Krishna KC

उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ

Hollywood Khabar March 04,2019 Comments

कृष्ण के सी, अमेरिका मार्च ५, २०१९

ॐ;

तपाइहरु मध्ये कतिजनाले घर बस्दा सफा र चिटिक्कका कपडा लगाएर बस्नुहुन्छ या हुन्न त्यो भने आफैलाइ सोध्नुहोस। मेरो बानी चाहिँ मेरो मूडमा भरपर्छ। कहिले चिटिक्क लगाउँछु र कहिले हिजोकै बासीले निरंतरता पाउँछ। यो बासी कपडाले निरंतरता पाउने अर्थमा मेरो बानी आधा मात्र राम्रो रहेछ। आधा बानी चाहिँ बासी परेछ।

काममा जाँदा मात्र होइन घरमा बस्दा पनि सफा र चिटिक्क परेका कपडा लगाउनाले मन चंगा हुन्छ। केहि न केहि काम गरौँ जस्तो जाँगर लाग्छ भन्छन एकजना मित्र। हुन पनि उनको घरमा गयो भने चिरीचट्टै परेका कपडा लगाएर सोफामा बसेर टिभी हेर्छन। टिभिमा पनि उनको रोजाइ छ। रुन्चे, पिडा, ओराली लागेको हरिणको चाल भो, हारेको जिन्दगी जस्ता गीत र फिल्म इत्यादि उनलाइ पटक्कै मन पर्दैन। अन्जु पन्त र रामकृष्ण ढकाल जस्ता गायकका निरासावादी गीत त उनलाई पटक्कै मन पर्दैन।

उनि भन्छन, जिन्दगी भनेको साउथको मुभी जस्तो हुनुपर्छ। हरेक मान्छेको एउटा न एउटा ड्रिम क्यारेक्टर हुन्छ। ड्रिम क्यारेक्टरले जे पनि गर्न सक्छ। उड्न देखि सबैलाई सखाप पार्न पनि सक्छ। अनि कसैको पनि ड्रिम क्यारेक्टर हार्दैन। साउथका मुभीमा यी कुरा बिशेष रुपमा ध्यान दिएका हुन्छन।

मेरो मनमा अचम्म लाग्छ ! यो टिभी हेर्न पनि किन चटक्क परेका कपडा लगाउनु परेको होला यो बुढोलाई। एक पटक त अति नै लागेर सोधे होइन यो सोफामा बसेर टिभी हेर्नलाई पनि के को चिटिक्कको पहिरनमा हो ? उनले एक्कै सासमा भने, हेर बुढा, यो पहिरन भनेको बिहान उठ्ने बितिक्कै काममा जाने या घरै बस्ने भए पनि सफा र चिटिक्क लगाउनुपर्छ। बिहान उठ्ने सफाचट हुने अनि यसरी मन परेका कपडा लगाउँदा मन चंगा हुन्छ। भोलि के कपडा लगाउने भनेर अघिल्लो दिन राति नै तयार गरेर राख्छु। यसबाट जोश बढेर के के नयाँ काम गर्न मन लाग्छ।

मलाइ पनि अनौठो लाग्यो। समाजशाश्त्रको बिधार्थी भएकोले आफैलाई परिक्षण गर्न मन लाग्यो। एकाध पटक प्रयोग नै गरे। पछिल्ला केहि आइताबार बिहान १०-११ बजे सम्म सुतिरहे। दाडी पनि झुस्स पाले, झन् अल्छी लागेर आयो। बल्ल बल्ल मुख धोएर खाने कुरा खाएँ। अनि गत आइताबार चाहिं बिहानै ५ बजे नै उठेर, रेष्टरुमको कर्म सके। अनि मेरो कम्प्यूटरबाट Madhavas Rock Band को रक भजन गघुपति राघवको जोसिलो भजन लगाएँ। मेरो मन पर्ने Calvin Klein टिशर्ट, नाइकीको सेट लगाएँ, माथिबाट हल्का नाइकीको टोपी ओडे। नाइकीकै क्याप र नाइकीकै जुत्ता पनि लगाएँ। अनि बाहिर निस्केर एक फन्का दौडेर घर आउँदा पनि बिहानको ७ बजेन। अझै के के गर्न मन लागि रहेको थियो। म आफैलाई सुन्दर भएको अनुभव भएको थियो। अब कताकता मलाइ यो उनको बानी ठीक लग्यो। हुन पनि हाम्रा पुर्खाले बनाएको दैनिकी पनि त त्यहि हो। कुरा सहि लाग्यो। बिहानै उठ्ने, सफा हुने, अभ्यास गर्ने, सफा र मन पर्ने कपडा लगाउने, खाने कुरा खाने अनि नियमित काम गर्ने नै सहि र स्वस्थ्य जीवन रहेछ। यसबारे थप अध्यन गर्न मन लाग्यो। केहि खोजी पनि गरे। अन्तत सबै तिरबाट कुरा उस्तै पाइयो।

बासी कपडा लगाउँदा इन्फेक्सन हुने, थुप्रै खाले रोग लाग्ने संभावना हुन्छ, पुरानो कपडाको ब्याक्टेरियाले आफूलाइ निरन्तरता दिने र अरुलाई सर्ने, मन अल्छी हुने, गन्ध आउने इत्यादि हुन्छ। यदि तपाइको कपडा सफा गरेर लगाएको छैन भने शरीर र आफुले काम गर्ने गतिमा पनि सयौं गुणा ढिलो हुने रहेछ।

कपडामा अनायास नै पसिना र कतिपयको त पिसाब नै चुहिएको या छिट्टा परेको हुन्छ। अनि त्यसको गन्ध, इन्फेक्शन आफूलाइ नआएपनि कतिपय बिशेष प्रकारका सेन्सेटिभ हुनेलाइ भने गन्ध आइरहेको हुन्छ। यो अवस्थामा रोग मात्र होइ तपाइको सम्मान र व्यक्तित्व पनि घटेर जान्छ। सफा र चिटिक्क परेका कपडा लगाउँदा, दाडी काटेर चिटिक्क पर्दा अरुले आफूलाइ दिने सम्मान पनि फरक हुने रहेछ।

अन्तमा, सफा लगाउनेहरुको मन पनि सफा नै हुनेतर्फ प्रेरित गर्छ। भनिन्छ, ब्राण्डेड कपडा लगाउनेहरु एक तहका फुर्तीला र दिमागमा पनि चंगा हुन्छन। खाना पनि सफा खान खोज्दछ, बोल्न पनि नरम र भलादमी बोल्न खोज्दछ। यी सबै कारणले गर्दा व्यक्ति खुशी हुन्छ। खुशी मान्छेको उमेर पनि लामो हुन्छ भनिन्छ। अब मैले पनि चिटिक्क हुने विचार गरे। मेरो घरमा रुन्चे गाना, पिडित गजल, निरासावासी प्रवचन, ट्रयाजिक सङ्ग-मुभी सब बन्द भयो कृष्णार्पण !