-अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्की अब रहेनन

अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्की अब रहेनन, भावपूर्ण श्रद्धान्जली !

Hollywood Khabar January 21,2021 Comments

विजय थापा, डिसी/१/२२/२१

अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव डेढ दशक देखि बस्दै आएका नेपाली मूलका अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्कीको असामयिक निधन भएको छ ।

सदाको लागी हामी सबैलाई छोडेर कहिले नफर्कने गरि बिदा लिएका छन्। नेपालमा भारत्तोलनलाई बिकाश गर्ने र आफूमा भएको शीप मातृभूमिलाई दिउ भन्ने उद्धेश्यले केही महिना अगाडी नेपाल पुगेका कार्कीको गत जनवरी २१ बिहिबारका दिन निधन भएको छ।

हृदयघात भए पछि उपचारको लागि बुटवलबाट काठमाडौँ लाने क्रममा बाटैमा निधन भएको पारिवारिक श्रोत तथा उनका नजिकका साथीभाईहरुले जानकारी दिएका छन्।

कार्की काठमाडौँबाट बुटवल गएका थिए भने काठमाडौँ लाने क्रममा मुग्लिन कटे पछि उनको निधन भएको हो । उनको अन्तिम संस्कार जनवरी २२ शुक्रबारको दिन काठमाडौँमा गरिने भएता पनि उनका भाई जापानमा भएकोले उनि १-२ दिनमा आए पछि अन्तिम संस्कार हुने भएको बुझिएको छ।

अमेरिकामा रहेकी उनकी सुपुत्री आजै नेपाल उड्ने भएकी छिन।अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा उनको घर रहेको छ भने उनि श्रीमती ,छोराछोरीसंग बसोबास गर्दै आएका थिए। उनकी पत्नी शोभा सुबेदी कार्की हाल काठमाडौँमै रहेकी छिन ।

कार्की शरीर बनाउन कुनै औषधिको सेवन नगरेका (ड्रग टेस्टेड) समूहमा प्रतियोगितामा भाग लिने शक्तित्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र भारत्तोलन खेलाडी हुन।

अमेरिकामा विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने प्रतियोगिताहरुमा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन्। कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता पनि जनाई स्वर्णपदक हासिल गरि सकेका छन्।

कार्कीले सन् २०१९ मा मास्टर टु २२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त जितेका थिए । यसै गरि उनले अमेरिकाको एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा आफ्नो वजन समूहमा स्वर्ण पदक अर्थात् मास्टर वान पदक समेत प्राप्त गरेका थिए। उनले यही माध्यमबाट नेपाल र नेपालीको नाम बिश्वमा चिनाउन सफल भएका थिए ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त हुन्थे। अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गर्थे ।

कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त शक्तित्तोलक हुन् । कार्की एनआरएनअमेरिकाको खेलकुद समितिमा पनि आबद्ध रहेका थिए भने उनको नेपाली समुदायसंग अत्यन्तै राम्रो जनसम्पर्क रहेको थियो। सबैसंग घुलमिल गर्ने र मृदुभाषी स्व कार्कीको निधनले नेपाली समुदाय शोकाकुल भएका छन।

स्वर्गीय कार्कीको आत्माशान्तिको कामना सहित भावपूर्ण श्रद्धान्जली अर्पण !