-Krishna KC

धर्मनीति, कुटनीति, राजनीति र असुराचार्य शुक्र नीतिका कुरा

Hollywood Khabar June 11,2019 Comments

कृष्ण के सी, अमेरिका, जुन १२, २०१९

कुरा अक्टुवर २०१७ को हो। अमेरिकामा नाम चलेका एकजना पत्रकार साथीले भन्नुभयो-तपाइले त एकपटक ऋषिमुनी गुरु शुक्राचार्यको शुक्र नीति पढ्नुहोस। राक्षसका पनि गुरु, असुरहरुका आचार्य (असुराचार्य) अर्थात शुक्राचार्यको नीति पनि के पढ्नु भन्दै मेरो धीत खुलेन।

तर पनि मान्नकै लागि भए पनि २ घण्टा गुगल गर्दा जम्मा एउटा मात्र शुक्र नीति पढ्न सके। न त शुक्र नीति मैले सोचे जस्तो रहेछ। शुक्राचार्य पनि पटक्कै तेस्ता खराब रहेनछन। कुरामा अलिकति चासो बढ्यो, अनि खोजी गर्दै गएँ, झन् पढ्ने इच्छा बढेर गयो, त्यसपछि त नेपालीमा नै किताब पाउने रहेछ। नेपाल देखि किताब मगाइयो र ऐले दुइ बर्षपछि पढ्दैछु। पढेर आफूले सिकेका कुरा ब्यक्त गर्न खोजेको हुँ। यस बिषयमा म जानिफकार होइन अनि त्यो हैसियत पनि छैन।

शुक्राचार्य हिरण्यकश्यपकी छोरी उषा (उशाणा) र भृगु हृषिका सन्तान रहेछन। उनको अध्ययनमा भेदभाव र विवाद भएपछि आफ्ना गुरु छाडेर गौतम हृषिसँग पढ्न पुगेका रहेछन शुक्राचार्य। शुक्राचार्यको तृक्ष्ण बुद्धिका कारण देवताहरु डराएर उनी माथि बारंबार सड्यन्त्र र युद्ध गर्दा रहेछन। उनै हृषिमुनि असुराचार्य शुक्राचार्यका नीतिका बारेमा लेखिएको किताबलाइ नेपालीमा तुलसी आचार्यले अनुवाद गरेका रहेछन।

तुलसी आचार्यका अनुसार राम र कृष्ण दुवै बिष्णुका अवतार हुन्। दुबैजनाले धर्मको रक्षार्थ अवतार लिएका हुन्। तर यी दुवै अवतारको नीतिगत कुरा भने फरक फरक रहेछ। राम र कृष्णको फरक भनेको जम्मा जम्मी एउटा मात्र रहेछ। केवल कार्यनीति। रामले धर्मनीतिको सहारा लिए भने कृष्णले कुटनीतिको। शुक्र नीतिमा रामको धर्मनीति र कृष्णको कुटनीति दुवै तरिकाको ब्याख्या गरिएको छ। विशेष गरेर राजनीति र समाज सेवामा लागेकाहरुले यी दुवै नीति बढ्नु उपयुक्त हुने रहेछ भन्ने मेरो बिझाइ रहेको छ।

असुर अर्थात राक्षसहरुका गुरु शुक्राचार्य। गुरु शुक्राचार्यले राज्य संचलानबारे बनाएको धार्मिक संबिधान-बिधान नै शुक्र नीति हो। त्यो समय राजाहरु नै मुख्य हुने हुनाले राजालाई आधार मानेर राज्य संचालन नीति बनाइएको छ। तर वर्तमान अवस्थामा शाशकहरुको लागि यो गतिलो सिकाइ हुन सक्छ भन्ने मेरो विश्वास छ।

गुरु शुक्राचार्यको शशक्त नीतिका कारण नै वारंवार देवताहरुलाइ असुरहरुले परास्त गरेको भनिएको छ। समय अनुसार राज्य होस् या संघ संस्था तिनको नीतिमा बदलाव हुनुपर्छ। नियम र सिद्धान्तहरुमा पनि बदलाव गर्नुपर्छ। यो नै कुशल नीतिकारहरुको कौसलता हो। अनि यसका लागि हरेक बिषयहरुको गहिरो अध्यन र चिन्तन, छलफल गर्नु जरुरी मानिन्छ। त्यहि चिन्तन भएका कारण नै सबै भन्दा उत्कृष्ट नीति नै असुराचार्यका गुरुको नीति शुक्रनीति मानिदो रहेछ।

कुनै पनि जीवित शरिरलाइ भोजन चाहिन्छ। भोजन बिना पनि प्राणीहरु महिनौं बाँचेका कथा जति भएता पनि जीवितका लागि भोजन अनिवार्य हो। त्यो हामी सबैले मानेको कुरा हो। अब अरु जीवितका कुरा छाडेर मानिसका कुरा गर्ने हो भने अलिकति फरक प्रसँगमा जानुपर्छ।

हामी मान्छेका मुखबाट जे भित्र जान्छ त्यो कुराले आफुलाई मात्र असर गर्छ। जस्तो की खराब खाना मुख भित्र गयो भने पेटमा गडबढी हुन्छ। खराब पानी पिउँदा पेटमा खराबी या विविध खाले रोग लाग्छ, यस्तै इत्यादीले आफैंलाइ खराब गर्छ।

त्यसैले जुन कुरा मुखबाट बाहिर जान्छ त्यसले आफूलाइ होइन अरु मानिस या जगतलाई असर गर्छ। जस्तो की बोली, खोकी, खकार, बिकार इत्यादि। दुइ चड्कन हान्दा नरुने मान्छे एक बचनले रुन्छ। त्यो हाम्रो मुखबाट बाहिर गएको कुराको असर हो। हाम्रो शरीरमा चाहिने भोजनमा पनि जथाभावी जे जे पनि खायो भने त्यो भोजनले कसैलाई ढिला त कसैलाई छिट्टो खराब असर गर्छ।

