-बागमती प्रदेशका सांसद चेतनाथ सञ्जेल

एक अध्यक्षले सरकार एक अध्यक्षले पार्टी चलाउने भनेर पटकपटक सहमति भएकै हो यति हुँदा पनि दुई महिना कुर्न सकेनन

Hollywood Khabar February 04,2021 Comments

सन्तोष दाहाल, ललितपुर, फेब्रवरी ४, २०२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका नेता एबम बागमती प्रदेशका सांसद चेतनाथ सञ्जेलले लामो समयदेखि नेताहरुको व्यवस्थापन हुन नसक्दा नेपाली राजनीतिले स्थायित्त्व प्राप्त गर्न नसकेको बताएका छन्।

बिहीबार माउण्टेन टेलिभिजनसंगको कुराकानीका क्रममा उनले विभिन्न राजनीतिक दलहरुले समय समयमा दुईतिहाईको हाराहारीमा बहुमत प्राप्त गरे पनि पार्टीको विधि, सिद्धान्तको आधारमा भन्दा पनि पद र कुर्सीको लागि नेताहरु लाग्दा समस्या उत्पन्न भएको जिकिर गरे।

वर्तमान राजनीतिक संकटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सञ्जेलले विकास निर्माण र समृद्धिको पक्षमा नै निरन्तर रुपमा काम गरिरहेको सरकारलाई आफ्नै पार्टीभित्रबाट असहयोग र घेराबन्दी भएकाले संसद विघटनको निर्णय लिनुपरेको बताए। उनले भने, जब यो सरकार निर्माण भयो, लामो समयदेखि अवरुद्ध भएका विकास निर्माणलाई अगाडी बढायो, गुमेको भूमि हामीले फिर्ता ल्यायौं र नयाँ नक्सा जारे गर्यौं, अहिले सुरुङ्ग मार्गको निर्माणका क्रममा हामी छौं, राष्ट्रियता राजमार्गका आयोजनाहरु निर्माण हुने चरणमा छ' दुईतिहाई बहुमतप्राप्त नेकपाको सरकारले शान्ति, समृद्धि र विकासकै पक्षमा काम गरेको भन्दै उनले प्रश्न गरे, कुन कुरामा यो सरकार चुकेको छ ?

जनताको आशा र प्रधानमन्त्रीको पनि संसद विघटन गर्ने मन थिएन, हामी निर्वाचनमा जाँदा केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने एजेन्डाका साथ गएका थियौँ। अहिले बाहिर रहेका साथिहरु पनि यही नारा लिएर संगसंगै हामीले स्थिर सरकार दिन्छौँ भनेर मत मागेका हौँ। सञ्जेलले भने, तर पार्टीभित्रैबाट घेराबन्दी हुँदा सो आकांक्षा र प्रतिबद्धताहरु पुरा गर्न सकिएन। चुनाव आउँ २ वर्ष र पार्टी महाधिवेशन आउँ २ महिना मात्र बाँकी हुँदा पनि साथीहरु कुर्न सक्नुभएन। कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएकै हो, एक अध्यक्षले सरकार र एक अध्यक्षले पार्टी चलाउने भनेर पटकपटक सहमति भएकै हो। यति हुँदा पनि दुई महिना कुर्न सकिदैन ?

यस्तै कारणहरुले गर्दा पुस ५ मा प्रधानमन्त्रीले लिएको संसद विघटन र मध्यावधि चुनावको निर्णय विल्कुल सही भएको संजेलको भनाई छ। प्रचण्ड-माधव पक्ष प्रधानमन्त्रीलाई अधिनायकवादी भन्दै सडकमा उर्लिरहेको सन्दर्भमा उनको प्रश्न थियो, ताजा जनादेशको लागि सरकारको नेतृत्व गरेको मान्छे जनतामा जाने निर्णय गर्छ भने त्यो कसरी अधिनायकवादी हुन्छ ? कुर्सी राख्या मिलेन, मेरो अपमान भयो भन्ने जस्ता असन्तुष्टिले विग्रह भयो। पार्टी भित्रको झगडा यस्तो हुन्छ ? यो त २ वर्षको बच्चाले पनि नगर्ने किसिमको लाजमर्दो झगडा हो।