सदाबहार रहेको जैविक, प्राकृतिक र कुटनैतिक शत्रु विरुद्ध गुहार

0
shares

by Krishna KC | Updated: 29 May 2020

167 views
-Santosh Dahal

सन्तोष दहाल/ललितपुर/५/२९/२०

सिंगो विश्वशक्ति नै यतिबेला अदृश्य जैविक भाईरससँग लडिरहेको छ। चीनबाट २०१९ को डिसेम्बरमा सुरु भएर फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीले संसारका सबै देशलाई आक्रान्त पार्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। संसारमा ५० लाख बढी मानिसहरु सङ्क्रमित र साढे ३ लाख मानिसहरुको ज्यान गईरहँदा नेपालमा भने संक्रमितको संख्या १२०० नाघेको छ भने ६ जनाको ज्यान गएको छ, यो पंक्ति तयार पार्दासम्म २०६ जना निको भएर घर फर्किएका छन्।

संसारका अन्य देशको तुलनामा कुरा गर्ने हो भने अहिलेसम्म कोरोना माहामारीले नेपालमा भयंकर रुप लिएको छैन, यद्यपि पछिल्लो समय भने भारत लगायतका मुलुकबाट फर्किने नेपालीको संख्यामा वृद्धि भईरहँदा र परीक्षणको दायरा पनि बढ्दै जाँदा दिन दुगुना रात चौगुनाको रुपमा संक्रमितको संख्या बढ्दै गएको रिपोर्टहरु सार्वजनिक भईरहेका छन्। यसैगरी कोरोना नियन्त्रण तथा सावधानीको लागि सरकारले घोषणा गरेको २ महिनाभन्दा बढीको लकडाउनका कारण देशको सबै आर्थिक,शैक्षिक, औद्योगिक लगायतका क्षेत्रहरु अहिलेसम्म कहिल्यै भोग्नुनपरेको मारमा परेका छन्। अझै यो स्थिति कहिलेसम्म हो भन्ने अत्तोपत्तो छैन।

भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन। नेपालको परिप्रेक्ष्यमा यतिबेला हेर्ने हो भने कोरोनाको मात्र त्रास र विपत्ति छैन। अन्य प्राकृतिक जैविक तथा कुटनीतिक विपत्तिहरुसँग पनि नेपालजस्तो अल्पविकसित मुलुक लड्नुपरेको अवस्था छ। छिमेकी मुलुक भारतसँग जोडिएको र नेपालको सुदुरपश्चिमी भूभागमा पर्ने दार्चुलाको लिपुलेक,कालापानी र लिम्पियाधुराको सीमा विवाद यही बेला उत्कर्षमा छ। लामो समयदेखि विवादित उक्त भूमि समेटेर केही समयअघि भारतले आफ्नो देशको राजनीतिक नक्सा जारी गरेपछि उक्सिएको विवाद अहिले उत्कर्षमा छ। भारतले नक्सा मात्र जारी गरेन, केही दिनअघि माता यिनै बाटो भएर मानसरोवरसम्म पुग्ने गरी निर्माण गरिएको सडक उद्घाटन गर्यो। यतिसम्म अन्याय गरिसकेपछि नेपाल पनि चुप लागेर बस्न सक्ने स्थिति भएन । छिमेकी राष्ट्रले हेप्दै गरेको व्यवहारको प्रत्युत्तरमा नेपाल सरकारले पनि लिपुलेक,कालापानी र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेर सार्वजनिक गरिसकेको छ। यी घटना परिघटनाले दुई देशबीचको सम्बन्धलाई पछिल्ल्लो समय बढी नै चिस्याएको छ।

 