शुक्राचार्य (असुराचार्य) भन्नुहुन्छ कि जो नियम र स्वस्थ कुरा सचेत भएर भोजन गर्छ उसलाई कहिल्यै भोजनले खराब असर गर्दैन। अर्थात ठिक कुरा मुखबाट भित्र लिइयो भने कदापि आफूलाई खाराब हुँदैन। ठीक त्यसैगरी नीति र व्यक्ति पनि उस्तै हो। नीति पनि आफ्नो लागि हो। आफ्नो जीवन, आफ्नो ब्यबसाय, आफ्नो राज्य, आफ्नो संस्था यस्तै यस्तै। जो नीतिमा बस्छ उसलाई कुनै पनि कुराले असर गर्दैन। असर गरेपनि भ्याक्सिन लगाएको रोग जस्तो सामान्य रुपमा हराउँछ। जो नीतिमा बस्दैन, त्यो व्यक्तिलाइ छिट्टै या ढीला धेरै कुराले असर हुन्छ। बिष नै खानेलाई पनि क्षणिक रुपमा त असर गर्दैन तर अन्तमा ज्यान लिन्छ। नीति, नियम, बिधी र बिधान आफू, आफ्नो समाज, आफ्नो राज्य, आफ्नो देश इत्यादि कसरी चल्ने भनेर बनाएको कुरा। अनि यो पनि ठिक रुपमा भएन भने आफैंलाई असर गर्छ।देशले देश भित्र ठीक कुरा दिएन भने रोग लागे जस्तै देशका नागरिकले पनि बिद्रोह गर्न सक्छन।

नीति र नियममा चल्ने व्यक्ति, संस्था, देशका दुशमन बढ्ने र घट्ने हुँदैनन्, स्थिर हुन्छन। उसका मित्र र दुश्मनमा बढ़ने घट्ने अस्थिरता हुँदैन। तर जो व्यक्ति नीति-बिधि र नियममा चल्दैन समाजमा त्यसका धेरै शत्रु हुन्छन।दुश्मनी बढ्ने र घट्ने क्रमसंगै उसको इज्जत, प्रतिष्ठा र मनोवलमा पनि असर भएको हुन्छ। यसर्थ, शुक्राचार्य भन्नुहुन्छ, व्यक्तिले भोजनमा मात्र होइन जीवन र समाजमा पनि नीति, बिधि, बिधान, नियम मान्नु जरुरी छ।

समय अनुसार व्यक्ति, राज्य या संघ-सँस्थाका नीतिमा परिमार्जन र संसोधन हुनुपर्छ। नियम र सिद्धान्तहरुमा पनि बदलाव गर्नुपर्छ। यो नै कुशल नीतिकारहरुको कौसलता हो। अनि यसका लागि बिषयहरुको गहिरो अध्ययन र चिन्तन, छलफल गर्नु पनि जरुरी मानिन्छ। यसै कुराको फ्रेममा नेपाली राजनीति र नेपालीहरुको नेपाल बाहिर त्यसमा पनि बिशेष गरेर सामाजिक संघ-संस्थाहरुलाई राखेर हेरौ। जवाफ प्रष्ट रुपमा पाइन्छ। संस्था बन्छन र लामो इतिहास कहन्छन, त्यसैगरी नेपालका पार्टीहरु पनि आफ्नो लामो इतिहास बताउनमा नै एकाध घण्टा लगाउँछन्। तर प्रगति र देश अनि आम सदस्य, नागरिकको उन्नतिको कुरा भने कतै पनि उल्लेख गर्दैनन्।

त्यसै कारण प्रतिष्ठित संस्थाको अध्यक्ष जस्तो व्यक्तिले पनि सार्वजनिक ठाउँमा सम्मान नपाउन सक्छ, कालो मोसो र कालो झण्डा अनि डण्डा बर्साएको देखिन्छ। उदाहारणका लागि हेर्ने हो भने पुष्प कमल दाहाल प्रचण्ड, रामचन्द्र पौडेल र झलनाथ खनाल जस्ता राजनेताले पनि नीतिलाइ पालना नगर्दा सार्वजनिक ठाउँमा चड्कन खाएको इतिहास नेपालमा छ। उनीहरु खराब थिए या थिएनन अर्को कुरा हो तर कारक तत्वको खोजि गर्ने हो भने नीतिमा नचल्नुको नै टुंगो पाइन्छ।

सांसदले सुर्ती खाएर संसदमा थुक्क थुकेको, कानुन बनाउने सांसदले संसद चल्दै गर्दा कुर्सीमै बाघले जस्तो आवाज आउने गरेर घुरेको, संसदमा कुर्शी भाच्ने गरि लडाइ लडेको र आपसमा सदनमा नै भिडन्त गरेको भिडियो हामीले किन रमाउँदै हेर्नुपर्छ ? देशका ७०-८०% जनसख्याले नेपालको सरकार र प्रशाशनको विश्वास् गर्दैनन्। किन, किन, किन ?

जवाफ एउटै आउँछ, यो सबै कुरा नीति, बिधि, बिधान, संबिधान अनुसार नजानु अनि त्यसलाई समय सन्दर्भ र आवश्यक्ता अनुसार परिमार्जन नगर्नु र तिनलाई बिधिसंवत रुपमा पालना नगर्दा भएका नतिजा हुन्। आजको कुरा नीति, बिधि, बिधान, नियम र इमान्दारिताको हो।कृष्णार्पण!