Rita Sanjel

पानी नै पानी जताततै तर आफू तिर्खाले प्याक्प्याक भइरहेको थिएँ

Hollywood Khabar July 31,2018 Comments

रीता संजेल/ललितपुर
कहिलेकाहीँ कति असल भाव जन्मिन्छ्न, शब्दमा व्यक्त गरौं भनेर लाग्यो खै कता उड्छ्न, कता बिलाउछ्न बिलाउछ्न। सङगालेर व्यक्त गर्नै नसकिने।

राम्रा त विचार पनि एकपल टिकाउनै मुस्किल हुने रहेछन। प्रकृति जस्तै नियाल्न मात्र सकिने जम्मा गरेर राखौं भन्दा त्यसै विलाउने। वर्षादको याम चारैतिर हरियाली छ। सफामा सफा तर ग्याज्ग्याजे हिलो हाम्रो जमिनमा छ। मानव जीवन पाए पछि हिड्डुल त सामान्य प्रक्रिया नै हुनेरहेछ।

मेरो पाइला एउटा गाउँ छेउको घाम र पानीबाट ओत लाग्ने चौतारीमा रोकिन पुग्छ। यता निरन्तर तिन चार दिनदेखी आकाशमा हुस्सु लागेर बादल भ्याइनभ्याइ दौडिरहेछ। पानी झरिरहेछ, छाताको तर्कनी धारा चुहि रहेछ अनि भेल बगिरहेछ।

कुनै कुनै बेला बिजुली चम्केर गड्याङगुडुङ आवाज पनि आउथ्यो। यो आकाश छिनमा ह्वारर पानी वर्षाउथ्यो अनि छिनमा सिमसिम। जमिनका बाटा गोरेटामा कहिले खोलो बग्थ्यो कहिले कुलो। निरन्तरको भारी वर्षाले त नेपाल डुबाइसक्यो। यो डुबाउने दु:खद यथार्थ व्यथामा आधारित कहानी मलाई थाहा भए देखि हुदै आएको छ।

धेरैको बिचल्ली परेको वास्तविक कहानी बाढी पश्चात साना ठुला तराईका केटाकेटी, बुढाबुढी, महिला, अशक्त मानिसहरु हाम्रो तिर सहयोगको लागी अनुरोध गर्न आउथे। त्यसो त पहाडी जीवन पनि कहाँ सहज छ र, कुन छेउबाट पहिरोले तान्ने हो त्रास बोकेर बाच्नुको विकल्प व्यवस्था गर्न सकिएक छैन । त्यसरी सहयोगमा हामी सबैले भएसम्मको दुइचार रुपैयाँ, केहि खाने कुरा र केहि लुगा दिएर पठाउने गरेकाथ्यौँ।

एक मनले सोच्छु मसँग पनि सपनामा जसरी उड्ने अदभूत शक्ति भैदिए। पौडिएर कोशौँ पार गर्ने कल्पना पुरा गर्न सके आज गएर सबैलाई बचाएर ल्याउथेँ। बरु यहि खुल्ला आकाशमुनि जसोतसो गुजारा चलाउने व्यवस्था मिलाउन हुन्थ्यो। यस्तै सोच्दै गर्दा आफ्नै हालतप्रती दया लाग्ने अवस्था आइसकेको थियो। चौतारीमा पिपलको रुखमुनी छाताभित्र उभिए पनि भिजेर हाल बेहाल भइरहेको थियो।

छेउमा गाउँबस्ती रहेछ। पर एक गाउँको बिचमा खोला बगिरहेको, त्यो पनि पानीले धमिलो न धमिलो आकारमा। कहाँ जान हो ? हतारमा बहदै थियो। मलाई पनि त्यो देखेर केहि वास्ता नगरी गन्तव्यसम्म त्यसरी नै दौडेर पुग्ने रहर नपलाएको कहाँ हो ? तर मेरो त्यहाँ उसको जस्तो कुनै गन्तव्य थिएन। हुन त गन्तव्य उसको पनि कहाँ थियो र कता कता कसरी बग्नुपर्छ कहाँ पुगेर उर्लेको भेलको फोहोरी अस्तित्व मिसाउनु पर्छ कता पुग्दा आफैंलाई सकाउनु पर्छ त्यो  टुङ्गो नदिको पनि थिएन अनि नदिको पथमा आइपुगेका पानीको पनि।