हुन त समय समयमा नेपालमा अनेक विपत्तिहरु आईरहँदा त्यो पीडामा भारतले नुनचुक छर्दै आएको इतिहास साक्षी छ। त्यसको ज्वलन्त उदाहरण २०७२ को महाभूकम्पले थिलथिलिएको बेला नाकाबन्दी गरेको घटना छर्लंग छ। भूकम्पले नेपालीको गाँस, बास र कपास खोस्दा भारतले असल छिमेकको रुपमा आफूलाई चिनाउन सकेन, बरु सीमा क्षेत्रमा अघोषित नाकाबन्दी लगाएर ग्यास, तेलजस्ता अत्यावश्यक वस्तुको निकासीमा रोक लगाएर महाविपत्तिलाई गिज्याईरहयो। यतिबेला पनि कोरोना नामक जैविक भाईरससँग भारत आफैं लडिरहँदा समेत नेपालको विपत्तिमाथि हाँस्न छोडेको छैन। यस्तो अवस्थामा कोभिडसंगै सीमा प्रकरणमा पनि नेपाल युद्धको किल्लामा होमिएको छ। यद्यपि नक्सा सार्वजनिक गरेर मात्र यो विवाद सजिलै मथ्थर हुनेवाला भने छैन, यसका लागि सबेइ राजनीतिक दलहरुको ऐक्यवद्धता, होस्टेमा हैँसेसंगै भारतसंग कुटनीतिक पहल र वार्ताको आवश्यकता छ।

यो त भयो कुटनीतिक शत्रुको कुरा ! अहिलेको विपत्ति यो मात्र होइन, अन्य जैविक शत्रुसँग पनि नेपालजस्ता मुलुकहरु लड्नु परेको छ। कृषिप्रधान मुलुक नेपालमा कोरोना महामारीपश्चात पनि अझै बढी मानिसहरु कृषि पेसामा लाग्नुपर्ने अवस्था छ। नेपाल सरकारले भर्खरै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। तर कोरोना महामारीले यस क्षेत्रलाई पनि प्रभाव पारेको छ। किसानले मल बीउ समयमा पाउन नसकेको अवस्था छ। बन्दाबन्दीको कारण यस वर्षलाई धेरै गाह्रो पर्ने देखिन्छ। मौसम र समयको तादम्पता नमिल्दा पनि कृषि उब्जनीहरुमा प्रभाव परिनै हाल्छ।

कृषि उत्पादनको लागि अन्य जैविक महाशत्रु समेत नेपालमा आतंक मच्चाउने अवस्थामा छन्। मकै बालीमा लाग्ने अमेरिकी फौजी किराले अहिले देशका विभिन्न भागमा आतंक मच्चाईरहेको अवस्था छ। नेपालको धानपछिको प्रमुख खाद्यबालीको रुपमा रहेको मकै यतिबेला हिमाल पहाड तराई सबैतिरको खेतबारीमा हुर्कंदै गरेको अवस्थामा छ। गुबो फैलाउंदै गरेको मकैलाई फौजी किराले सखाप पार्न थालिसकेको छ। राज्य स्तरबाट नै यसको नियन्त्रणका लागि सकारात्मक पहलकदमी हुनु जरुरी छ।

यसैगरी पछिल्ला दिनहरुमा अर्को खबरले सनसनी र त्रास मच्चाईरहेको छ, त्यो हो सलह किरा। सलह फट्याङ्ग्राको एक प्रजाती र एक किसिमको फौजी किरा हो। यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।

यसको एक बथान अहिले अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो। त्यसैले अब निकट भविष्यमै यसले नेपालमा पनि प्रवेश गर्न सक्ने भन्दै कृषिविदहरुले चिन्ता व्यक्त गर्न थालेका छन् भने सम्भावित खतरालाई मध्यनजर गर्दै सरकारले पनि त्यसको अध्ययनलाई अगाडी बढाएको छ। उचित माध्यमबाट यसको रोकथाम तथा नियन्त्रण हुन सकेन भने नेपालमा अर्को झन् ठुलो

