तराई मधेस केन्द्री कविता संग्रह सहरबिनाको सहर प्रकाशित

Hollywood Khabar September 05,2018 Comments

काठमाडौं/२३ भाद्र २०७५, वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको कवितासंग्रह सहरबिनाको सहर’ प्रकाशित भएको छ । तराई र मधेसका विभिन्न जिल्लाहरुमा रहेर पुडासैनीले रचेका तराई मधेस केन्द्री बाउन्न कविताहरु यस संग्रहमा समावेश छन् ।

वरिष्ठ समालोचक एवं साहित्यकार डा. राजेन्द्र बिमलले ‘दामोदर पुडासैनी ‘किशोर’ को कविता संग्रह सहर बिनाको सहर नेपाली भाषामा रचिएको तराई मधेस केन्द्री पहिलो कृति भएकोले यसको विशेष महत्व छ भन्नुभएको छ । सहर बिनाको सहरले तराई मधेसका समस्या, संस्कार, भूगोल र सम्भावना समेटेर नयाँ ढंगबाट अघि बढाउन खोजेको कुरा पनि उहाँले बताउनुभयो । यस किसिमको कृतिले हिमाल, पहाड र तराईका जनताबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने कुरा पनि उहाँले बताउनुभयो ।

सहर बिनाको सहर पुस्तकको भूमिका पनि डा. राजेन्द्र बिमलले नै लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ– ‘पुडासैनीका कविता बाह्य र आन्तरिक सत्यका साक्षी हुन् । यी सत्यहरु उच्च कलाको आवरणमा सजिएका छन्, कलात्मक छन् । कवि पुडासैनीले कुशल चिकित्सकलेझैँ मधेसको विविध रङ्गी जीवन, परिवेश र मनोविज्ञानको एम.आर.आई को काव्यिक प्रतिवेदन प्रस्तुत गर्दै उसको पीडा, निदान र उपचार अनशंसित गरेका छन् । संग्रहको पहिलो वर्णदेखि अन्तिम वर्णसम्म मधेसको माटोको इत्रमा चुर्लुम्म डुबेको छ, मगमग बास्नाले लठ्याउँदै । पाठकको मनै मिथिला भएर धड्किन थाल्छ ।

वरिष्ठ कवि दामोदर पुडासैनी ‘किशोर’ ले आफ्नो काव्यसन्दर्भमा– ‘मधेसमा हिमाल उठाउन खोज्नेहरु र हिमालमा मधेस व्युँझाउन खोज्नेहरु, आँखाका नानी हुन् हामी सबैका। मैले हिमालको पानी र मधेसको जवानी, मिसाउन खोजेको हुँ नेपालभरी’ भन्ने उल्लेख गरेका छन् ।

पुडासैनीको यो कविता संग्रह साझा प्रकाशनले प्रकाशमा ल्याएको हो । सहरबिनाको सहर प्रकाशन गर्नुृको औचित्य पुष्टि गर्दै साझा प्रकाशन लेख्छ– ‘देशबिना मधेस, मुुटुबिना शरीरको कल्पना गर्न नसकिने यथार्थको प्रतिबिम्ब हो देश–मधेस । बोलेको छ आवाजहरु सशक्त–यथार्थको । मधेसमा रचिएका कविताहरुको सुन्दर प्रस्तुति बनेको छ सहरबिनाको सहर ।

पुडासैनीको यो चौधौँ कृति हो । यस अघि उनका सात कविता संग्रह, पाँच नियात्रा संग्रह र एक दर्शन कृति प्रकाशित छन्। पुडासैनी नेपाल सरकारका सह–सचिव अर्थात् महालेखा परीक्षकको कार्यालयमा नायब महालेखा परीक्षकको रुपमा कार्यरत छन्।