उसको जस्तो सुरुवात त कहाँबाट कसरी भयो थाहा छैन । गाउँ वरिपरि साना ठूला घरहरु उभिएका थिए। उता एक छेउको जंगलमा रुखहरु उभिएका, घामको पर्खाइमा वर्षाको अन्त्यको आशामा। सुनसान वातावरणमा केले केले हल्ला मच्चाइरहेको थियो। अरु केले हुनु त्यही पानीले।

पेटमा भोक लागे जस्तो मनमा उकुस-मुकुस भइरहेको थियो। एक जोडी आँखा आशका लहरमा कहिले कता पुग्थे कहिले कता त्यही पनि थाक्दैन थिए। कागती, नुन र चिनी पानीमा उमालेर स्टिलको गिलासमा च्याप्प दुइ हातले समातेर चिया पिउन मन लाग्यो। पिएँ- मनमनै कति मिठो ! कति न्यानो महसुस भयो। त्यसै आत्मा अघाएर आयो। सबै देखेर दिक्क भैसकेको थिएँ। खोला तरेर पारी गाउँ छिर्ने हिम्मत पनि बाकी थिएन। यो गाउँमा कसैले बोलाएर ओभानोमा बसौला भन्ने आश लगभग चिसो वर्षासँगै चिसिएको थियो।

नेपाल उतार्ने सपना र योजना सजाएर अगाडि हिँड्ने म आफैं डुबेँ आशा कल्पना र सपनामा उड्दाउड्दै आफूललाई आफैंप्रती सहयोग र दयाको भाव जाग्यो। यथार्थमा रुझेको मुसाको गति भए पनि भावनामा रमाउन छोडेको थिइनँ। यहि छ के, जीवनको आनन्द रित्तोरित्तो भए पनि मनका भावका लहरहरुमा उत्कृष्ट सावित भएर मुस्कुराउन पाइन्छ। त्यसैले मेरो धन भन्नु नै म, मेरो मन र मेरा भावहरुलाई मान्छु। माने स्वर्ग यहीँ हुन्छ। खुशीका लहर छाउछ्न् भने किन नमान्ने। म त मान्छु। सक्नुहुन्छ भने तपाईं पनि मान्नु आग्रह पनि गर्छु।

पानी रोकिउँला जस्तै गर्दैन। उल्टो सबै रोकेर बगिरहेछ। म गुनासो सहित छाताभित्र लुथ्रुक्क परेर चलचित्रका कतिपय दृश्यमा जस्तै आफूलाई त्यहीँ पुर्याएर कल्पनामा रमाउन थालेँ। तर छाता फालेर त्यो अवसरको फाइदा उठाउन सकिन। रुझ्न बाकी कतै थिएन। मन नै रुझिसकेको थियो । रुझेर रमाउने अवसर थाती राखेँ। बरु घाम लागे घाम तापेर त्यो देखिएको ठुलो ढुङ्गामा एक निद्रा निदाउने आशा मनमा पलाउदै थियो।

बारीका छेउछाउमा वर्षे खेती रहेछ्न तर काचै खाइहाल्ने मिल्ने काक्रो भने फुल्दै रहेछ। पानी नै पानी जताततै तर आफू तिर्खाले प्याक्प्याक भइरहेको थिएँ। सोचेँ  भोक प्यास यहि पानीले मेटाउन पर्यो। छातामा बगिरहेको धारामा एक हातले मुठीमुठी पानी जम्मा पार्दै पिउदै गरेँ। रुझेर चिसिएको म अझै चिसिएँ अब चिसिन बाकी केहि रहेन।