खाद्य संकटको महामारी सिर्जना हुनसक्ने अवस्था छ।

यस्तै अहिलेको संकटकालीन अवस्थामा अर्को शत्रु छ, प्राकृतिक शत्रु। मनसुन सुरु हुने लागेको अहिलेको अवस्थामा जेठमै देशका विभिन्न स्थानमा भएको वर्षा, भीषण हावाहुरी तथा चट्याङजस्ता प्राकृतिक प्रकोपको कारण धेरै जनधनको क्षति भईसकेको छ। केही दिनअघि बंगालको खाडीबाट भारत हुँदै आएको अम्पुन चक्रवात र आँधीले भारतमा धेरै जनाको ज्यान लियो। त्यसैको प्रभाव नेपालमा पनि परेको अनुमान गरिएको छ जसले किसानहरुको मकैबाली, गहुँ तथा केराखेतीमा व्यापक नोक्सानी गरेको छ। विभिन्न जिल्लामा आएको भीषण हावाहुरीले धेरैको बास उखेलेको छ। पशु चौपायाहरू मरेका छन्, घाईते भएका छन्।

कोरोना कहरले सिर्जना गरेको बन्दाबन्दीको समयमा घरमै बस्नुपर्ने अवस्थामा बस्ने घर नै आँधी हुरीले लाँदा कत्रो पीडा भएको होला ? बन्दाबन्दीको सुरुवातमै राहत वितरणको नाममा देशभर अनेक वितण्डा देखिए, घरमा टन्न हुनेले पनि राज्य तथा विभिन्न निकायले दिएको राहत किन छोड्नु भन्ने दरिद्र मानसिकता बोकेआहरु पनि लाज नपचाई राहत लिन दौडिए। त्यतिबेला राहत वितरण नै गर्नुपर्ने सम्मको महामारीको अवस्था नेपालमा सिर्जनागरेको थिएन। केहीकेही मजदुर तथा गरीबका लागि आवश्यक पनि थियो, त्यसताका लागि राम्रै भयो। तर जति हुनुपर्ने थियो, राहतका नाममा त्योभन्दा धेरै बढी भयो।

यतिबेला भने यस्ता प्राकृतिक विपत्तिमा परेका पीडितलाई भने साँच्चै नै राहता तथा उद्दारको खाँचो देखिएको छ। पक्की विद्यालय भवन तथा ठुलाठुला रुखहरुको समेत जरा उखेलेको आँधी हुरीले गरीब्ताथा दीन दुखीको साना साना कटेराहरु कहाँ पुर्यायो अत्तोपतो छैन। खाने बस्ने सबै सखाप पारेको छ। यस्तो अवस्थामा तीनै तहका सरकारले यस्ता विपत्तिमा परेकाहरुलाई कोरोना महामारी तथा प्राकृतिक विपत्तिबाट जोगाउदै अबका दिनहरुमा कसरी अगाडी बढ्ने भन्ने कुराको मार्गनिर्देशन गर्नु जरुरी देखिन्छ।

यसरी नेपाल अहिले चौतर्फी तवरबाट संकटको अवस्थामा छ। सिंगो शक्ति कोरोना महामारी विरुद्ध जुट्नुपर्ने अवस्थामा अन्य जैविक तथा प्राकृतिक र बाह्य शत्रुहरु संग लड्नु चानचुने चुनौतीको विषय होइन। सबै विपत्तिको सामना गर्न हारगुहार गर्नुपर्ने स्थितिको सिर्जना भएको छ। अनेक राजनीतिक आन्दोलनले उब्जाएको परिवर्तन र संघीयताको कार्यान्वयन पश्चात निर्माण भएको तीनै तहका सरकार अब यी सबै शंकट र महामारी विरुद्ध लड्दै जनताको जीउधनको सुरक्षा गर्न र देशलाई आर्थिक सामाजिक रुपमा अगाडी बढाउन नि:स्वार्थ ढंगले लाग्नुपर्ने देखिन्छ। कुनै राजनीतिक आग्रह पूर्वाग्रह बिना यस्तो हारगुहारको उचित सम्बोधन गर्दै जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउन तीनै तहका सरकार नचुकुन।