-Naranath Paudel

प्यारी प्रकृति-२

Hollywood Khabar October 17,2020 Comments

-नरनाथ पौडेल, डल्लु , काठमाडौँ/१०/१७/२०

मनमा व्याकुलता छायो जिउमा पसिना आयो
जोशमा शिथिलता आयो आँखामा उदासी छायो
उसै आँखा तिर्मिरायो मुटुमा पराकम्प ल्यायो
दिउँसै तारा झिल्मिलायो छैटीको याद दिलायो ।१।

आँतमा छ सन्तप्त राप ज्वराको अतिसार ताप
प्रतिपल पीडाको चाप जिन्दगी भो अभिशाप
कल्पनातीत छटपटी उराठिलो उच्छवास
जिउने अझै हुटहुटी अपत्यारिलो यो आाश ।२।

कोरोनाले मित लगायो वियोगान्त गीत गायो
सास लिनै गाह्रो बनायो कटक्कै हृदय खायो
जीवन यो एक्लो बनायो तोरीको फूल देखायो
सृजनशीलता हरायो जिउने आँट डरायो ।३ ।

तन्द्रामै बिते रात सबै बेचैनीमा सबै दिन
सपना नराम्रो देखिने अत्याउने छिनछिन
टिभि अनि अनलाइन माध्यममा त्यो छाउने
अल्झिन्न किन मन कतै ? धीरता नै हराउने ।४।

धारक म त्यस भ्रूणको भाइरस ! सहयात्री
बिताऊँ कसरी दिन यो कटाऊँ कसरी रात्री ?
निष्ठुर समयचक्रको म एक्लो निरीह यात्री
पाहुना हुँ केही पलको प्रकृति ! जीवनदात्री ।५।