालनी गर्न वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेको बताए । जीवित व्यक्तिको तस्वीर सिक्कामा राखिएको यो पहिलो भएको बताउँदै भने, यो कलासंस्कृतिको सम्मान हो, उहाँले अन्तर्राष्टिय स्तरमा नेपाललाई परिचित बनाउन गर्नुभएको योगदान हो ।

ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले सत्यमोहन जोशी मुलुककै गौरव भएको बताउँदै उहाँको सम्मान कला संस्कृतिको सम्मान भएको बताइन् । सत्यमोहन जोशीको तश्वीर अंकित सिक्का अनावरण गर्न पाउनु अविश्मरणीय भएको वताउँदै उपमेयर सत्यालले भनिन्, यो ललितपुर महानगरपालिकाको मात्रै हैन, देशकै गौरवको विषय हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता एवंम बरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सत्यमोहन जोशी जीवित इतिहास भएको बताउँदै तस्वीर अंकित सिक्का सार्वजनिक गर्नु पाउनु गर्वको विषय भएको बताए । राजा, राजपरिवारका सदस्य बाहेक जिवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउने पहिलो व्यक्ति वाङमय शताब्दी पुरुष जोशी हुन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलन भन्दा अघि जिवित छँदा राजा र राजपरिवारका सदस्यहरुको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथ्यो ।

‘जोशी जिवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीको लागि गौरवको विषय हो। ’ प्रवक्ता समेत रहेका निरौलाले भने ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउने छ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवंम सामाजिक र सांस्कृतिक निधिहरुलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार यस अघि नेपाल अधिराज्यको संविधान –२०४७ र नेपालको संविधान–२०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो। त्यसैगरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उहाँहरुको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो । त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जन्म शताब्दी वर्ष मनाउनका लागि गठन गरिएको कार्यसम्पादन समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले एक वर्ष भरि गर्ने कामको जानकारी दिए। सत्यमोहन जोशी महानगरको निधी भएको बताउँदै सम्मानमा वर्षभरि नै कार्यक्रम आयोजना गरेको बताए ।

ललितपुर महानगरपालिकाको अनुरोधमा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले टकमरी गरेको रुपैयाँ एक सय, एक हजार र पच्चीस दरका स्मारिका सार्वजनिक गरिएको हो ।

वि सं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा सत्यमोहन जोशीको जन्म भएको हो । वाङमय र संस्कृति संरक्षण र सम्बद्र्धनको क्षेत्रमा उल्लेख्य काम गरेको एक सय वर्ष पूरा गरेको महान व्यक्तित्वलाई जीवितै छँदा सम्मान गर्नुपर्छ भनेर ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद महाविधावारिधि सत्यमोहन जोशीको जन्मशताव्दी वर्षभरि कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

ललितपुर महानगरपालिकाले जोशीको जन्म शताब्दी महोत्सव मनाउने कार्यक्रम अन्तर्गत सिक्का प्रकाशनका लागि संघीय सरकारसँग अनुरोध गरेको थियो । गत वैशाख ३० गते एक सय वर्षमा प्रवेश गरेका सत्यमोहनको शताब्दी जन्मोत्सव मनाउन महानगरले यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

२५ सयकोको २५ हजार, एक हजारको २५ हजार र एक सयको १० हजार सिक्का सार्वजनिक गरिएको छ। यी सिक्का संकलनका लागि लिन चाहनेले पुल्चोकस्थित ललितपुर महानगरपालिका र राष्ट्र बैकबाट लिन सक्ने छन् ।

राष्ट्र बंैकले २५ ग्राम तौल र ३७ एमएम व्यास भएको रु १०० दरका १० हजार थान सिक्का निष्काशन गरेको हो । यो सिक्का क्युप्रोनिकेल धातुबाट बनेको छ।

त्यसैगरी राष्ट्र बंैकले १० ग्राम तौल र २९ एमएम व्यास भएको रु १००० दरका २५ हजार थान सिक्का निष्काशन गरेको हो । यो सिक्का चाँदी र क्युप्रोनिकेल धातुबाट बनेको छ। त्यस्तै रु २५०० दरका २५ हजार थान सिक्का निष्काशन गरेको हो । यो सिक्का पनि चाँदीबाटै बनेको छ।