साँघुरो भवन: एउटै कोठाबाट धेरै सेवा

0
shares

by Soni Sharma | Updated: 23 Jul 2019

174 views
भक्तपुर जिल्ला अदालत

७ साउन भक्तपुर ।

भवन नहुँदा जिल्ला अदालत भक्तपुरमा पर्याप्त बस्ने ठाउँसमेत नहुदा सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने सेवा समेत प्रभावित बनेको छ ।कार्यालयमा न्यायाधीश र कर्मचारीलाई बस्ने पर्याप्त ठाउँ नहुदा अधिकृतहरू इजलास कक्षमै बसेर काम गर्छन् ।५ इजलास रहेको अदालतमा अभिलेख राख्ने दराज अटाउन र थप फैसला हुँदा मुद्दाका फाइल राख्ने ठाउँ छैन ।वैतनिक वकिल र मुद्दा परेका जग्गा नापी गर्ने अमिनी कर्मचारीका लागि बस्ने ठाउँ नै छैन। अदालतमा नभई नहुने मेलमिलाप कक्षसमेत कोठा अभावले व्यवस्थित गरिएको छैन। अदालतका सूचना अधिकारी सदन अधिकारी भन्छन्,‘साँघुरो भवनका थोरै कोठामा अत्यावश्यक सेवा व्यवस्थापन गरिएको छ, एउटै कोठाबाट धेरै सेवा दिनुपर्छ ।’

ठाउँ अभावले वैतनिक वकिलले प्रशासन कक्षमै बसेर काम गर्ने गरेका छन् ।‘इजलास कक्ष साँघुरा छन्,खुला सुनुवाइमा सरोकारवाला आएर बस्ने ठाउँ छैन,’अधिकारी भन्छन्, ‘सेवाग्राही बस्ने प्रतीक्षालय छैन, भवन जीर्ण बनेपछि सेवा प्रवाह नै प्रभावित भएको छ ।’अदालतका पाँचवटा इजलासमध्ये तीनवटा इजलास कक्ष साँघुरा छन् । साँघुरा इजलासमा न्यायधीशले १५ जना मान्छे राखेर छलफल गर्ने ठाउँसमेत छैन ।

हेल्पडेस्कसँगै रहेको इजलासमा सेवाग्राही र कर्मचारीबीच हुने संवादले असर गर्छ। इजलासका लागि चाहिने शान्त वातावरण छैन ।अदालतले सेवालाई व्यवस्थित गर्न परिसरमै ट्रस्ट भवन निर्माण गरेको छ ।ट्रस्टमा पाँचवटा मुद्दा फाँट, प्रशासन र मुद्दा दर्ता फाँट एकएक छन् ।भूकम्पपछि अदालतको पुरानो भवनमा पहेँलो स्टिकर लगाइएको थियो ।‘भूकम्पपछि केही महिना पालमा इजलास चल्यो,’ कार्यालयका कम्प्युटर अपरेटर आशाराम सुवालले भने, ‘अहिले पनि फैसला र मुद्दाका मिसिल पानी चुहिएर भिज्ने र नष्ट हुने क्रम चलिरहेको छ ।

अदालतले वार्षिक करिब दुई हजार मुद्दाको फैसला गर्छ ।‘कतिपय मुद्दा मेलमिलाप बाट मिलाउनुपर्ने प्रावधान छ, तर हामीकहाँ मेलमिलाप केन्द्रका लागिसमेत उपयुक्त ठाउँ छैन,’कम्प्युटर अप्रेटर सुवालले भने ।अदालतमा बढ्दो मुद्दाको चाप र फैसला कार्यान्वयनका लागि सातजना अधिकृत र चारजना कम्प्युटर अप्रेटर चालू वर्षबाट थप हुँदै छन् ।तर, थपिएका कर्मचारीलाई कार्यालयमा बसेर काम गर्ने ठाउँ व्यवस्था अहिले सम्म गरिएको छैन ।कर्मचारी र सेवाग्राहीका लागि पर्याप्त पार्किङ स्थल छैन ।मुद्दा परेका सवारी र जिन्सी सामग्री राख्ने ठाउँ छैन । ठाउँ नहुँदा शौचालयको सुविधासमेत सहज रूपमा उपलब्ध गराउन नसकिएको सूचना अधिकारीले बताए ।