-Ram Prasad Niraula

छोरीप्रति

Hollywood Khabar July 11,2020 Comments

-रामप्रसाद निरौला/सुकेधारा, काठमाडौॅं/७/११/२०
तिमी राष्ट्रकी हुर्किॅंदी एक छोरी
नयाॅं भावना छन् तिमी छ्यौ किशोरी
सधैं शिष्ट भाषा र त्यो मिष्ट बोली
तिमी बोल नानी ! दुबै ओठ खोली ।१।

सदाचार , सत्कर्म यो धर्म जानी
नझुक्नू कतै सत्य छोडेर नानी
सधैं स्वावलम्बी बनी स्वाभिमानी
स्वयम् लक्ष्यमा पुग्नु हो बुद्धिमानी ।२।

म राम्री धपक्कै बलेकी भनेर
नगर्नू तमासा घमन्डी बनेर
सुशीला बनी स्नेह सद्भाव राखी
सबैको भलो सोच ईर्ष्या नराखी ।३ ।

परेको कतै फूलमा शीत जस्तो
बिलाएर जाने जवानी छ यस्तो
नजल्नू तिमी क्रोधले हेर ! नानी
सम्हाल्नू बडो होसले जिन्दगानी ।४।

सयौं विघ्नबाधाहरू पर्न सक्छन्
सदिच्छा मनैमा उसै मर्न सक्छन्
नयाॅं जोश उत्साह चाहिन्छ नानी !
यहाॅं छैन सोचेसरी जिन्दगानी ।५।

जगत् सत्य सौन्दर्यले नै भरिन्छ
चिरी मेघ कालो उज्यालो छरिन्छ
सदा सत्यको भाव राखेर भित्र
बनाऊ तिमी जिन्दगी यो पवित्र ।६।