छ सबथोक र पनि केही छैन

0
shares

by Krishna KC | Updated: 02 Apr 2020

321 views
-छ सबथोक र पनि केही छैन

रवि राहु/४/२/२०

छुट्टी छ।

फूर्सदै फूर्सद छ।

हुनेका घरमा सबै, संगै छन्।

नहुने, नेपाल र अम्रिकाकै दिन, रात एकै पारेर पनि,

फेसबूक, भाइबर, ह्वाट्स्याप चाट्याचाट्यै छन्।

हरे, च्याटको हालत झन पत्ला भएको छ!

हरेक पल चाटेर, फोनै च्याटच्याट गर्छ, अहिले।

कोरोना संक्रमणको प्रमुख संवाहक बन्ने भयले,

बरु हातमा अलिकति छुस्स पारेर,

स्यानिटाइजरले मोबाइलै नुहाउंदै बसेको छ, मान्छे।

***

यत्तिखेर सोध्यो भने कसैले,

"छुट्टी कसरी मनाउंदै हुनुहुन्छ?"

पैतालादेखि तालूसम्म रनक्क भएर अाउंछ।

सायद मुर्ख मनुवालाई थाहै छैन,

खुसीको फूर्सद र बेचैनीको एकान्तबासको भेद।

उस्की अामाले सके उस्लाई भन्नै भ्याइनन्,

"मन चंगा त कठौती मे गंगा।"

मनै चंगा नभएका बेलाको यो फूर्सदी पनि,

डाइबिटिजको रोगीलाई रसगुल्लाभन्दा कम भा'छैन।

अगाडि छ खान मन लाग्छ, खायो ठहरै होइन्छ।

भन्नलाई 'काम' छैन। सर्वत्र लकडाउन छ।

तर काम नभएको दिन कटाउनु नै

प्रलयंकारी काम भएको छ, मान्छेलाई।

अामाको 'मन चंगा' बुझ्या भए जय कल्याण हुन्थेन?

बग्रेल्ती मन चंगा बनाउने साधनहरूको बिजोग हेर,

खेलाडि घरघरै छन्, म्यारिजको खाल छैन।

टोलका उरन्ठ्यउलाहरुको क्यारामको बाजी छैन।

गर्लफ्र्याण्ड मुचुक-मुचुक छे, जाने साधन, ठाउँ छैन।

खोयाबिर्के नै सहि, सांझको महफिल जमेको छैन।

केटाकेटीको स्कुल छैन। टिचरलाई स्टुडेन्ट छैन।

भरियाको भारी छैन। ज्यामीको ज्याला छैन।

हा.टा. गर्ने राष्ट्रशोषकको अड्डा, अदालत छैन।

हुनेलाई, सपिङ्ग, घुमघाम छैन। सोसल लाइफ छैन।

नहुनेलाई, अहिले खाए, भरेको छाक पनि छैन।

मन्दिरमा घण्टी बजेको छैन। देउतालाई भोग छैन।

आकाश निलो छ। हावामा प्रदूषण छैन।

तर बाहिर निस्कने आंट चरो-मुसोमा पनि छैन।

एकान्त वा देहान्तको कठीन रोजाईबीच,

दोश्रोलाई सर्व सम्मतीबाटै स्वीकार छैन।

***

रामायण, महाभारत कालको जस्तो सुनिने,

अदृश्य कोरोना कालले ङ्याक्ने त्रासमा,

शहर, गाउँ देखि देशका देश सुनसान छन्।

मुन्द्रेको कमेडी क्लबदेखि छुछुन्द्रेको छिंडीसम्म, कोरोनाकै कहरले व्याप्त छ।

न जन्तिको रमझम छ। नत मर्दाको मलामी छ।

ग्लोबलाइजेसनको भर्चुअल दूनियांको नयां नीति,

सोसल डिस्टान्सिंङमा अन्त्य हुने भय छ।

कस्ले के बोकेको छ थाहा छैन।

कहाँ, कस्लाई, के सर्छ पत्तो छैन।

आफूलाई उपबुज्रुकै ठान्ने टोले दादा भन्छ,

यत्रो प्रदूषण पचाउने नेपालीलाई केही हुन्न।

प्रदूषणले खिईसकेको फोक्सोमा भाइरस पसेर,

हुने अकाल मृत्युको सपना ऊ देख्न पनि खोज्दैन।

दादा, कोरोनाले खोजेकै कमजोर फोक्सो त हो!

