Hollywoodkhabar advertisement

लघु कथा, मेरी सान आमा

-Rambabu Luitel
0
shares

रामबाबु लुइँटेल, अमेरिका, मार्च २४, २०२१

कुरो केहि वर्ष अगाडीको हो, त्यस दीन हामी पारिवारिक बनभोजको कार्यक्रममा नमो बुद्धको डाँडामा रमाइरहेका थियौं। नास्ताको कार्यक्रम समापन पश्चात सबै जना समारोहस्थलबाट केहि पर नमोबुद्ध दर्शन र अवलोकन गर्न करिब १ घण्टा टाढा जाने सल्लाह भयो, उकाली र लामो हिंडाईमा सानआमालाई गारो हुन्छ भनेर उँहालाई त्यहि खाना बनाउने दाजुहरुको जिम्मामा छोडेर हामीहरू उता लागियो। फर्कंदा अलि ढिला पनि भयो र चिसो र हावाले गर्दा सानआमा त सबैको जाकेट र ओड्ने ओडेर जाडोले थर थर कामी रहनु भएको रहेछ। सबै मिली माझमा राखेर तातो न्यानो बनाइयो।

भोक लागेको तर चिसोले गर्दा खाना पाक्न पनि निकै समय लाग्यो। जे पाकेको सबैले खाइयो उंहाले केहि खान मान्नु भएन। बेलुका फर्कंदा ढिला नै भएको थियो, भोली पल्ट देखी सबैजना आ-आफ्नो काम तिर लागियो।पछी पो थाहा भयो उँहा त चिसो र निमोनियाले सताएर अस्पताल पो भर्ना हुनु भएछ। सान बाले 'नजाउ भनेको मानिनौ बेक्कारमा बिरामी परियो भन्नु भएछ।

हुन नि कुरो त ठिकै हो। पछी अस्पतालमा भेट्न गएँ मुख फुलेको रहेछ। गारो भएको छ भन्नु भयो। केही दिनपछि डिस्चार्ज हुनुभयो। सबै सामान्य जस्तै भयो। त्यसको केहि समय पछी फागुन निक्लंदा हामी पनि विदेशीने भयौं। उँहाको घरमा बिदा हुन जाँदा छोरा मान्छे भएपछी जता पनि जानु पर्छ भाग्यले पाएपछी, हामी पो कतै जान पाईएन, राम्रोसंग जानु भन्नुभएको थियो।

बिदाइको दीन पनि गहभरि आँशु पार्नू भएको थियो र घर गएपछि पनि सानबासंगै निकै रुनु भएको थियो रे। यता अमेरिका आएपछी कुरा गर्न खोंजे सान बाले बोल्न सक्नु भएन। उहाले मुटुमा भक्कानो पारेर खोइ बा कहिले आउँछौ भेट्न पाईइलाकी नपाइएला भन्नुभयो। मैले किन नपाइनु भनि यसपाली दशैंको टीका यतैबाट आशिष पाऊ अर्को साल टिका थाप्न आउंछु भनि बाचा गरें।

उंहा केही बोल्नु भएन फोन राख्नु भयो। केहि समयपछी एक दिन म काम सकेर घर फर्कदै थिएँ। श्रीमतीले आत्तिदै फोन गरिन, हजुर कता ? आउन लागेको होइन र ? मैंले हो आउन लॉगे के हो, किन आत्तेको भनेर सोंधे। उनले केहि होइन घर आउनुहोस न भनिन। मलाई लाग्यो खास कुरो केहि पक्कै छ! जब घर भित्र पुंगे सबै मेरो मुखामुख गर्नथाले। सबै मौन छन्, ए के भयो? उनीले भनिन, तपाइंलाई थकाइ र भोक प्याशले सताएको होला ? उनको बोली सकिन नपाउदै, छोरीले भनिन, अब केहि पनि खानु हुँदैन किनकि सानआमा बित्नु भयो। म छाँगाबाट खसेजस्तो भएँ, लौ कहिले, कसरी, के भाथ्यो र एकै चोटी प्रश्नहरु ओइराएं बिचरा सान आमा।

ADVERTISEMENT-----