आशाहरु जन्मदै सफलताको शिखर चुम्दै ओरालो लाग्दै आउदै जादै गरि नै रहेका थिए। पानी अमृत हो। पानी जिवन हो। पानी नै नभए जिवन सम्भव छैन। पानी सिर्जना हो। पानीले सबै समस्या समाधान गर्छ। वातावरणको धुलोमैलोसङगै मन र आखाको सफा पानीले गर्छ। व्यवहार सिकाउने गुरु नै पानी हो। हाम्रा हर कार्यकलाप पानी जस्तै पार्दर्शी हुने भए यहाँको माहोल कस्तो भैदिन्थ्यो होला ?

यस्तै सोच्दै थिएँ। यता पानीले सबैको जिन्दगी नै धमिल्याएको थियो। आदर्श र यथार्थ झगडा गरे झैं लाग्यो । के हो के होइन, भनूँ। पानी जीवन होइन भनूँ भर्खरै छाताको धारामा पानी पिएको थिएँ। हो भनूँ यसैले सारा प्राणी जगत बिचल्ली बनाइरहेको थियो। प्रकृति रुँदा त अवस्था साह्रै विकराल पो हुने रहेछ नि। हामी मानव पनि रुँदा किन यसरी नै अन्याय अत्याचारलाई ध्वस्त पार्न बगाइदिन किन सकिदैन ?

ओहो! यो प्रकृतिको आँशुमा अधिक शक्ति छ । कति प्रभाव पार्न सकछ। कसरी रुन्छ प्रकृति ? आँशु पिएर जिउन कति मुस्किल छ। सायद यो प्रकृतीलाई पनि त्यस्तै होला र त चाहेर पनि आँशु रोक्न सकिरहेको छैन। अब त्यही झरीको अवस्थाप्रती दया जाग्यो । को छ र अनि के छ र यसको सबै त मान्छेले मनलाग्दी चलाइरहेछ्न । धन्य चुपचाप सहेर सहि नसक्नु भएपछि रुन्छ अवसर मिलाएर यो प्रकृति। बदला लिन खोज्छ सक्दैन अनि दुर्गति मै फर्किन्छ। न अन्याय सहन्छ न रुचाउछ प्रकृति। कर्मको खेलमा फेरि डुबाउँछ त गर्ने के ! आउदै जादै गर्छ।

पानीले विश्राम लिने छाँट्काँट देखाएन। आफू लामो समयदेखि विश्राममा छु। तर झनै थाकेको अवस्था छ। मनले आकाश धर्ती डुलेर थाकेको। क्षितिजमा एक घरको ढोकामा निलो फरिया र निलै चोलोमा बुढी आमा देखा परिन। धेरै बेर टाउको यताउता घुमाएर भित्र पसिन। हातमा कुनि केहि बोकेर घर वरिपरिको पानीलाई बाटो बनाएर पठाइन। फेरि ढोकामा गएर उभिइन कता कता के के नियालिन। केहिबेर पछि नजर मैतिर फालेर हात उठाइन र औंलाहरुको चलाउदै इशाराले डाकिन।

हतपत केहि नसोची पाइलाहरु त्यतै लामालामा फड्कामा फड्को मार्दै अगाडि बढे। छाता कतिबेला कता झर्यो पत्तै भएन। आमासँग सामान्य ढोग र औपचारिकता साट्दै  आत्मियता साटेँ। चुनौतीलाई नै चुनौती दिन सक्ने अवस्था धैर्यताले प्रकृति मिलाएर दिने रहेछ। अब लाग्दैछ यथार्थको यथार्थ अझै यादगार हुनेछ। आकाश रोएको यथार्थले धेरैचोटी वर्षौंदेखि रुवायको छ। सबै आँशुलाई शक्तिमा बदलेर संसारलाई एकैसाथ मुस्कानका लहरले सजाएर ती दृश्यलाई, ती भावलाई इन्द्रेणीले झैं रंग्याएर रमाउने रहर राखेर रहदैछु।