भूतो न भविष्यतिको अन्धकारमय गुफामा,

कहाँ, को, कसरी भक्लक्क ढल्ने हो त्यै थाहा छैन।

हावाको, प्रलय, कयामत, डूम्सडे थ्योरीको तोड छैन।

***

धन्य छन् केही समयकटाउ, उध्दारक मनुवाहरु

र जसोतसो घाम उदाउने अस्ताउने मेलो चैं भा'छ है!

फेसबूकको म्यासेञ्जरमै किर्लिङ पारेर,

बरा, हातहातै डेलिवरी गरेका छन्, तिनका सिर्जना।

टिकटक देखि ॐ जय जगदीश हरे सम्मका

कोरोना महिमाको भिडियो, फोटो, गीत, गफ हालेर,

यी मान्छेले रातारात आफ्नो कायापलट गराएका छन्।

अरु मान्छेको निद्रा भने हराम गराएका छन्।

हाम्रो मिस्त्री टि.भी.मा ज्योतिष स्वरुपमा प्रकट छ।

यूट्यूबमा 'यहाँ छुना, यहाँ मत छुना,' भैया भाइरल छ।

ब्रेकिङ न्यूज गर्ने बल्छी पत्रकारको भ्याइनभ्याई छ।

अर्थ, अनर्थको व्याख्याकार वेद, पुराण भट्याउंदैछ।

एउटा लकडाउनले जनसंख्याको विष्फोट हुने देख्छ।

अर्काथरि, डिस्टान्सिङ्ग मेनटेनको विशेषज्ञ पल्टिएर,

'त्यां' मास्क लगाए, समस्या टर्ने बेसरम दावी गर्छ।

हुंदाखांदाको छाउगोठ पनि यै बेला भत्काई दिएर मरे।

कमसेकम आइसोलेसनमा बस्न त काम लाग्थ्यो।

***

उहानको मुहानबाट संसारभरि बगेको कोरोना,

चिनियाँ माल जस्तै टिकाउ नहुने घटिया जोकदेखि

यूरिया ब्राण्ड तीनपानेलाई अल्कोहल सरि ठोक् भन्दै

डाक्टर, आफ्नै दूकानदारी जमाउने जोहोमा छ।

भोको पेट राहतको बाटो हेरेर बसेको छ।

अर्को, चौरासी व्यंजन पोष्टेर 'फिलगुड'मै मग्न छ।

उस्कालागि, भोक निराशाको प्रतीक हो।

भोको, रोगीको छविले नकारात्मकता फैलिन्छ रे।

तै कोरानापाश्चात देशको दसा सुध्रिने अास दह्रै छ।

नाक, मुख, आंखा छुनुहुंदैन भन्दा त यति गाह्रो,

छुईको यो रोगले पैसो त झनै ग्रस्त भा'का बेला,

कठै, अब घुसको लेनदेन पनि कसरी हुने होला खै?

धन्य, भतिजको इसेवामा विश्वास छ र राहत छ।

खाता-टू-खाता डाइरेक्ट ट्रान्सफर। हाइ संचो!

भो, पैसो त नछुने। कोरोना लाग्छ।

अझ न कसैले देख्छ। न कसैले पोल्छ।

अनि, सबथोक भैसकेर पनि केही हुनेछैन।

केही नभएको रीतमा सबथोक हुनेछ।